+
+
Shares

लागुपदार्थ ओसारपसारमा एम्बुलेन्स प्रयोग, प्रहरी नै चकित

बिरामी बोकेर साइरन बजाउँदै अस्पताल पुग्नुपर्ने एम्बुलेन्स लागुपदार्थ ओसारपसारमा प्रयोग हुन थालेको देखेर प्रहरी नै चकित परेको छ ।

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
२०८३ वैशाख ३० गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशमा गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग भइरहेको छ र प्रहरीले २९ वैशाखमा धरानमा ४४० किलो गाँजा बरामद गरेको छ।
  • भारतीय नम्बर प्लेटका एम्बुलेन्स र सवारी साधनबाट पनि गाँजा तस्करी भइरहेको छ र वैशाख २२ गते सुनसरीमा १४८ किलो गाँजा बरामद भएको छ।
  • प्रहरीका अनुसार तस्करले एम्बुलेन्सलाई छिटो चेक नगर्ने भएकाले गाँजा ओसारपसारमा प्रयोग गरिरहेका छन् र भारतीय नागरिकहरू पनि यसमा संलग्न छन्।

३० वैशाख, सुनसरी । कोशी प्रदेशमा गाँजा तथा प्रतिबन्धित लागुऔषध ओसारपसारमा एम्बुलेन्सको प्रयोग हुन थालेको छ । बिरामी बोकेर साइरन बजाउँदै अस्पताल पुग्नुपर्ने एम्बुलेन्स लागुपदार्थ ओसारपसारमा प्रयोग हुन थालेको देखेर प्रहरी नै चकित परेको छ ।

लागुऔषध तस्करहरूले मोटरसाइकल, तरकारी बोक्ने गाडी, काठ बोक्ने ट्रक, सार्वजनिक सवारी साधन, रातो नम्बर प्लेटका निजी सवारी साधन त प्रयोग गरेकै थिए । तर पछिल्लो समय तस्करीमा एम्बुलेन्स प्रयोग हुन थालेपछि प्रहरी थप चनाखो भएको छ ।

प्रहरीले धनकुटाको दक्षिणी पालिकाहरूमा उत्पादन हुने गाँजा ओसारपसार गर्ने उपायका रूपमा तस्करहरूले एम्बुलेन्स प्रयोग गरेको हुनसक्ने आकलन गरिरहेको थियो । यही क्रममा प्रहरीले २९ गते राति १२:४० बजे धरानमा एउटा एम्बुलेन्स भित्र गाँजा लोड गरिएको फेला पार्‍यो ।

भेडेटार बजारभन्दा डेढ किलोमिटर टाढा धरान–४ स्थित थाउजेन्डस् बिगबुद्ध जाने कच्ची सडक किनारमा रोकिएको एम्बुलेन्सबाट प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा प्रहरी टोलीले ४४० किलो तयारी गाँजा बरामद गर्‍यो । धरान–१८ स्थित बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रालिद्वारा सञ्चालित को१च ७३५९ नम्बरको एम्बुलेन्सका चालक पक्राउ गर्न भने प्रहरी असफल भयो ।

चालकले गाँजा भरिएको एम्बुलेन्स प्रहरीलाई झुक्याएर भेडेटार नाका त कटाए । तर धरान छिर्ने बेला बेस क्याम्पमा तैनाथ प्रहरीबाट बच्ने मौका छोप्न एम्बुलेन्सलाई अन्तैतिर पार्किङ गरे । त्यही बेला प्रहरीले गाँजा बरामद गर्‍यो ।

धरान–धनकुटा (कोशी हाइवे) सडक खण्डबाट छुट्टिएर छोटीमोरङ डाँडामा रहेको थाउजेन्डस् बिगबुद्धतिर जाने कच्ची सडकमा पार्किङ गरेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रातको सुनसान अवस्थामा बरामद गाँजा कसको हो र कहाँ लैजान लागेको हो भन्नेबारे पत्ता लगाउन एम्बुलेन्स सञ्चालक बुढासुब्बा डाइग्नोस्टिक सेन्टर प्रालि र चालकलाई पक्राउ गरेपछि थाहा हुने प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा गाँजा तस्करी गर्न एम्बुलेन्स प्रयोग भएको यो पहिलो घटना भने होइन । चार महिनाअघि गत २७ पुस राति भेडेटार नाका (साँगुरीगढी गाउँपालिका–६) स्थित कोशी हाइवेमै रोकेर राखेको एम्बुलेन्समा ४५० किलो ९६५ ग्राम गाँजा बरामद भएको थियो । गाँजा ओसारपसारमा संलग्न ना४च ६४७४ नम्बरको एम्बुलेन्स चालकलाई भने प्रहरीले त्यसबेला पनि पक्राउ गर्न सकेन ।

गत पुस १३ गते त मोरङको केरावारी गाउपालिका–५ मा एम्बुलेन्सबाट गाँजा तस्करी गर्ने व्यक्तिहरूविरुद्ध प्रहरीले हवाई फायर नै गर्नु पर्‍यो । त्यसबेला धनकुटाको भेडेटार हुँदै धरान भएर मोरङको केरावारीतर्फ हुइँकिएको प्र१–०६–००१झ ०००४ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी भइरहेको जानकारी पाएपछि प्रहरीले खोर्साने जाने चारकोशे जंगलको चेकपोस्टमा रोकेका थिए ।

प्रहरीले सोधपुछ र खानतलासी गर्दा ५२१ किलो तयारी गाँजा बरामद भएको थियो । गाँजा तस्करहरू एम्बुलेन्सबाट निस्केर जंगलतिर भाग्दा प्रहरीले पाँच राउन्ड हवाई फायर गरी धनकुटा शहीदभुमी–६ बस्ने निश्चल राई र साँगुरीगढी–२ बस्ने खगेन्द्र लिम्बूलाई पक्राउ गरेको थियो ।

धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा खेती हुने र त्यहाँ उत्पादित गाँजा सुनसरी, मोरङ र झापाका नाकाबाट भारतीय बजारमा पुग्ने गरेको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार तस्करले कोशी नदीमा बगाएर ल्याइने बाँसको चेफासमेत गाँजा ओसारपसार गर्न प्रयोग गर्दै आएका छन् ।

सुनसरीसम्म ल्याइएको गाँजालाई भारतीय सीमा कटाउन तस्करले सुरक्षित उपायका रूपमा एम्बुलेन्स प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

गत १९ कात्तिकमा मोरङको जहदा गाउँपालिका–३ बाट गाँजा ओसारपोसारमा प्रयोग भएको एम्बुलेन्स, त्यसका चालक र एम्बुलेन्स स्कर्टिङ गर्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको थियो । स१च ६५६ नम्बरको एम्बुलेन्स चालक विराटनगर–५ बस्ने ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी तथा एम्बुलेन्स स्कर्टिङ गर्दै आएका को३१प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ बस्ने ३२ वर्षीय दिलिपकुमार राजवंशी पक्राउ परेका थिए । उनीहरूले एम्बुलेन्समा ३३ किलो गाँजा लुकाएर भारतीय सीमामा पुर्‍याउने प्रयास गरेका थिए ।

तोकिएको ठाउँमा गाँजा पुर्‍याइदिए वापत प्रतिकिलोको भाडा १ हजार रुपैयाँ पाउने लोभले पछिल्लो समयमा गाँजा तस्करीमा एम्बुलेन्ससहित अन्य सवारी साधन प्रयोग भइरहेको देखिन्छ ।

गाँजा तस्करीमा भारतीय एम्बुलेन्स र सवारी साधन

गाँजा तस्करले नेपाली नम्बर प्लेटका एम्बुलेन्स र सवारी साधन मात्र होइन, भारतीय नम्बर प्लेटका एम्बुलेन्स र सवारी साधन पनि प्रयोग गर्न थालेका छन् ।

यही वैशाख २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशी किनारको सडकबाट पुल्ठेगौंडा हुँदै तेह्रआरडीतर्फ गइरहेको बीआर ०७ पीसी ४७६५ नम्बरको भारतीय नम्बर प्लेटको एम्बुलेन्स रोकेर चेकजाँच गर्दा १४८ किलो गाँजा बरामद भएको थियो । प्रहरीले एम्बुलेन्समा लुकाएर राखेको गाँजासहित भारत बिहार सुपोलका एम्बुलेन्स चालक धर्मेन्द्रकुमार यादव र एम्बुलेन्स भित्रै बसेका मोहम्मद सदामलाई पक्राउ गरेको थियो ।

भारतीय सीमासँग जोडिएका सुनसरी, मोरङ र झापामा भारतीय नम्बर प्लेटका एम्बुलेन्सहरू गाँजा तस्करले प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । तस्करले एम्बुलेन्समा तस्करी गर्न नपाए भारतीय नम्बर प्लेटका सवारी साधनसमेत प्रयोग गर्ने गरेका छन् ।

वैशाख ५ गते प्रहरीले धरान उपमहानगरपालिका–१३ बेस क्याम्पस्थित चेकपोस्टबाट बीआर १० पीबी २२४१ नम्बरको भारतीय नम्बर प्लेटको स्कोर्पियो खानतलासी गर्दा ५९ किलो गाँजा बरामद गरेको थियो । सो क्रममा चालक भारतको सुपौल जिल्ला बस्ने सुवोध कुमारसहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई पक्राउ परेका थिए । उनीहरू धनकुटाको भेडेटार हुँदै धरान भएर विहार फर्किरहेका थिए ।

विभिन्न नाका ढुकेर बसेका प्रहरीले यसअघि पनि सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको बीआर ११ बीआर ७१०२ नम्बरको भारतीय कारमा ३४० किलो गाँजा बरामद गरेको थियो ।

बराहक्षेत्र नगरपालिका–३ मा पर्ने सुनसरी–मोरङ सिंचाइ आयोजनाको सडकमा बेवारिसे अवस्थामा रहेको एमएच ०२ बीपी ९७४२ नम्बरको भारतीय कारबाट राति २ बजे १६२ किलो गाँजा बरामद भएको थियो । यस्तै, सुनसरीको सीमावर्ती पालिका हरिनगर–६ स्थित सडकमा बेवारिस रहेको डब्लूबी ०२ एएल ०१७५ भएको भारतीय नम्बर प्लेटको कारमा लुकाएर राखेको २० किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

गाँजा र लागुऔषध ओसारपसारमा तस्करले एम्बुलेन्स प्रयोग गर्नुको कारणबारे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले भने, ‘अन्य सवारी साधनभन्दा एम्बुलेन्सलाई प्रहरीले हत्तपत्त चेकजाँच गर्दैन भन्ने तस्करलाई लागेको हुन सक्छ । तस्करले अपनाउने अनेक उपायमध्ये एम्बुलेन्स र भारतीय सवारी साधन प्रयोग पनि हो ।’

कतिपय भारतीय नागरिकहरू भारतीय नम्बर प्लेटका गाडीमा नेपाल घुम्न आउने र फर्किने बेलामा यता सस्तोमा गाँजा खरिद गरी उता लगेर महँगोमा बेच्न पाइने लोभमा परेर भारतीय सवारी साधन र चालकहरू फस्ने गरेको उनले बताए ।

लेखक
प्रदिप मेन्याङ्बो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?