नायक खगेन्द्र लामिछानेलाई शिर्ष भूमिकामा लिएर चलचित्र ‘गोपी’को घोषणा गरिएको छ । देशमै केही गर्छु भन्ने यूवाको मुलकथामा यो चलचित्र निर्माण हुनेछ ।
चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, अंकित खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन भदौ १ गतेबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । दीपेन्द्रले लामो समय रंग पत्रकारितामा अनुभव संगालेका छन् । उनले, चलचित्र ‘नालापानी’को कथा लेखेका थिए भने ‘घामपानी’ नामक चलचित्र निर्देशन गरेका थिए ।
सामिप्यराज तिमिल्सिनाको पटकथा, दीपेन्द्र लामाकै कथा रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन रहेनछ ।
‘बधशाला’ बाहेक अन्य चलचित्रमा आफै कथा लेखेका नायक खगेन्द्र लामिछानेले भने-‘म सधै नै राम्रो कथा आएको खण्डमा अरुको कथामा पनि काम गर्छु भन्ने सोच्थेँ । ‘गोपी’ मैले खोजे जस्तै कथामा बन्न लागेकाले काम गर्न लागेको हुँ ।’
नायिका सुरक्षा पन्तले चलचित्रको कथावस्तुले आफूलाई निकै मन छोएकाले काम गर्न लागेको बताइन् । यस्तै, चलचित्रका निर्देशक दीपेन्द्र लामाले चलचित्र हेरेपछि दर्शकमा केही प्रेरणा, केही आशा र केही उर्जा प्राप्त हुने दाबी गरे ।
चलचित्रका पटकथाकार सामिप्यराज तिमिल्सिनाले यसपटक आफूले खुलेरै कथा लेख्न पाएको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया 4