Comments Add Comment

इनेस्टाको अन्तिम एल क्लासिको : १० तस्वीरमा विगत

२३ वैशाख, काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी आन्द्रेस इनेस्टाको अन्तिम एल क्लासिको अर्थात बार्सिलोना भर्सेस रियल मडि्रड आज राति साढे १२ बजे हुँदै छ । क्लब फुटबलकै सर्वाधिक चर्चामा रहने एल क्लासिकोमा इनेस्टाले गोल गर्दा बार्सिलोना हारेको छैन ।

आजको एल क्लासिकोलाई फुटबल समर्थकले ३३ वर्षका इनेस्टाको अन्तिम एल क्लासिकोका रुपमा सम्झिने छन् । उनले यो सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने बताइसकेका छन् ।

आजको खेलमा इनेस्टा खेल्ने नखेल्ने भने तय भएको छैन । गएको हप्ता भ्यालेन्सियासँगको खेलमा उनको घुँडामा समस्या देखिएको थियो । यसैले प्रशिक्षक एर्नेस्टो भालभर्देले उनी खेल्न सक्छन् कि सक्दैनन् उनकै निर्णयको आधारमा अघि बढ्ने बताएका छन् । घुँडामा देखिएको समस्याकै कारण बार्सिलोनाको टिम अभ्यासमा समेत उनी अनुपस्थित थिए ।

२००४ मा डेब्यू र जित

बार्सिलोनाका स्वीडिस स्ट्राइकर हेनरिक लारसन घाइते भएपछि नोभेम्बर २०, २००४ मा इनेस्टा एल क्लासिकोमा मैदान प्रवेश गरेका थिए । त्यो समय १९ मिनेट मैदानमा रहेका उनी पहिलो खेलमै वियजी हुन पाएका थिए ।

रियलको मैदानमा पहिलो हार

रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबाउमा इनेस्टाले पूरा ९० मिनेट एल क्लासिकोमा खेलेका थिए । बार्साको जर्सीमा पहिलो पटक बर्नाबेउ पुगेका इनेस्टा उक्त खेलमा पराजित भएका थिए । मडि्रडले ४-२ ले जितेको थियो ।

रियलको मैदानमा जित्दा

इनेस्टाले रियलको मैदानमा २० मिनेट मात्र खेले पनि उनको प्रभाव राम्रो थियो । बर्नाबेउमै बार्साले ३-० ले जितको खेलमा रोनाल्डिन्होले दुई गोल गरेका थिए । त्यसमा रोनाल्डिन्होका लागि मडि्रडका समर्थकले समेत उठेर तालि बजाएका थिए ।

चर्चित ६-२ को जित

बार्सिलोनाका समर्थकले कहिले पनि बिर्सन नसक्ने ६-२ को जितमा इनेस्टा मिडफिल्डमा जाभी र बुस्केट्ससँगै थिए । पेप गार्डिओलाको पहिलो सिजनमा मिलेको त्यो जितमा बार्साको खुशी अथाह थियो ।

१-० को त्यो जित

फिडफिल्डमा इनेस्टा जस्तो शान्त खेलाडी कमै देखिन्छ । तर सन् २००९/१० को सिजन रियल मडि्रडलाई १-० ले हराउँदा इनेस्टाको अर्को स्वरुप देखिएको थियो । उनको त्यो बेला क्रिष्टियानो रोनाल्डोसँग भनाभन भएको थियो ।

क्याम्प नाउमा मास्टरक्लास मनिता

सन् २०१० मा जोस मोरिन्हो रियल मडि्रड आएका थिए । त्यो बेला बार्सिलोनालाई कमजोर पार्न उनको रणनीतिले काम गरिरहे पनि ५-० को हार निकै भारी परेको थियो । पेप गार्डिओलाको प्रशिक्षणमा बार्साको त्यो जित एल क्लासिकोमै रोमाञ्चक रहृयो । जाभी र मेस्सीसँगै त्यो रात इनेस्टाको प्रदर्शन सम्झनलायक थियो ।

क्लासिकोमा पहिलो गोल र उपाधि

एल क्लासिकोमा इनेस्टाले गोल गर्न २१ खेल पर्खनु परेको थियो । सन् २०११ मा स्पेनिस सुपर कोपामा उनकै गोलको मद्दतमा बार्साले मडि्रडलाई ३-२ ले हराएर उपाधि जितेको थियो ।

४-३ को जितमा अर्को गोल

सन् २०१३/१४ को सिजन मडि्रडलाई उसकै मैदानमा ४-३ ले हराउँदा इनेस्टाले गोल गरेका थिए । इनेस्टाले मेस्सीको पासमा देब्रे खुट्टाले गरेको प्रहार निकै आकर्षक थियो । त्यही खेलमा मेस्सीले हृयाट्रिक गरेका थिए ।

मड्रिडका समर्थकले उठेर सम्मान गर्दा

दायाँ खुट्टाले उत्कृष्ट गोल गरेर ७७ औँ मिनेटमा मैदानबाट बाहिरिएका इनेस्टाका लागि रियल मडि्रडका समर्थकले उठेर तालि बजाएका थिए । बार्साका खेलाडीलाई मडि्रडका समर्थकले यस्तो सम्मान त्यसअघि म्याराडोना र रोनाल्डिन्होलाई मात्र दिएका थिए । खेलमा बार्सा ४-० ले विजयी भएको थियो ।

बिदाइको समय

आजको एल क्लासिको इनेस्टाको अन्तिम एल क्लासिको हो । आजको खेलमा मैदान प्रवेश गर्न सके त्यो उनको ३८ औँ एल क्लासिको हुनेछ । उनले १६ खेल जितेका छन् । ९ खेल बराबरी भएको छ । १२ खेल हारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment