Comments Add Comment

करोडौं घाटामा चितवनको केरा किसान

२४, वैशाख, चितवन । जब चैत वैशाखको हावाहुरी चल्न थाल्छ यहाँका केरा किसान आँखा छोप्ने गर्छन् । बर्षभरी दुःख गरेर लगाएको केराखेती निमेषभरमा नै नष्ट गरेको दृश्य पटक पटक देखेका छन् उनीहरुले ।

तर, आइतबार साँझ आएको हावाहुरीसहितको असिनाले गराएको क्षति र प्रकृतिको रौद्र रुप भने उनीहरुको कल्पनाबाहिरकै थियो ।

केहीघण्टा अघिसम्म लहलह देखिएको केराबारी एकैछिनमा सोत्तर भएर ढल्यो । चितवनका अगु्वा किसान यज्ञप्रसाद सुवेदीले ३० विघामा लगाएको केराखती असिनापानीले नष्ट गरेको छ । भरतपुर ठिमुरा, पदमपुर र रत्ननगरमा उनले केराखेती गरेका थिए ।

‘क्षतविक्षत हुने गरी केरा ढलेका छन् । कहिँ कतैं आशा जीवित छैन’ सुवेदीले भने । केरा उत्पादक संघका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले करिब २० करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छन् । आफ्नो केराखेतीको ८० प्रतिशत नष्ट भएको उनले बताए ।

यतिबेला किसानको बारीमा मालभोग केरा तयार हुँदै थियो । त्यसैले केरा लगाएका किसानहरू हुरीबतास चलेको रात निदाउनै सक्दैनन् । त्यस्तै भयो हिजो पनि स्थानीय केरा किसान कोपिला दाहाल भन्छिन्, ‘सबै सकियो ।’

गानो कुहिने, गुभो कुहिने, पात मर्ने रोगबाट जोगाएको केरा प्रकृतिसँग जोगाउन नसकिएको बताउँछन् चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्त । ‘यति ठूलो प्राकृतिक विपत्ति आएको थिएन, यसपटक त मनै भसक्कै हुने गरी क्षति गर्‍यो, प्राकृतिक विपत्ति भोग्दै आएका किसानले अपराधिक हर्कतको पनि सामना गर्नुपर्‍यो’ अध्यक्ष पन्तले भने ‘प्राकृतिक विपत्ति र मानवीय अपराध कर्मका कारण जिल्लाका केरा किसान निराश बने ।’

आइतबार साँझ असिनासहित आएको हावाहुरीले पश्चिम चितवनमा खासै क्षति गरेको छैन । पश्चिम चितवनमा असिना पानी आएन तर पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र भरतपुर महानगरको वडा नं १ र २९ भीषण बर्षासहित असिना पानी र हावाहुरी चल्यो ।

पूर्वी चितवनमा सयौं हेक्टर जमिनमा लगाएको केराका साथसाथै मकै र फलफूलमा क्षति भएको छ । मकैै लगाएका खेत र बारीहरुमा बोटका ठुटा मात्रै छन् । ती पलाएर आउने र मकै फल्ने सम्भावना निकै कम छ ।

सहयोग गर्ने नगरपालिकाको वचन

चितवनमा विमा गर्ने किसानको संख्या गत वर्ष भन्दा पनि घटेको छ । त्यसैले यस वर्ष क्षतिको मार किसानले मात्र भोग्नुपर्ने अवस्था आएको संघका अध्यक्ष पन्तले बताए ।

कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले क्षतिको तथ्याङ्क संकलन सुरु गरिएको जानकारी थिए । प्रदेश नं ३ का कृषि मन्त्री दावा दोर्जे लामा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितको टोलीले अनुगमन गर्ने तयारी भएको प्रमुख श्रेष्ठले बताए ।

कालिका नगरपालिकाको १ देखि ७ सम्म हावाहुरी र असिनाले बढी क्षति गराएको छ । विपत्तिमा परेका किसानलाई नगरपालिकाले क्षतिको मुल्याङ्कनको आधारमा सकेको सहयोग गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

केरामाथि शत्रु !

पदमपुरका हरेक जसो बारीहरुमा केराखेती लहलह थियो । जग्गा भाडामा लिएर किसानहरुले गरेको मिहिनेत केराको बोटमा देखिएको थियो । तर वैशाख १७ गते मध्यराति आम मानिसले परिकल्पना गरेभन्दा फरक ढंगले एक हुल अपराधिक जथ्थाले रातभरमा १२ जना किसानको खेतमा लगाएको करिब तीन हजार एकसय बोट केरा मुला काटे जस्तैं गरी काटेर लडाए ।

बजार लैजाने समय पार्खिदै बसेका किसानले उक्त घटनाबाट साढे १५ लाख रुपैयाँको क्षति ब्यहोरे । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्रेको छ ।

यसरी सुरु भयो चितवनमा केराखेती

नवलपरासी रहजरका अम्बिकाप्रसाद अधिकारीले २०५१ सालमा चितवनको रत्ननगरमा १४ बिघा जग्गा भाडामा लिएर केरा खेती गरे ।

त्यसबेला तरकारी लगाउनेहरूले एक बिघा जग्गालाई वर्षको ५ हजार रुपैयाँ भाडा दिन्थे । अम्बिकाले १४ बिघा जग्गा लिँदा प्रतिबिघा १० हजार तिर्न तयार भए । उनले केरा खेती गरेर कमाउन थालेपछि अरु केरा लगाउनेहरु पनि थपिदै गए । चितवनमा व्यावसायिक केरा खेती गर्ने किसान ६ सय ३० पुगेका छन् । २ हजार ६५० बिघामा केरा खेती हुन्छ ।

अहिले पूर्वी चितवनको पदमपुर, रत्ननगर, पिठुवा, जुटपानी चैनपुर, पश्चिम चितवनको जगतपुर, मंगलपुर र भरतपुर महानगरपालिका १ ठिमुरामा केरा खेती फस्टाएको छ ।

कति उत्पादन, कति लगानी ?

६ वर्षअघि एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत चितवनमा केराखेतीलाई प्रर्वद्धन गरिएपछि यहाँ केरा किसानको संख्या हृवात्तै बढेको हो । अहिलेसम्म केरा खेतीका लागि जिल्लामा ८१ करोडभन्दा बढी लगानी भैसकेको छ ।

पछिल्लो छ वर्षयता किसानहरुले केरा खेतीमा लगानी बढाएका छन् । उत्पादन लागत प्रतिबोट २२३ रुपैयाँ लाग्छ । उत्पादित केरा प्रतिघरी ३५० देखि पाँच सय रुपैयाँसम्म हुने किसानहरु बताउँछन् ।

कति प्रजाति छन् केराका ?

नेपालमा मालभोग, विलियम, जिनाइन, चिनी चम्पा, चरिनङग्रे, मुग्रे, घिउकेरा, रोवास्टा लगायतका प्रजातिका केरा पाइने चितवन केरा व्यवसायी संघका निवर्तमान अध्यक्ष यज्ञप्रसाद सुवेदीले जानकारी दिए ।

तर केराको व्यवसायिक उत्पादन भने ३ प्रजाति मालभोग, विलियम र जिनाइनको मात्रै गर्ने गरिन्छ । केराका मूलत २ सिजन हुन्छन् । फागुनदेखि भदौसम्म मालभोगको उत्पादन बी हुन्छ भने भदौदेखि माघसम्म विलियम र जिनाइनको उत्पादन बढी हुने गर्दछ ।

केराको विमा

चितवनका किसानहरुले ०७१ सालदेखि केराको विमा गराउन थालेका हुन् । जिल्लामा शिखर इन्स्योरेन्स कम्पनीले केराको विमा गराउँदै आएको छ । विमा गराउँदा पि्रमियमको ७५ प्रतिशत सरकारले तिरिदिन्छ भने २५ प्रतिशतमात्रै किसानले तिरे पुग्छ । क्षति भएमा विमा कम्पनीले ९० प्रतिशतसम्म क्षतिपूर्ति रकम दिन्छ ।

किसानले क्षति भएमा विमावापत प्रतिबोट सरदर २०१ रुपैयाँ क्षतिपूर्ति पाउँछनु । विमा गर्ने केरा किसानहरू दुई सयको हाराहारीमा छन् । बीमा कम्पनीले गर्ने ढिलासुस्तीका कारणले बाली विमा गर्ने किसानहरूको संख्या बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment