Comments Add Comment

मोदीको स्वागतमा जनकपुरमा कति खर्च भयो ? मेयर भन्छन् : अब हिसाब खोज्छौं


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसध्यामा जनकपुरमा २० वर्षमा नभएको विकास २० घण्टाभित्रै भयो ।

रातारात सडकका खाल्डाखुल्डी पुरिए, विमानस्थलदेखि जानकी मन्दिर तथा रंगभूमि मैदानसम्म जाने मुख्य सडकको कायापलट भयो । समग्र मधेसकै सबैभन्दा खराब शहर बनिसकेको जनकपुरले आंशिक रुपमा भने पनि मोदी भ्रमणका कारण चोला फेरेको छ ।

आखिर चाहृयो भने त सम्भव हुँदोरहेछ ? के जनकपुरले यो विकासलाई कायम राख्न सक्छ ? जनकपुर उपमहानगरका मेयर लालकिशोर साहसँग अनलाइनखबरकर्मी श्रवण देवले गरेको कुराकानी :  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण सफल भयो होइन ?

अजीव किसिमको अनुभूति भयो । कार्यक्रम गर्न ठूलो चुनौती थियो । कार्यक्रम हुन्छ कि हुँदैन भनेर लागेको थियो । धेरै जिम्मेवारीपूर्ण कार्यक्रम थियो ।

मौसमको प्रतिकुलता थियो तर, हामीले सफल कार्यक्रमको रुपमा मोदीको भ्रमणलाई लिएका छौं । गौरवान्वित महसुस गरिरहेको छु । आत्मगौरव, आत्मसम्मान जनकपुरबासी, प्रदेश र संघीय सरकारले कायम राख्न सक्यौं ।

कत्तिको चुनौतीको सामना गर्नुपर्‍यो ?

छोटो समयमा धेरै काम गर्नुपर्ने थियो । वैशाख ८ गते संघीय सरकार र भारत सरकारको उच्चस्तरीय प्रतिनिधिहरु आएर छलफल गर्नुभएको थियो, त्यही बेला प्रधानमन्त्री मोदी भ्रमण हुने थाहा पाएँ । यसअघि अनौपचारिक कुरा भएको थियो संघीय सरकार र भारतीय दूतावासबाट ।

यो छलफलसम्म अस्तव्यस्त अवस्था थियो । विस्तारको काम भइरहेको सडक भताभुंग अवस्थामा थियो । नालाहरु ज्ााम थियो । फोहोर र दुर्गन्ध व्याप्त थियो । यति समस्याका वावजुद पनि हामी एउटा नेटवर्क तयार गर्‍यौं । कर्मचारी, नगरपालिका बोर्डको बैठक बसेर हामी २४ औं घण्टा काम गर्ने निर्णय गर्‍यौं ।

८ गतेदेखि २८ गतेभित्र तीन पटक ठूलो हावाहुरी र वषर्ा भयो । शुरुमा मोदीको हेलिकप्टर यात्रा तय थियो । तर, वैशाख १८ गते नेपाल र भारतको उच्चस्तरीय टिम आएर विमानस्थलमा नै ओर्लने र छाटो बाटो भएर ल्याउने छलफल भयो । त्यहीँ अनुरुप राम चोक हुँदै ल्याउने निर्णय गर्‍यौं । १८ गतेदेखि अहोरात्र काम भइरह्यो । तर, १९ गते बिहान पुनः बर्षा भएपछि सडक बनाउने काम अवरुद्व भयो ।

तथापि पनि हामी थाकेनौं, कामलाई निरन्तरता दिइरहयौं । २६ गते पुनः हावाहुरी र पानी आएपछि गेट भत्कायो, धेरै ठाउँमा काम अवरुद्व गर्‍यो ।

अर्काे चुनौती भनेको संघीय र प्रदेश सरकारसँग समन्वय गर्न पनि देखियो । पहिलो पटक संघ प्रदेश र स्थानीय सरकार बनेको छ । कसरी समन्वय गर्ने भन्ने कुराको जानकारी पनि भएन । समय कम भएकाले मिथिला पेन्टिङका लागि बाहिरबाट कलाकारहरुलाई बोलाउनुपर्‍यो । समस्या जतिसुकै आए पनि हरेक निकायको सहयोग भएकाले समयमै काम सम्पन्न गर्न सक्यौं ।

यो सबैले सरकार र राज्यले चाहने हो भने रातारात विकास सम्भव रहेछ भन्ने देखायो । अब यसले निरन्तरता पाउँछ ?

हेर्नुस्, विशेष परिस्थितिको समयमा स्रोत साधन, म्यानपावरको हिसाबले कति काम गर्न सकिन्छ त्यसमा भर पर्ने कुरा हो । तर, दृढ इच्छा शक्तिले काम हुन्छ भने लक्ष्य प्राप्ति सहज रुपमा गर्न सकिन्छ ।

मैले आफ्नो जीवनमा पहिलो पटक चुनौतीको सामना गर्दै काम गरेँ । यो राज्यको काम थियो । राज्यको काम गर्दा समन्वय गर्नुपर्ने हुन्छ ।

संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्नु चुनौती थियो । प्रदेश सरकार त यहीँ थियो तर, संघीय सरकारको विगतको व्यवहारले चिन्तित बनाएको थियो । तर, केपी ओली नेतृत्वको संघीय सरकार एकदमै सकारात्मक सहयोग गर्‍यो ।

यो बीचमा धेरै कुरा सिकें । अहिले आत्मविश्वास बढेको छ । २४ घण्टामा १८ देखि २० घण्टासम्म काम गरेको छु । तथापि अहिलेको कामको रफ्तार निरन्तर यस्तो नरहन पनि सक्छ । जब नेतृत्व पंक्तिमा रहेको जनप्रतिनिधि काम गर्न अगाडि बढ्छ, स्रोत, साधन र म्यानपावरले पनि साथ दिँदोरहेछ । मैले महसुस गरेको छु, आँट गरे, संकल्प गरे काम हुँदोरहेछ ।

भनेको, जनकपुरमा बाँकी कामहरु पनि यही गतिमा हुन्छ ?

हजारौं घरहरु टुटेका छन् । सडक निर्माण गर्नुछ । सडकको दुबैतिर २/२ मिटरको पेटी बनाउनुछ । पेटीबाट विजुलीको पोल हटाउनुछ ।

सोलार लाइट लगाउनुछ । अन्डरग्राउण्डमा रहेको टेलिफोनको केबुल मिलाउनुछ । काम धेरै छ । विमानस्थलदेखि रेल्वे स्टेशनको चार किलोमिटर सडकको काम ७० प्रतिशत भइसकेको छ ।

मुरलीचोकदेखि भ्रमपुरा चोकसम्मको ८० प्रतिशत काम भइसकेको छ । बाँकी २७ किलोमिटर सडकको काम अहिलेसम्म ५० प्रतिशत भइसकेको छ । यो कामहरुलाई तीव्रता दिन्छु । किनभने बषर्ा आउँदा काम हुन सक्दैन ।

सरसफाइलाई पनि निरन्तरता दिन्छु । ट्राफिक धेरै अस्तव्यस्त हुन्छ । पार्किङका लागि गृहकार्य भइसकेकाले त्यसलाई पनि व्यवस्थित गर्छु । यसका साथै बाह्रबिघासहितका सार्वजनिक स्थलहरुको व्यवस्थापन गर्नुपर्नेछ ।

संसारको एउटा पहिचान हुने ठाउँ जानकी मन्दिर भएको ठाउँलाई व्यवस्थित गर्नु जरुरी छ । नाला र सडकलाई पहिला कम्प्िलट गर्छु । भइरहेको काम सफलतापूर्वक सम्पन्न भए मात्र अन्य कामहरु ल्याउन सकिन्छ ।

धेरै काम बाँकी नै रहेछ, मोदीको भ्रमणका क्रममा रातारात बनेको सडक फेरि भत्काउनु पर्ने त होइन ?

जिरो प्वाइन्टको जनक मन्दिरदेखि जानकी मन्दिर हुँदै रमानन्द चोकसम्म अन्डरग्राउण्ड गरेर पिच सडक बनाउनुथियो । यसो गर्दा समय लाग्थ्यो । तत्काल यो सम्भव थिएन ।

विश्वकै पाँच शक्तिशाली प्रधानमन्त्रीमध्ये एक मोदीज्यू यहाँ आइरहनुभएको थियो र, यो सडक नै जानकी मन्दिरसम्म आउने मुख्य सडक थियो । त्यसैले तत्काल पिच गरियो । अब यसो गर्दा अली बढी खर्च हुन्छ । तर, काम त्यहीं तरिकाले गर्नु जरुरी छ । यहाँ मात्रै तोड्नुपर्ने अवस्था आउन सक्छ ।

पेन्टिङमा प्रयोग भएका रंगहरु केशल्या रंगको प्रयोग गरिएको छ । जुन स्थायी रंग हो । अरु सबै कामहरु राम्रै भएको छ ।

रातारात भएको कामको खर्च चाहिँ कति भएछ ?

खर्च यति भयो कि उति भयो भन्न सकिन्न । प्राविधिकहरुको समितिहरु बनेको छ । जनप्रतिनिधिका पनि समिति बनेको छ । स्रोत साधनको कमीका कारणले कार्यक्रम प्रभावित नहोस् त्यसमा हामी सचेत थियौं । भ्रमण भर्खर सम्पन्न भएको छ, अब के कति खर्च भयो बुझ्छौं ।

संघीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्वता जनाएको छ । तर, धेरै काम आफूले गर्नुपर्ने काम नै थियो । जस्तो मिथिला पेन्टिङ गर्ने निर्णय नगरपालिकाकै योजनामा थियो । यो गराउनुपर्ने नै थियो । पण्डाल बनाउने काम प्रदेश सरकारको थियो । हामीले पेन्टिङबाहेक सरसफाइमा तिब्रता दियौं ।

मोदीज्यूको सवारीका कारण बजेट खर्च गरियो भन्ने कुरा म बुझिदनँ । मैले आफ्नै योजना अनुसारको बजेटबाट खर्च गरेँ ।

अनि सडकको काम कसले गर्‍यो त ?

विमानस्थलदेखि मुरली चोक र मुरली चोकदेखि भ्रमपुरा चोकसम्मको सडक बनाउने परियोजना छ आईयुडीजीपी । यो सडकमा अण्डरग्राउण्डको काम भइसकेको छ । सडक पेटीको काम हुनेछ । यो सडकको काम अघि बढिरहेको थिएन अवरोधका कारण । मोदी आउने चर्चा चलेको केही दिनअघि मात्रै अवरोध हटेको थियो । यो परियोजनाको निर्धारित काम हो ।

रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको काम हामीले गराएका छौं । यसमा संघीय सरकारले धेरै सदासयता देखायो । अन्य ठाउँमा पनि खर्च भएको छ । यसबारे संघीय सरकारलाई लेखेर पठाएका छौं ।

मोदीको भ्रमणमा त राम्रो सहयोग भएछ केन्द्रबाट । अब विकास गर्दा पनि त्यस्तै सहयोग रहला नि ?

संघीय सरकारको सहयोग रहेन भने काम गर्न समस्या छ । हामीले गाउँ, नगरको विकास गरेनौं भने देशको विकास असम्भव छ । धेरै लामो रिक्ततापछि स्थानीय सरकार आएका छन्, प्रदेश र संघीय जनप्रतिनिधिहरु छन् ।

पाँच बर्षको यो समयको सदुपयोग गर्दै संरचनालाई चुस्त दुरुस्त गर्न तीनै तहको सरकारले काम गरेन भने विकास असम्भव छ । जनकपुरको विकासको मामिलामा जसरी संघीय सरकार सकारात्मक रह्यो, त्यसलाई त निरन्तरता दिनैपर्छ । यो हुन्छ भन्ने मैले विश्वास लिएको छ ।

हिजोसम्म संघीय सरकार मधेशीको मामिलामा सकारात्मक थिएन । तर, मधेशको धर्ती जनकपुर नेपालको भूगोल हो भन्ने कुरा बुझ्नैपर्छ । हाम्रो प्रधानमन्त्रीले राजकीय भ्रमणको निमन्त्रणा दिएपछि त मोदी आउनु भयो नि Û यसैले अहिलेको संघीय सरकार सकारात्मक छ भन्ने मलाई लाग्छ ।

अन्तिममा मोदीको नागरिक अभिनन्दनमा हजारौंको संख्यामा जनता उतार्नुभयो, यो सफलता नै मान्नुपर्छ । तर, गाउँगाउँबाट आएका जनताले पानीसमेत पिउन पाएनन् भन्ने गुनासो आयो नि ?

नागरिक अभिनन्दन कार्यक्रम हाम्रो थियो । तर, पण्डाल बनाउनेदेखि पानी दिने जिम्मेवारी प्रदेश सरकारको थियो । शुरुमा प्लाष्टिकको पाउच बनाएर २५/३० हजार लिटर पानी रंगभूमि मैदानमा राख्ने कुरा भएको थियो । प्रदेश सरकारले योजना बनाएको पनि थियो ।

तर, कहाँ त्रुटी भयो थाहा भएन । नगरपालिकाको जिम्मेवारी भएको भए हामीले जसरी पनि व्यवस्थापन गर्थ्यौं । पानी नदिनु त्रुटी भएको छ, कमी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment