Comments Add Comment

बुटवल सामुदायिक वनमा समानान्तर समिति, कार्यालयमा दुईटा ताला

१३ जेठ, बुटवल । बुटवल सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन सम्बन्धी विवाद उत्कर्षमा पुगेको छ ।

राजनीतिक आवद्धताका आधारमा वामपन्थी र कांग्रेस निकट उपभोक्ताले छुट्टाछुट्टै कार्यसमिति चयन गरी आफूलाई आधिकारिक दावी गरिरहेका छन् ।

विवादकै कारण वन उपभोक्ता समूहको कार्यालयमा वामपन्थी पक्षले तालाबन्दी गरेको छ । यसअघिका अध्यक्ष माधव प्रधानको नेतृत्वमा गठिते कार्यसमितिलेसबै प्रक्रिया पूरा गरेर नेतृत्व चयन गरेको प्रतिवेदनसरकारी निकायमा पेश गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र निकट उपभोक्ताहरुले रवीन्द्रगोपाल लाकौलको नेतृत्वमा गठन गरेको कार्यसमिति वैधानिक रहेको दावी गरेको छ । गत चैत १० गते सम्पन्न १३ औं साधारणसभा तथा छैठौं अधिवेशनमा भएको विवादका कारण दुई वटा कार्यसमिति बनेका हुन् ।

अधिवेशनका क्रममा प्रधान नेतृत्वको कार्यसमितिले पेश गरेको वाषिर्क र आर्थिक प्रतिवेदन अस्वीकृत भएपछि विवाद बढेको हो ।

अधिवेशनमा उपभोक्ताको कोरम संख्या नपुगेको भन्दै प्रधान पक्षले वैशाख ८ गते अधिवेशन आहृवान गर्‍यो भने लाकौल पक्षले सोही अधिवेशनलाई निरन्तरता दिंदै लाकौलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो ।

प्रधान पक्षले वैशाख ८ गते पुनः अधिवेशन गरेर निवर्तमान अध्यक्ष माधवप्रसाद प्रधानकै नेतृत्वमा कार्यसमिति गठन गर्‍यो ।

दुई समूहले संस्थाको नाम र छाप पनि अलग अलग नै बनाएका छन् । प्रधान नेतृत्वको समितिको नाम र छाप पुरानै प्रयोग गरेको छ भने लाकौल नेतृत्वको कार्यसमितिले नाम र छाप छुट्टै बनाएको छ ।

दुबै समितिले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई छुट्टाछुट्टै नामका दुईथरि प्रमाणपत्र वितरण गरेका छन् । प्रधान नेतृत्वको कार्यसमितिले प्रेमलाल उदासको संयोजकत्वमा निर्वाचन समिति गठन गरेेको थियो भने लाकौल पक्षले छविलाल नेपाल संयोजक रहेको समिति गठन गरेर निर्वाचन गराएको थियो ।

चैत १० गते भएको अधिवेशनमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी प्रमुख अतिथि थिए ।

जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख वन अधिकृत रोमराज लामिछानेले बुटवल सामुदायिक वनमा देखिएको विवादबारे सेक्टर वन कार्यालय बुटवलका प्रमुख यज्ञमुर्ति खनाल र इलाका वन कार्यालय तामनगरका प्रमुख रामबहादुर सिलवालले तयार पारेको प्रतिवेदन अध्ययन गरेर एक दुई दिनमै निर्णय लिइने बताए ।

लाकौल नेतृत्वको कार्यसमितिले आइतबार पत्रकार सम्मेलन गरी प्रधान नेतृत्वको कार्यसमितिले आर्थिक हिनामिना गरेको, खर्च र आम्दानी पारदर्शी नभएको र विधान अनुसार नचलेकाले साधारणसभाको वहुमतले अध्यक्षको प्रतिवेदन अस्वीकार गरेर नयाँ कार्यसमिति बनाएको दावी गरेको छ ।

पत्रकार सम्मेलनमा वडा नंं २ का अध्यक्ष रमेश नेपाल, निर्वाचन संयोजक छवि नेपाल, अध्यक्ष रवीन्द्रगोपाल लाकौललगायतले सम्बन्धित नियमनकारी निकायले विवादको छिनोफानो छिटो गरिदिनुपर्ने माग गरे ।

प्रधानले भने स्थानीय तहको निर्वाचनमा दुबै वडामा एमालेले चुनाव जितेकाले त्यसैको दम्भमा सामुदायिक वनमा हस्तक्षेप गरेको आरोप लगाए । उनले आफ्नो नेतृत्वको कार्यसमिति गठन सामुदायिक वनको विधानअनुसार भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment