२ जेठ, काठमाडौं । संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने भनी सरकारलाई प्रश्न गरेकी हुन् ।
‘हामी वामपन्थीहरु त अध्ययनशील हुन्छौं, प्रशिक्षण लिउँला, तर त्यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’ उनले भनिन् । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध संघर्ष गरिरहेको अभिव्यक्ति दिएका थिए ।
मोदी आएका बेला जनकपुरमा नेपाली राष्ट्रिय झण्डाको आकार र रङ थाहा नपाउने कर्मचारीलाई मात्र नभइ मुख्यमन्त्रीलाई समेत स्पष्टीकरण सोध्नुपर्ने सांसद पालले बताइन् ।
राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टीका टिप्पणी भइरहेको भन्दै उनले तत्कालिन समयमा नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्मसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गरिन् ।
सांसद छक्कबहादुर लामाले हुम्लामा सडक सुविधा तत्काल पुर्याउन सरकारको ध्यानाकर्षण गराए ।
सार्वजनिक सुरक्षा ऐनको शिकार तल्लो वर्गका मात्रै पर्ने गरेको र माथिल्लो वर्गलाई नछोएको भन्दै उनले खारेज गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने ‘यो राज्य नर्क हो कि के हो ? सार्वजनिक ऐनलाई खारेज गर्नुपर्छ । यो ऐनको शिकार निमुखा मात्रै हुने गरेका छन्, पुलिसलाई मन नपर्ने वित्तिकै सार्वजनकि मुद्दा लगाउने काम भएको छ ।’
प्रतिक्रिया 4