Comments Add Comment

देउवालाई सिटौलाको प्रश्न-किन पेल्नुभएको ?

'चुनाव हार्दा पनि शेरबहादुरजीमा चेत आएन'

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पदाधिकारी मनोनयनप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

चुनावमा पराजय व्यहोर्दा र देशभरिका कार्यकर्ताले पार्टीको भविश्यबारे चिन्ता गरिराखेका बेलामा पनि पार्टी सभापति देउवाको चेत नखुलेको सिटौलाको आरोप छ ।

पदाधिकारी चयनबारे असन्तुष्टि जनाउँदै सिटौलाले अनलाइनखबरसँग भने- ‘सभापतिजीको किन चेत नखुलेको हो ? उहाँले किन पेलेर जान खोज्नुभएको हो ? म आश्चार्यचकित छु ।’

‘सभापतिजीले पदाधिकारीहरुको प्रस्ताव विधानसम्मत एवं समझदारीका आधारमा गर्नुपथ्र्यो’, सिटौलाले भने, ‘दुई वर्षसम्म पदाधिकारी प्रस्ताव नगर्ने अनि छलफलसमेत हुन नदिई प्रस्ताव ल्याएकै दिन टुंगो लगाउने ? यसले पार्टीभित्रको एकतालाई खलल पार्छ र पार्टीलाई कमजोर बनाउँछ ।’

देउवाले यसरी अर्को पक्षलाई पेलेर अघि बढ्न खोजे उनी असफल हुने सिटौलाले बताए । बैठकका बेलामा शनिबार झापामा रहेका सिटौलाले अनलाइनखबरसँग भने- ‘उहाँले यसरी पेलेर जान त सक्नुहोला, तर यसरी सफल बन्न सक्नुहुन्न । अहिले देशभरका कांग्रेस कार्यकर्ताहरु पार्टी एकता होस् समझदारी होस् भनेर चिन्तित छन् ।’

सुशील कोइरालाका पालामा केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको बहुमत रहे पनि उहाँले देउवा पक्षका नेतालाई सहमहामन्त्री बनाएर समझदारीमा अघि बढेको सिटौलाले बताए ।

‘सुशीलदाको बहुमत थियो, तर उहाँले पेल्नुभएन । नाम प्रस्ताव गरेको केही महिनापछि सहमतिमा पदाधिकारी चयन गर्नुभएको थियो । तर, देउवाजीले अर्को पक्षलाई पेल्न खोजेको देखियो ।’

कांग्रेसलाई समझदारीमा अघि बढाउँदा दोस्रो संविधानसभामा सुशीलको नेतृत्वमा ठूलो पार्टी बनेको सिटौलाले स्मरण गरे । उनले भने- तर, देउवाजीले विधानविपरीत एकलौटीरुपमा चल्न खोज्दा प्रतिनिधिसभाको चुनावमा कांग्रेस पराजित भयो, तै पनि उहाँमा चेत नआएको देख्दा मलाई अचम्म लागेको छ ।’

अब आफू झापाबाट काठमाडौं आएपछि यसबारे नेताहरुसँग छलफल गर्ने सिटौलाले बताए । सभापतिले देउवाले यो निर्णय सच्याउनुपर्ने उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment