Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीले मोदीसँग भने : विभेदकारी संविधानविरुद्ध संघर्ष जारी छ

२८ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको बताएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका हुन् ।

‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ’ उनले मोदीको ध्यान आकर्षित गर्दै भने ‘हामी नेपालको अभिन्न अंग हौं । तर हामीले चाहेका छौं कि हाम्रो मुलकमा पनि विना विभेद, विना भेदभाव कुनै पनि जाती, वर्ग, समुदायले राज्यका हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले पुग्न सक्ने सहज अवसर मिलोस्, जसरी सामान्य परिवारको भएर पनि महामहिमज्यू भारतको सर्वोच्च पदमा विराजमान हुनुहन्छ ।’

राज्यको विभेदकारी नीतिका कारण मधेस अझै आर्थिक रुपमा पिछडिएको मुख्यमन्त्री राउतले बताए । ‘राज्य मधेसप्रति पूर्वाग्रही छ, विद्वेषपूर्ण मानसिकताका कारणका मधेसका वासिन्दा तुलनात्मक रुपमा अत्यधिक गरिब, वेरोजगारी, अभावग्रस्त, शोषित, उत्पीडित जीवन जिउन विवश छन्’ उनले भने ।

मुख्यमन्त्री राउतले वर्षायाममा बाढीका कारण नेपालको मधेस र भारतका हजारौं मानिसहरु प्रभावित भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्न पनि मोदीको ध्यानाकर्षण गराए । उनले जनकपुरप्रति आफ्नो प्रेम बारम्बार प्रकट गर्न पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment