Comments Add Comment

काठमाडौंको ट्रेन्डिङप्रति बेपर्वाह जनकपुर : रंगभूमिमा एक लाख मानिस उतार्ने तयारी

२७ वैशाख, जनकपुरधाम । काठमाडौंमा सामाजिक सञ्जालबाट भइरहेको नरेन्द्र मोदीको बिरोधको कु्नै प्रभाव छैन जनकपुरमा । प्राचीन मिथिला राज्यको राजधानी, संघीय नेपालको प्रदेश २ को राजधानी अनि महर्षि जनकले स्थापना गरेको पवित्र शहर जनकपुर ‘हिन्दुस्तान’का प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न सम्पूर्ण रुपले तम्तयार भएको छ ।

जनकपुरको तयारी देख्दा यस्तो लाग्छ, अयोध्याबाट जन्ती लिएर बेहुला राम आउँदैछन् । हिन्दू कट्टरपन्थी भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि मुस्लिम मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशको सम्पूर्ण शक्ति खर्च गरेका छन् भन्दा अन्यथा हुने छैन ।

प्राचीन जानकी मन्दिरमा विहानैदेखि गुन्जिने रामजानकी आरती र जानकी मन्दिरसँगै जोडिएको मस्जिदबाट निस्कने अल्लाहको नमाजका स्वरसँगै मोदीको स्वागतमा जनकपुर झुमेको छ ।

यति मात्रै होइन, मोदीको स्वागतका लागि मुस्लिम समुदायले समेत स्वागतद्वारहरु निर्माण गरेका छन् । काठमाडौंमा मोदीविरुद्ध सामाजिक सन्जाल ट्वीटरमा #BlockadeWasCrimeMrModi ट्रेण्डिङ भइरहँदा जनकपुर मोदीको स्वागतद्धार र ब्यानरहरुले सजिएको छ ।

मोदीको पहिलो जनकपुर भ्रमण र जनकपुरबाटै शुरु भएको नेपाल भ्रमणलाई मधेसी जनताले ऐतिहासिक रुपमा लिएको मुख्यमन्त्री राउतले बताए । उनले भने, ‘हामी यो अवसरलाई कुनै पनि कोणबाट खल्लो हुन दिन्नौं । मधेसका लागि यो गौरवको क्षण पनि हो । जनकपुर र अयोध्याबीचको सम्बन्ध अब समग्र हिन्दुस्तान र नेपालबीचको सम्बन्धमा परिभाषित भएको छ ।’

ओली र मोदीमय जनकपुर

मंगलबार साँझको हावाहुरीले जनकपुरमा धेरै स्वागतद्धार भत्काइदियो । बुधबार अपरान्हसम्म पनि जनकपुरका मुख्य सडक र बाह्रबिघा मैदान तथा जानकी मन्दिर क्षेत्रमा नरेन्द्र मोदीको फोटोमात्र राखिएका स्वागतद्धार र हिन्दी भाषाबाट लेखिएका फ्लेक्सहरु देखिएका थिए ।

तर, बिहीबार विहान एकाएक जनकपुरको दृष्य फेरियो । जताततै प्रधानमन्त्री ओली र मोदीका तस्वीर सहितका ब्यानरहरु टाँगिए । हिन्दी भाषामा मात्रै होइन, मैथिली भाषामा पनि तुल, ब्यानर टाँगिए । जनकपुर उपमहानगरपालिकासहित बिभिन्न संघ संस्था र उद्योगले दुई देशका प्रधानमन्त्रीको फोटोसहित स्वागतद्वार बनाएर जनकपुरलाई सजाएका छन् ।

काठमाडौंमा सामाजिक सञ्जालबाट ओलीको राष्ट्रवाद मोदीको अभिनन्दनमा गएर पोखिएको टिप्पणी भइरहेका बेला जनकपुर मोदीसँगै ओलीलाई स्वागत गर्न आतुर देखिएको छ ।

राजपा नेता तथा यसै क्षेत्रबाट निर्वाचित सांसद राजेन्द्र महतो जनकपुरमा ओलीलाई स्वागत गर्न आफूहरु काठमाडौंबाटै आएको बताउँछन् । राजपाबाटै निर्वाचितन जनकपुरका मेयर लालकिशोर साह आफैं खटिएर स्वागत र, ब्यानर र फ्लेक्सहरुमा प्रधानमन्त्री ओलीको फोटो अनिवार्य समावेश गर्न निर्देशन दिइरहेका थिए ।

ओलीकै आमन्त्रणामा मोदी जनकपुर आउन लागेकाले आफूहरु प्रधानमन्त्री ओलीप्रति आभारी रहेको प्रतिक्रिया उनले दिए ।

स्वागतको भाषामा हेरफेर

जनकपुर विमानस्थलदेखि बाह्रबिघा मैदान हुँदै जानकी मन्दिर परिसर जताततै ओली र मोदीका ठूला ठूला तस्वीर टाँगेर स्वागत गरिएको छ । स्वागतको भाषा पनि मैथिली र नेपालीमा परिवर्तन भएको छ ।

मिथिलामा मैथिली भाषी संस्थाहरुले हिन्दीको बिरोध गरेपछि नेपाली र मैथिली भाषालाई प्राथमिकता दिइएको हो ।

त्यसो त मोदीलाई जनकपुर उपमहानगरपालिकाले प्रदान गर्ने नागरिक अभिनन्दन पनि मैथिली भाषामै हुनेछ । यसअघि हिन्दी, नेपाली र मैथिलीमा अभिनन्दन पत्र दिइने भनिएकोमा यहाँ बिरोध भयो । नेपाली भाषामा लेखिएको अभिनन्दन पत्र मैथिलीमा पढेर सुनाइने सहमति भएको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

२० वर्षमा नभएको विकास २० घण्टामै !

जनकपुरमा रैथानेहरुको कुरा सुन्ने हो भने, २० वर्षमा नभएको विकास जनकपुरमा पछिल्ला २० घण्टाभित्रै भयो ।

जनताले गरेको टिप्पणीलाई जनकपुरकै मेयर साहले स्वीकार गरेका छन् । यद्यपी उनी मोदी भ्रमणका क्रममा गरिएको विकास अभियानले अब निरन्तरता पाउने दावी गरिरहेका छन् ।

रातारात सडकका खाल्डाखुल्डी पुरिएर कालोपत्रे गरिएको छ । विमानस्थलदेखि जानकी मन्दिर तथा बाह्रबिघाहसम्म जाने मुख्य सडकको कायापलट भएको छ । सडक कालोपत्रे, खाल्डा पुर्ने, सरसफाइको काममा रातभरि पनि चलिरहेको छ ।

समग्र मधेसकै सबैभन्दा खराब शहर बनिसकेको जनकपुरले आंशिक रुपमा भने पनि मोदी भ्रमणका कारण चोला फेरेको छ ।

सरकारले चाहृयो भने रातारात शहरको मुहार फेर्ने गरी विकासका काम गर्न सकिनेरहेछ भन्ने जनकपुरको पछिल्लो एक साताको कामले पुष्टि गरेको प्रदेशसभा सांसद अनिताकुमारी यादवले बताइन् ।

जनकपुरमा रातारात भएको विकासमा कति बजेट खर्च भइरहेको छ र कसको बजेट हो भन्ने प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले बताउन चाहेका छैनन् । बजेटको बारेमा प्रश्न नसोध्न र विकासलाई विवादमा नपार्न मेयर साहले आग्रह गरे ।

विकास निर्माण कार्य उपमहानगरकै अगुवाईमा भइरहेको र केन्द्र सरकारले सम्पूर्ण रुपमा साथ दिएको उनले बताए ।

बर्दीमै ४ हजार सुरक्षाकर्मी, बिनाबर्दी अनगिन्ती

जानकी मन्दिरको सामुन्नेमा खुलेको नयाँ होटल गायत्री कुन्जको खाली प्यासेजमा महिला प्रहरी सुतिरहेका छन् । डेढ सय भन्दा बढी महिला प्रहरी जनकपुर बाहिरबाट आएका हुन् । जनकपुरमा मोदी भ्रमणको सुरक्षाका लागि मात्र ४ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।

बिना बर्दीमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाले मुख्य सुरक्षा घेरा बनाइसकेको छ ।

भारतीय पक्षबाट पनि सुरक्षाकर्मीले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरिरहेका छन् । उनीहरुले मुख्यतः सुरक्षा व्यवस्थाबारे जानकारी लिइरहेको अधिकारीहरुले बताएका छन् ।

जनकपुरमा मुख्य सडकका चोक र भित्री गल्लीमा रातभर ठूलो संख्यामा सुरक्षाकर्मी छाडिएका छन् । उनीहरुले सुरक्षा चेकजाँचलाई पनि कडा बनाएका छन् । मोदी आउने दिन मास्क लगाएर हिँड्न समेत नपाउने भनी प्रहरीले सूचना जारी गरिसकेको छ ।

पत्रकारलाई समेत एक ठाउँबाट अर्को ठाउँमा रिपोर्टिङ गर्न अलगअलग पासको व्यवस्था गरिएको छ । विमानस्थलमा खटिने पत्रकारले बाह्रबिघा र मन्दिरको रिपोर्टिङ गर्न नपाउने व्यवस्था मिलाइएको छ ।

मोदी भन्दा एक घन्टाअघि ओली पुग्छन् जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर विमानस्थलमा उत्रिनुभन्दा एक घण्टा अगाडि नै अर्थात विहान ९ बजे नै प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुग्नेछन् ।

उनको हेलिकोप्टर रंगभूमि मैदान (बाह्रबिघा) मै अवतरण गर्ने प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

ओलीलाई मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश सरकार र स्थानीय अधिकारीहरुले स्वागतसँगै मोदीसँगको कार्यक्रमबारे ब्रिफिङ गर्नेछन् । तेस्रो मधेस आन्दोलनपछि ओली पहिलो पटक जनकपुर आउँदैछन् । ओली हेलिकोप्टरबाट ओर्लिएर सिधै जानकी मन्दिरमा जानेछन् ।

मोदी सवा १० बजे जनकपुर विमानस्थलमा उत्रिनेछन् । उनलाई नेपाल सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदीको स्वागतका लागि मुख्यमन्त्री राउत पनि विमानस्थल पुग्नेछन् । त्यसपछि मोदी जानकी मन्दिर पुग्नेछन्, जहाँ उनको भेट ओलीसँग हुनेछ ।

ओली र मोदीले जानकी मन्दिरको दर्शन गरेसँगै रामायण सर्किटको घोषणा र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको वीरगन्जस्थित भारतीय महावाणिज्यदूत विएस प्रधानले जानकारी दिए । जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा विशेष पूजा गर्नेछन् ।

मोदीको अभिनन्दनमा एक लाख जनता ?

जानकी मन्दिरको कार्यक्रम सकिएपछि मोदी नागरिक अभिनन्दन ग्रहण गर्न रंगभूमी मैदानमा जानेछन् भने ओली काठमाडौं फर्किनेछन् । मोदीको नागरिक अभिनन्दनमा रक्षामन्त्री पोखरेल, भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठ, मु्ख्यमन्त्री राउत, राजपा नेता राजेन्द्र महतो, कांग्रेस उपसभापति विमलेन्द्र निधि गायत सहभागी हुनेछन् ।

जनकपुर उपमहानगरपालिकाको तर्फबाट मोदीलाई बाह्रबिघा मैदानमा गरिने नागरिक अभिनन्दन भव्य बनाउन प्रदेश सरकार नै खटिएको छ । प्रदेश सरकारले मुख्यमन्त्रीकै संयोजकत्वमा मूल समिति बनाएको छ भने बिभिन्न मन्त्रीलाई अलग अलग जिम्मेवारी दिइएको छ ।

मोदीको नागरिक अभिनन्दनमा प्रदेशका आठै जिल्लामा उल्लेख्य संख्यामा सर्वसाधारणलाई उपस्थित गराउने तयारी छ ।
महोत्तरी र धनुषाबाट हजारौं सर्वसाधारणलाई उपस्थित गराउन प्रदेश सरकारले नै तयारी गरेको छ । अन्य जिल्लाबाट एउटा स्थानीय तहले कम्तीमा दुई बस सर्वसाधारण रंगभूमि मैदानमा उतार्नेछन् ।

‘एक लाखभन्दा बढी जनता आउनेछन्’ प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री साहले भने, ‘सबैलाई १० बजेभित्रै जनकपुर ल्याइसकिने तयारी सबै स्थानीय तहले गरिसकेको छ ।’

नागरिक अभिनन्दनमा आउने जनताका लागि खानाको व्यवस्था पनि जनकपुर उपमहानगरले मिलाएको छ ।

नाचगान पनि हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन हुने बाह्र बिघामा नाचगानको व्यवस्था समेत मिलाइएको छ । लाखभन्दा बढी जनता आउने भएपछि उनीहरुलाई मनोरञ्जन समेत गराउनका लागि नाचगानको व्यवस्था मिलाइएको छ । भारतीय पक्षले पनि स्थानीय कलाकारहरुले जनतालाई मनोरञ्जन गराउने जानकारी दिएको छ ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूत विएस प्रधानले बिहीबारै आयोजना गरेको पत्रकार सम्मेलनमा मैथिली, भोजपुरी कलाकारहरुले जनतालाई मनोरञ्जन गराउने बताए । नाचगानका लागि छुट्टै मंच निर्माण गरिएको छ भने केही भारतीय कलाकार पनि आउने छन् ।

तस्वीर : विकास द्वारे/विक्रम रौनियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment