Comments Add Comment

साउदीमा जेल परेका कुमार रानाको उद्दारका लागि डा. भट्टराईले १ लाख दिने

२४ वैशाख, काठमाडौं । साउदी अरेबियाको जेलमा रहेका गोरखाको भीमसेन थापा गाउँपालिका ७ का कुमार रानालाई जेलमुक्त गराउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

गाडी दुर्घटना हुँदा घाइते भएका साउदी नागरिकले मागेको ८३ लाख रुपैयाँ ब्लडमनि तिर्न नसकेर जेलमा रहेका रानालाई रिहाइ गर्न भट्टराईले १ लाख रुपैयाँ आफूले दिने घोषणा गरेका हुन् ।

विदेशमा जेल परेका व्यक्तिलाई रिहा गर्न सरकारले आर्थिक सहयोग नगर्ने भएकाले नागरिकस्तरबाटै सहयोग संकलन अभियान सुरु गरिएको छ । कुमार रानालाई जेलमुक्त गर्न नेपालमा गोरखा कुमार राना मगर उद्दार समितिले सहयोग संकलन गरिरहेको छ । सोमबार समितिका पदाधिकारीहरुले डा. बाबुराम भट्टराईसँग भेट गरी व्यक्तिगत रुपमा सहयोग गर्न र आर्थिक संकलनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसपछि भट्टराईले फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् । ‘आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ ! बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’ भट्टराईले भनेका छन् ।

साउदीमा ड्राइभर काम गरिरहेका कुमार रानाले चलाउने गाडीमा साउदी नागरिकको गाडी ठक्कर खाँदा घाइते भएका साउदी नागरिकले माग गरेको २ लाख रियाल बुझाउन नसकेपछि ६ महिनाअघि जेल परेका थिए ।

कुमार रानालाई उद्दारका लागि सहयोग गर्न चाहनेले प्रभु बैंक, कलंकी काठमाडौंको  खाता नं- 03901001006569000001, SWIFT CODE- PRVUNPKA ) मा रकम सहयोग गर्न सक्नेछन् ।

हाल कुमार रानालाई उद्दारका लागि नेपालभित्र र विदेशमा पनि नागरिक स्तरबाट सहयोग संकलन गरिएको समितिका संयोजक कृष्णप्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment