Comments Add Comment

हजुरबा भए हरिवंश, नाति हेर्न अमेरिका जाने

'नातिको अनुहार मसँग मिल्छ'

बितेको शनिबारले वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यलाई दोहोरो खुशी दियो । उनले निर्माण गरेको फिल्म शत्रु गतेले ५१ दिनको उत्सव मनाएकै दिन उनी हजुरबा बने । निश्चय पनि फिल्मको सफलताभन्दा नाति जन्मेको खुशी उनका लागि धेरै ठूलो थियो ।

शनिबार दिउँसो ४ बजेतिर शत्रु गतेको ५१ दिनको उत्सवमा सहभागी भइरहँदा अमेरिकाबाट छोरा त्रिलोकले हरिवंशलाई फोन गरेका थिए । आफु बाबु बनेको खबर छोराले दिएपछि हरिवंश दंग परे ।

‘हजुरबा हुँदा पनि बाबु बन्दाको जस्तै खुशी लाग्दो रहेछ,’ उनले अनलाइनखबरसँग भने, ‘भावुक भएर रुन पनि मन लाग्यो, खुशीले उपि|mन पनि मन लाग्यो । तर कार्यक्रममा भएकाले सम्हालिएँ ।’

कार्यक्रममा उनले आफू हजुरबा बनेको खबर सबैलाई सेयर गरेका थिए । त्यसपछि लगातार बधाई खाइरहेका छन् । तपाईंलाई नातिको रहर थियो कि नातिनीको ? भन्ने अनलाइनखबरको प्रश्नमा हरिवंशले जवाफ दिए, ‘नाति हुन्छ भन्ने पहिले नै थाहा भइसकेको थियो । मलाई त च्वाइस नै भएन ।’

त्रिलोकले उनलाई नातिको फोटो पनि तुरुन्तै पठाइदिए । उनले नातिको अनुहार नियालेर हेरे । आफूसँग मिलेको जस्तो लाग्यो । ‘ठूलो भएपछि कस्तो हुन्छ थाहा छैन, अहिले चाहीँ नातिको अनुहारमा आफ्नै झलक देखेँ,’ उनले भने ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका त्रिलोकले दुई वर्षअघि अमेरिकी युवती जोयसँग उतै बिहे गरेका थिए । बिहे गरेयता दुईपटक उनले बुहारीलाई लिएर नेपाल आएका छन् । केही महिनाअघि हरिवंशका कान्छो छोरा मोहितको बिहेमा उनीहरु आएका थिए ।

त्रिलोक र जोय अमेरिकाको बोस्टनमा बस्छन् । जोयका माइती अर्कै राज्यमा छन् । नाति स्याहार्नका लागि जोयकी आमा आएकी छिन् । अहिले नवजात शिशु र आमा स्वस्थ रहेको हरिवंशले जानकारी दिए ।

फोटोमा हेरे पनि हरिवंशलाई आफ्नो पहिलो नाति प्रत्यक्ष भेट्न हतारो भइरहेको छ । उनी आगामी जून महिनामा पत्नी रमिलासहित अमेरिका जाने योजनामा छन् ।

‘एक महिना उता बिताउने गरी जानेछु,’ हरिवंशले भने, ‘महंगो टिकट काटेर गइसकेपछि अलि दिन त बस्नैपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment