Comments Add Comment

फेसबुकबाट चन्दा उठाएर युवाले किने गाउँमा एम्बुलेन्स

२४ वैशाख, सिन्धुपाल्चोक । स्थानीय युवाहरुले सामाजिक सञ्जालको माध्यमबाट चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किनेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-१३ ठुलोसिरुवारीका युवाहरुले फेसबुकलगायत सामजिक सञ्जालबाट रकम संकलन गरेर एम्बुलेन्स खरिद गरेका हुन् ।

ठुलोसिरुवारी विकास समाजको अगुवाइमा एम्बुलेन्स खरिदका लागि अभियान सञ्चालन गरिएको थियो । देश विदेशमा रहने गाउँका सबैलाई सञ्जाल मार्फत अनुरोध गरेर एम्बुलेन्स खरिद गरिएको ठुलोसिरुवारीका स्थानीय लिलाबहादुर गिरीले जानकारी दिए ।

गाउँका मान्छे विरामी हुदा एम्बुलेन्स अभावमा अकालमा नै ज्यान गुमाउन परेपछि सामाजिक सञ्जालको प्रयोग गरेर रकम संकलन गरिएको गिरीले बताए । सामाजिक सञ्जालको माध्यमबाट ७ लाख ४५ हजार रुपैयाँ संकलन गरिएको थियो ।

एम्बुलेन्स खरिदका लागि ठुलो सिरुवारीका प्रत्येक घरबाट पनि रकम संकलन गरिएको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष नारयणप्रसाद गौतमले जानकारी दिए ।

ठूलोसिरुवारीका प्रत्येक घरबाट एम्बुलेन्स खरिदका लागि सकेको सहयोग सबैले गरे,त्यसैले एम्बुलेन्स खरिदका लागि सहज भयो स्थानीय तारादेवी राणा मगरले भनिन् ।

स्थानीयले सुरु गरेको धुरीकरबापत ६ लाख संकलन भएको थियो । सामाजिक सञ्जाल र धुरीकरबाट संकलन भएको रकममा नपुग रकम चौतारा नगरपालिका र वडा कायार्नलयले सहयोग गरेको चौतारा साँगाचोकगढी नगरपालिका-१३ का वडाअध्यक्ष रामप्रासद गौतमले जानकारी दिए ।

एम्बुलेन्स सञ्चालनका लागि आगामी दिनमा वडा कार्यालयले सहयोग गर्ने वडाअध्यक्ष गौतमले बताए । स्थानीयको सहयोगमा खरिद गरिएको एम्बुलेन्स सेवाको वडा अध्यक्ष रामप्रसाद गौतमले एक समारोहका बीच शुभारम्भ गरेका छन् । एम्बुलेन्स खरिद पछि यस भेगका ५ हजार बढीलाई फाइदा पुग्ने एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष गौतमले बताए ।

एम्बुलेन्समा अक्सिजन सिलिन्डर समेत जडान गरिएको छ । एम्बुलेन्सलाई प्रभावकारी र सर्वसुलभ बनाइने एम्बुलेन्स सञ्चालक समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment