Comments Add Comment

नेपालले पनि वर्षौदेखि नाकाबन्दी लगाइरहेको छ !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा पूर्वी नाका काकरभिट्टामा भारत पठाइन लागेको दर्जनौं ट्रक चिया रोकिएको समाचार राष्ट्रिय रुपमा बहस भयो । चियाको पहिलो सिजनको सबैभन्दा महंगो ‘फस्टफ्लस’ चिया अव्यवस्थित नाकामा हप्तौ रोकिदा किसानले करोडौं क्षति बेहोर्नु पर्‍यो । मोदीको भ्रमण हुने तीन दिनअघि मात्र चिया बोकेका कन्टेनर कलकत्ताको अक्सन बजारमा पुगे ।

तर, त्यही नाकाबाट भारतीय नेपालीहरुका लागि बौद्धिक खुराकका रुपमा परिचित नेपाली साहित्यिक पुस्तक बोकेको सानो गाडी वर्षौदेखि सिलिगुडी पुगेको छैन । सिलिगुडी नेपाली साहित्यको त्यस्तो बजार हो, जहाँबाट पूर्वी भारतभरि छरिएका नेपालीभाषीहरु पुस्तक किन्ने गर्छन् । भारतभरि नेपाली पुस्तक पढ्न सक्ने व्यक्तिको संख्या झण्डै एक करोड भएको दावी गरिन्छ ।

उनीहरुलाई लक्षित गरेर २०४० सालअघि नै सिलिगुडी र दार्जेलिङमा खुलेको साझा प्रकाशनको कार्यालय अहिले बन्द अवस्थामा छ । नेपाली भाषा तथा साहित्यमा स्नातकोत्तरसम्म अध्ययन हुने भारतका नर्थ बंगाल, गुहाटी र बनारस हिन्दु विश्वविद्यालयहरुमा नेपाली पुस्तकको अभाव हुन थालेको पनि वर्षौ भैसक्यो । तर, यसको चर्चा कतै पनि छैन । सबैभन्दा रमाइलो कुरा नेपाली भाषी भारतीय बौद्धिक व्यक्तिहरु यसलाई ‘नेपालले गरेको एक प्रकारको बौद्धिक नाकाबन्दी’ मान्छन् । र, यसको दोष नेपाली नेता, प्रज्ञा प्रतिष्ठान र नेपाली साहित्यकारलाई दिन्छन् ।

हिजो नङ र मासुको सम्बन्ध भएको साहित्यिक सम्बन्ध आज दुबै तर्फका जीवित साहित्यिक पुस्ता एक-अर्कासँग टाढा हुँदै गएका छन् । आखिर किन यस्तो भइरहेको छ ? नेपालमाथि नाकाबन्दी लगाएर कुख्यात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुरानो सम्बन्ध सुधार्न नेपाल आएको बखत नेपालले भारततर्फ लगाएको बौद्धिक नाकाबन्दीको रहस्य खोतल्ने योजना अनलाइनखबरले बनायो । यसै मेलोमा हामीले भेट्यौं, भारतीय नेपाली साहित्यकारहरुसँग नजिक रहेर काम गरिरहेका लेखक-सम्पादक अविनाश श्रेष्ठसँग ।

श्रेष्ठ यस्ता व्यक्ति हुन्, जसले आजभन्दा ४५ वर्षअघि गुहाटीमा विएस्सीका छात्र हुँदा नेपाली साहित्य परिषद् आसम नामक साहित्यिक संस्था स्थापना गरेका थिए । उक्त संस्थाले प्रकाशन गर्ने ‘परिषद् पत्रका’ उनी सम्पादक थिए । उक्त संस्थाले ‘सलेदो’ नामक पत्रिका नियमित प्रकाशन गर्दथ्यो । आसाममा नेपाली साहित्यिक जागरण ल्याउन सुरु गरिएको ‘कोलाज’ आन्दोलनका उनी संयोजक थिए । उक्त आन्दोलनले आसामभरि छरिएर रहेका नेपाली भाषी बसोबास गर्ने गाउँ-गाउँ पुगेर नेपाली भाषाका रचनाहरु सुनाउने गर्दथ्यो । नेपाल फर्केपछि अविनाशश्रेष्ठ प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘समकालीन साहित्य’ मा १४ वर्ष सम्पादक रहे भने साझा प्रकाशनबाट प्रकाशित मासिकरुपमा प्रकाशन हुने ‘गरिमा’ प्रधान सम्पादकका रुपमा पुनर्जीवन दिने प्रयास पनि गरे । उनका परेवाःसेता-काला, संवेदना ओ संवेदना, अनुभूति यात्रामा, करोडौं सूर्यहरुको अन्धकार कविता कृति प्रकाशन छन् । त्यसबाहेक अश्वत्थामा हतोहतः नाटक तथा तान्या, इन्द्रकमल र अन्धकार नामक कथा संग्रह चर्चित छन् ।

प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीः

भारतीय प्रधानमन्त्री नेपाल आउँदा नेपाली साहित्यकारहरुको मनमा आएको पहिलो भावना के थियो ?

आम नेपालीको मनमा जे भावना आएको थियो, साहित्यकारको मनमा पनि त्यही आएको थियो । एउटा साहित्यकारले नेपालीको भावना मज्जाले बुझेको हुन्छ र त्यहि महसुस गरिरहेको हुन्छ । यदि शुद्ध कलमजीवी हो भने । स्वार्थी र फाइदा लिनका लागि चाकडीमा जाने मानिसको कुरा नगरौं ।

तपाईंले त नरेन्द्र मोदी पाप पखाल्न नेपाल आएका हुन् भनेर सामाजिक सञ्जालमा लेख्नु भएको थियो ?

हो, मैले लेखेको हो । तर, त्यो पाप पखालिने वाला छैन । दुई वर्षअघि पशुपतिनाथको भ्रमण गर्दा मोदीले पूजारीलाई साक्षी राखेर ४० टन रक्तचन्दन र ५० करोड भारु चढाउने वाचा गरेका थिए । त्यो अहिलेसम्म पूरा गरेका छैनन् । जसले पशुपतिनाथसँग झुटो बोल्छ, उसबाट नेपाली जनताको भलो हुने काम हुन्छ भन्ने कल्पना पनि नगरे हुन्छ । जे जति आश्वासन वा प्रेमका कुरा छन्, ती केवल देखावटी मात्रै हो ।

यो सबै बुझिकन पनि पाहुनालाई सत्कार गर्नु हाम्रो धर्म हो । नेताहरुले जुन तामझाम देखाइरहेका छन्, त्यो पनि उनीहरुको कुटनीतिक बाध्यता हो । कुनै पनि नेपालीले मनदेखि मोदीलाई स्वागत गरेको छैन । यो कुरा मोदीलाई पनि थाहा छ । उनी पनि नेपालीहरुको यसो नाडी छामौं भनेर आएका हुन् ।

भारतीय प्रधानमन्त्रीको भ्रमण हुनुअघि पूर्वी नाकामा नेपाली चिया रोकियो, यसलाई कसरी हेर्नुहुन्छ ?

कुनै पनि शक्तिशाली शासकले आफू विशेष देखाउन यसो गर्छन् । प्रत्येक विशिष्ट भ्रमण अघि नेपाली नाकामा यो समस्या आएको इतिहास छ । कहिले अदुवा रोकिन्छ, कहिले भन्सार शुल्क बढ्छ । यसो गरेपछि थिचिएका समस्या खोतल्दैमा समय जान्छ । सम्बन्ध नयाँ चरणमा प्रवेश गर्नै पर्दैन । यो भारतीय शासकको पूरानो चलन हो । खासमा भारतीय शासक नेपाल समृद्ध र शक्तिशाली भएको हेर्नै चाहँदैनन् ।

निकै गम्भीर आरोप लगाउनु भयो । मन नपरेपछि लगाइने गरेको सतही विश्लेषण हो कि यथार्थ ?

भारतीय शासकले दिएका आश्वासनहरुलाई सम्झनूहोस् र रोकिएका ठूला विकास आयोजनाबीच तुलना गर्नुहोस् । यति सानो देशको जंगे पिलर पनि उत्तरतिर सारेको घटनाहरु हेर्नुहोस् । चिनसँग मिलेर लिपुलेकमा कब्जा जमाएको घटना हेर्नुहोस् । नाकाबन्दीलाई सम्झनुहोस् । सीमामा नेपाली जनताले पाएको सास्ती सम्झनुहोस् । ठूला आयोजना ओगट्ने र काम गर्न नदिने प्रवृत्ति सम्झनुहोस् । यी सबै तुलना गर्नै वित्तिकै भारतले नेपाललाई के गर्न खोजेको छ भन्ने प्रस्टै बुझिन्छ । यति बुझ्न अर्थशास्त्र र राजनीतिशास्त्र पढ्नै पर्दैन । सामान्य जनताको आँखाबाट हेर्दा पनि यो मज्जाले बुझिन्छ ।

आफ्नो छिमेकीलाई अघि बढ्न नदिनुको पछाडि के कारण हुनसक्छ ?

ठालु प्रबृत्ति । संसारभरी नै सानो मुलुकलाई ठूलो मुलुकले यसैगरि वशमा राख्ने प्रयास गरेका छन् । नेपालमा आफ्ना वस्तु तथा सेवा विक्री गर्ने र दास बनाउने प्रवृत्ति नै मोदीले दोहोर्‍याएका हुन् । यसअघि जसरी चलेको थियो, त्यसैगरि थिच्न खोजेका हुन् ।

अत्यन्तै सरल कुरा म भनिदिन्छु, यसबाट पनि हामी कस्तो अवस्थामा छौं बुझिन्छ । त्यो के भने भारतमा एक करोड भन्दा बढि मानिस नेपाली पढ्न सक्छन् । तर, उनीहरुले पढ्ने सामग्री चाहे त्यो पुस्तक होस् वा पत्रिका, बोर्डर कटेर जान पाउँदैन । कुनै अपराध गरे जस्तो लुकिछिपी पुर्‍याउनुपर्छ । तर, भारतबाट नेपालमा पोर्नोग्राफीदेखि प्रोपगन्डाका पुस्तक-पत्रिका सबै भित्रिन्छन् ।

तपाईं भारतमा लोकपि्रय नेपाली लेखक पनि हुनुहुन्छ । नेपाली साहित्यका पुस्तक भारतीय नेपालीसम्म नपुग्नुको मुख्य कारण के हो ?

नेपाली भाषालाई खुम्च्याउन गरिएको प्रयास हो । नेपालमा जति नेपाली भाषा लेखपढ गर्छन्, झण्डै त्यति नै नेपालीभाषीहरु भारतमा छन् । उनीहरुलाई राम्रोसँग नेपाली साहित्य, भाषा र संस्कृति पढ्न दिइयो भने यताको प्रभाव पर्छ भनेर भारतीय शासक चिन्तित र सचेत छन् । त्यहाँ भएका नेपालीहरुलाई सकेसम्म त्यहीँका स्थानीय भाषा र संस्कृतिमा विलय गराउने न त्र नेपालीसँग सम्बन्ध नराखिकन त्यहीँका सामग्रीबाट काम चलाउने योजनाका साथ लामो समयदेखि काम भइरहेको छ ।

आजभन्दा २५ वर्षअघि नै आसाम, मणिपुर, मेघालय, त्रिपुरा, मेजोरम, अरुणाञ्चल प्रदेशहरुमा ६५ लाख नेपाली भएको तथ्याङ् आएको थियो । पूर्वाञ्चल भारत नाम दिइएको यी राज्यहरुमा नेपालीभाषीहरु निर्वाचित हुने र सांसद मन्त्री हुने पूरानै चलन हो । असममा अहिले पनि एक जना केन्द्रीय संसद सदस्य र ३ जना एमएलए -विधायक ) चुनिने गरेका छन् । अहिले पनि असम राज्य विधान सभाका सभामुख नेपाली छन् । त्यतिमात्र होइन, आसाम सरकारको मुख्य सचिव एकजना नेपाली हुनुहुन्छ । कतिसम्म भने भुटान, सिक्किम, दार्जेलिङ्, डुबर्सदेखि आसामको पूर्वी सिमाना रहेको श्रीरामपूरादेखि उता थाइल्याण्डको बोर्डर नजिक रहेको सदियासम्म नेपालीहरुको बसोवास छ । अब भन्नुहोस्, यति धेरै नेपालीहरु नेपालको साहित्य, कलासँग नजिक रहे भने के हुन्छ ? यहि कारण भारत यसमा सचेत छ । हाम्रा साहित्य उता जान दिँदैन तर, उताका सामग्री निर्वाध यता आइरहन्छ ।

उताका बुद्धिजिविहरुले नेपालका पुस्तकहरु नपुग्नुलाई नेपाली बुद्धिजिवी र साहित्यकारहरुलाई दोष दिइरहेको भेटियो । यसलाई नेपालको तर्फबाट गरिएको नाकाबन्दी पनि भन्दा रहेछन्, यसमा के भन्नुहुन्छ ?

एक प्रकारले भन्ने हो भने उहाँहरुले भनेको सही हो । भारतीय शासकले नेपाली पुस्तकहरुमा कडाइ गर्दा किन यसो गरेको भन्न नसक्ने नेपाल सरकारको कमजोरी हो । नेपाली भाषा-साहित्यको निर्वाध पहुँच पुर्‍याउन पहल नगर्ने प्रज्ञा प्रतिष्ठानको हो ।पञ्चायतकालदेखि नै सिलुगुडीमा स्थापित साझा प्रकाशनको शाखालाई भारतभर फिँजाउन पहल नगर्नु गल्ती हो । अन्य निजी प्रकाशनहरुले पनि आफ्नो त्यत्रो ठूलो बजारलाई बेवस्था गर्नु गल्ती हो । आफ्ना पत्रिका र पुस्तक बोर्डरमा रोकिदा पनि आवाज उठाउन नसक्नु नेपाली प्रकाशन र साहित्यकारको कमजोरी हो । एकप्रकारले हामी सबै नेपाली दोषी हौं ।

भारतले विहान टिपेको तरकारी बेलुकासम्म नेपाल ल्याएर बेचिसक्छ । हामी भने लामो समय बाँच्ने नेपाली साहित्य पनि आफ्नै भाषीहरुलाई पढाउन सक्षम छैनौं । भएको साझा प्रकाशनको शाखा समेत बन्द गरेर भारतमा नेपाली भाषा-साहित्य पढिरेहेका हजारौं विद्यार्थीहरुलाई समस्या पार्नु भनेको एकप्रकारले नाकाबन्दी नै हो । तर यसो हुनुमा भारतको शुक्ष्म निगरानीले पनि काम गरिरहेको छ । उनीहरु नेपालका पुस्तक भारततिर छिर्न दिँदैनन् ।

नेपाली पुस्तक र पत्रिका भारतमा छिर्न नदिएको कुनै प्रमाण छ ?

मैले नै भोगेको घटना सुनाएपछि तपाईंलाई विस्वास लाग्छ । मैले २०६४ सालमा झण्डै ५ सय पृष्ठको एउटा पुस्तक सम्पादन गरेको थिएँ, ‘आधुनिक भारतीय नेपाली कथा ।’ यसलाई साझा प्रकाशनले छापेको थियो । यो पुस्तक भारतका ४४ जना नेपाली भाषाका श्रष्टाहरुको कथा, उनीहरुको परिचय र त्यहाँको कथा लेखनको इतिहास छापिएको छ । अहिले यो पुस्तक भारतका नेपाली भाषा-साहित्य पढाइ हुने सबै विश्विविद्यालयहरुको स्तानक र स्नातकोत्तरको पाठ्यक्रममा छ ।

भारतको कलेजमा पढाइ हुने, भारतकै श्रष्टाका विषयमा लेखिएको पुस्तक भएकाले मैले त्यो पुस्तक सजिलै लैजान्छु भन्ने आशाले ५० प्रति पुस्तक लिएर गएको थिएँ । जानुअघि केही समस्या पर्ला कि भनेर साझा प्रकाशन र भारतीय दूतावासको पत्र पनि बोेकेको थिएँ । तर, पूर्वी नाकाको पानीटंकीमा मलाई नेपाली पुस्तक भारततिर लैजान पाइदैन भनेर प्रहरी, कस्टम अधिकारी सबैले रोके । विहान ८ बजेदेखि दिउँसो दुई बजेसम्म ममाथि केरकार भयो । त्यो लेखक प्रति भएको र पुस्तकको ब्यापार गर्ने कुनै योजना नभएको कुरा बुझेपछि बल्ल बल्ल मलाई जान दिइयो ।

यसरी रोक्नुपर्ने कारण के बताए उनीहरुले ?

केन्द्र सरकारबाटै नेपाली भाषाको पुस्तक, पत्रिका, पम्पलेट लैजान नदिनु भन्ने आदेश छ रे । मैले त्यहाँ बोलिने आसामी, बंगाली, हिन्दी र अंग्रेजी सबै भाषामा बोलेपछि एकजना बंगाली कस्तम अधिकृतले प्रेमपूर्वक भने, ‘तपाईं प्रति मेरो व्यक्तिगतरुपमा सम्मान छ । तपाई ठिक हुनुहुन्छ तर भारत केन्द्रीय सरकारको नीति निर्देशन नै यहि छ, के गर्ने ? म व्यक्तिगत रिस्कमा तपाईंलाई पुस्तक लैजान दिन्छु । तर, कानुनतः यसलाई रोकिएको छ ।’ खासमा तिनै कर्मचारीका कारण ८ घन्टा रोकिएपछि मात्र मैले पुस्तक लैजाने अवसर पाएँ । यस्तै कडाइ र झन्झटका कारण साझा प्रकाशनको शाखा पनि बन्द भएको हो र अरु प्रकाशन संस्थाहरुले पनि आफ्ना पुस्तक भारत पुर्‍याउन नसकेका हुन् ।

यस विषयमा नेपाली शासक, प्रज्ञाप्रतिष्ठान र साहित्यकारहरुले किन नबोलेका होलान् ?

एक वाक्यमा भन्ने हो भने नेपाली साहित्यको विकास नचाहेर । नेपाली भाषा साहित्य फलोस्, फूलोस् भन्ने चाहेको भए त्यत्रो ठूलो बजारमा पुग्न केही न केही गर्नै पर्दथ्यो । दास मनोबृत्तिका साहित्यकारहरु भारतले लैजान दिँदैन भन्दै गनगन गरेर बस्छन् । त्यसका लागि दबाव दिँदैनन् । प्रज्ञा प्रतिष्ठानले पनि पहल गर्दैन । सबैले भारतलाई मनाउन गाह्रो छ भनेर चुप लागेका होलान् । केही फाइदा पनि लिएका हुँदा हुन् । उताका सबै सामग्री यता आउने तर, यताका गम्भीर कुरा पनि उता जान नपाउने यो हेपाहा प्रबृत्तिको विरोध कोही गर्न तयार छैनन् । यो भिख मागेको त होइन, यो १९५० को सन्धिले दिएको समानताको अधिकार (रेसिप्रोकल) हो । यसको अर्थ हो, नेपाल सरकारले पनि भारतमा उसकै डिजाइनमा बर्षौदेखि नाकाबन्दी लगाइरहेको छ ।

तर, तपाईंको पुस्तक त भारतीय विश्वविद्यालयको पाठ्यक्रममै समावेश छ, के भन्नुहुन्छ ?

मैले प्रयासै नगरेको भए यति बोल्न मेरो नैतिकताले दिँदैनथ्यो । म १९७४ मा विएस्सी पढ्दा मेरै नेतृत्वमा नेपाली साहित्य परिषद, आसाम गठन गरेको थियौं । मेरो सम्पादनमा परिषद्पत्र नामक पत्रिका निस्कन्थ्यो । त्यसबाहेक हामी सलेदो पत्रिका निकाल्दथ्यौ र आसामका गाउँ गाउँमा नेपाली साहित्यिक कार्याक्रम ‘कोलाज’ चलाउँथ्यौं । त्यो बेला भारतका नेपालीहरु भारतमा नेपाली भाषालाई मान्यता दिन लडिरहेका थिए । त्यो बेला सबैमा नेपाली भाषा साहित्यको माया थियो । यो आन्दोलनलाई सहयोग होस् र आफ्नो भाषा राम्रोसँग लेखपढ गर्न सकियोस् भनेर गुहाटीका नेपालीको चर्चित थलो पल्टन बजारमा रहेको राधा कृष्ण मन्दिर परिसरमा नेपाली साहित्यका पुस्तक पाइने एउटा पसल खोल्ने योजना बनाइयो । त्यसमा साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानका सबै पुस्तक राख्न २०३८ सालमा साझा प्रकाशनका तत्कालीन अध्यक्ष क्षेत्रप्रताप अधिकारी र महाप्रवन्धक कृष्णचन्द्र सिंह प्रधानलाई पत्र लेखेँ । उहाँहरुले ढिला गरेपछि म नेपाल आउँदा मदन पुरस्कार गुठीका प्रमुख कमलमणि दिक्षितलाई भेटेँ । प्रज्ञाका तत्कालीन उपकुलपति माधव घिमिरे र सदस्य सचिव विजय मल्लसँग कुरा राखेँ । प्रायः सबै जसोले नेपाली पुस्तक पठाउन गाह्रो भएको र राजनीतिक तवरबाटै कुरा गर्नुपर्ने बताउनुभयो । त्यसपछि उहाँहरुले कति पहल गर्नुभयो, थाहा भएन ।

त्यति मात्र होइन, भारतकै इन्ट्रेस्टमा काठमाडौंमा वीपी कोइराला नेपाल-भारत प्रतिष्ठान खुल्यो । यसको उद्देश्य नै दुई देशका साहित्यलाई प्रवर्धन गर्ने हो । त्यसमार्फत पनि कमलमणि दिक्षित लगायतले नेपाली पुस्तक भारतमा पठाउन भारत सरकारलाई स्मारक पत्र पठाउने पहल भयो । तर, म सामान्य मानिस, कुनै दलसँग आबद्ध नभएकाले ठूला नेतासम्म मेरो पहुँच पुगेन । पहुँच भएकालाई बाटो पनि देखाएँ । कतिसम्म भने २०५२ सालतिर बुढानीलकण्ठको पार्क भिलेजमा ३ दिने नेपाल-भारत आख्यान गोष्ठी भएको थियो । त्यसमा भारतका सबै ठूला र चर्चित साहित्यकारहरु आउनु भएको थियो । उहाँहरुलाइर्ं नेपाली साहित्य भारतमा जान रोक लागेको बताएपछि उहाँहरु आफैले भारत सरकारलाई पत्र लेखेर नेपाली साहित्यलाई भारतमा निर्वाध प्रवेश गर्न माग गरेका थिए । तुरुन्तै सुनुवाइ हुने कुरा बताइएको थियो । तर, ती सबै काम अध्याँरोमा ढुंगा हाने सरह भएको छ । त्यहाँका नेपालीलाईमस्तिष्कको सबैभन्दा पोषक तत्व रोकेर गरेको अपराधको दण्ड कसले दिने ? यो रोग अहिले पनि जस्ताको तस्तै छ ।

उताबाट पहल नभएको हो कि ?

उताका विश्वविद्यालयका धेरै जसो पुस्तक साझाले छापेको थियो । यताबाट पुस्तक जान छाडेपछि कतिपय उतै छापिन थाले । कतिपय फोटोपीका भरमा काम चल्ााउन थालिएको छ । पाठ्यक्रममा नेपालका भन्दा भारतीय नेपाली साहित्यकारका पुस्तक पर्न थाले । त्यो स्वभाविक पनि हो । पहिले नेपाली भाषा र साहित्य प्रति जुन भोक र आफ्नोपनको आशा थियो, त्यो कम भएको कि भन्ने लाग्छ । नेपाल सरकारले नै पहल नगरेपछि उताबाट मात्र खोधखोज गरिरहने कुरा पनि हुँदैन । भाषा आन्दोलनताका नेपाली लेखनमा आफ्नो पहिचानमा जस्तो गम्भीरता थियो, अहिले घटेको अवस्य हो ।

५० वर्षदेखि सम्पर्क टुटेको टुटै छ । एकपटक मैले झण्डै ३ हजार वटा रुपरेखा साहित्यिक पत्रिकाको ग्राहक बनाएको थिएँ । त्यस यता त्यस्तो पहल भएको देखेको छैन । आखिर भारत सरकारको भित्री चाहाना पनि नेपाली संस्कृृति भारतमा मासिएर जाओस् भन्ने नै हो । त्यतिमात्र होइन, नेपालका नेपाली र भारतका नेपालीमाझको सम्पर्क सुत्र नै विछिन्न भएर जाओस् भन्ने मनशाय नै हो । नेपाली भाषा, संस्कृति र पहिचान नामेट होस् भनेरै जुन डिजाइन भारत सरकारले गरेको थियो, त्यो हाम्रो नालायकीपनले क्रमशः पूरा हुँदैछ ।

अब कुनै सम्भावना छैन ?

जबसम्म भारतमा नेपाली भाषा बाँच्छ, नेपाली साहित्य र संस्कृति मेटिन सक्दैन । ढिला भैसक्यो तर, खत्तमै भएको छैन ।
एकेडेमीमा जानेहरुमा न भिजन छ, न काम गर्ने जाँगर छ । न आँट नै छ । तै पनि अहिलेको स्थिर सरकारले यो विषयलाई गम्भीरतापूर्वक लियो भने त्यो पूरा हुन सक्छ ।

अहिले त नेटको जमाना छ । नेपाली साहित्य इन्टरनेटमार्फत संसारभर पुर्‍याउन सकिन्छ र भारतीय नेपालीहरुलाई पनि त्यसतर्फ आकषिर्त गर्न सकिन्छ भन्ने लाग्दैन ?

त्यसका लागि पनि भिजन, योजना र काम गर्ने इच्छाशक्ति हुनुपर्छ । प्राज्ञहरुमा त्यो छैन । जब प्राज्ञहरु जागिर मात्रै पचाउने खेलमा लाग्छन्, देश उधोँगति लाग्छ । देश मास्नु छ भने त्यो देशको कला, संस्कृति र भाषा भासिदिनु पर्छ । भारतमा आफ्नै नेपाली भाषीहरुमा आफ्ना कुरा लैजान सकेका छैनौं तर देशभित्र सबै खालका विदेशी कुरा निर्वाध प्रवेश भइरहेको छ । यसबाट पनि हाम्रो भविष्यको अनुमान लगाउन सकिन्छ ।

तै पनि म निरास भैहालेको छैन । किनभने अहिले नेपाली जाति संसारभरि छरिएको छ र सबै तिर यस किसिमको जागरुकता पनि बढिरहेको छ । अब कुनै पनि शक्ति लागेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई निमिट्यान्न पार्न सक्छु भन्ने दीवास्वप्न नदेखे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment