२४ वैशाख, पोखरा । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले आफूहरु अरु प्रदेशसभा भन्दा अगाडि हुने बताएका छन् । हिउँदे अधिवेशन सकिएको अवसरमा मंगलबार प्रदेशसभा सचिवालयले गरेको पत्रकार सम्मेलनमा उनले संघीयताको अभ्यास सिक्दै र परिपक्व हुदै गएको पनि बताए ।
‘नियमावली कसरी संशाधन हुन्छ, संसद अवरुद्ध हुँदा, नियमापत्ति हुँदा के गर्ने, कसरी गर्ने भन्ने कुराको अनुभव लिएका छौं,’ सभामुख अधिकारीले भने, ‘प्रदेश ४ लाई देशकै पहिलो बनाउने कुरामा सबै संसद प्रतिवद्ध छौं ।’
पहिलो अधिवेशन सन्तोषजनकरुपमा सकिएको सभाुमख उनले बताए । ‘प्रदेश सरकारले पठाएका सबैजसो विधेयक सर्वसम्मत रुपमा पारित भएको छ,’ उनले भने, ‘विधि नियम पालना गर्ने र पद्दतिलाई पछ्याउने काम हामीले समयमै गरेका छौं ।’
माघ २२ गतेबाट सुरु हिउँदे अधिवेशनमा अहिलेसम्म ८ वटा विधेयक पारित भएको छ । एउटा विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको छ ।
पहिलो अधिवेशन सकिँदासम्म २९ दिनमा ३६ पटक संसद बैठक बसेको छ । २९ दिनमा २९ घन्टा १६ सेकेन्ड बैठक बसेको छ । अहिलेसम्म ४ वटै समितिले पूर्णता पाएको छ भने नीति तथा कार्यक्रम र बजेट पनि संसदबाट पारित भइसकेको छ ।
प्रदेश राजधानी तथा नामांकनका लागि ११ वटै जिल्लामा सुझाव संकलनको काम सकिएको छ भने केही दलको धारणा आउन बाँकी रहेकाले यसको टुंगो लाग्न भने बाँकी छ । नीति तथा कार्यक्रम, बजेट र दलको सचेतकका विषयमा राखिएको १० प्रतिशतको थ्रेस होल्डबाहेक अन्य सबै विषयमा संसदमा सर्वसम्मत भएको छ ।
प्रदेश सुरु हुँदा के होला, कस्तो होला भन्ने भए पनि समयसँगै परिपक्व हुँदै गएको उपसभामुख सिर्जना शर्माले बताएकी छन् ।
संघीय सांसदको अनुभव पनि लिइसकेकी सांसद आशा कोइरालाले प्रदेश सभाले अझ जिम्मेवारी वोध गराएको बताइन् । ‘संघको संसदमा धेरै जना भएकाले सामान्य भूमिका निभाए पुग्थ्यो । नियमित प्रक्रिया चलिरहेका कारण व्यवस्थित पनि थियो । संघमा हामी ठूलो भीडमा हराइरहेजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘यहाँ सामान्य भूमिकाले पुग्दैन, आˆनो अस्तित्व देखाउन सक्नुपर्छ ।’
अब जेठको दोस्रो हप्ताभित्र दोस्रो अधिवेशन सुरु हुने सभामुख अधिकारीले बताए । ‘असार १ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसको १५ दिनअघि नै पि्रबजेट छलफल गर्नुपर्छ,’ उनले भने, ‘पि्र बजेट छलफल हुनुभन्दा अघि नै दोस्रो अधिवेशन सुरु गर्नुपर्छ ।’
प्रतिक्रिया 4