Comments Add Comment

गगन गर्जने मात्र होइन बर्सिउन् पनि

सामान्य रुपमा लोकतन्त्रको सुन्दरता भनेको सरकार चलाउने र सरकारलाई खबरदारी गर्ने प्रतिपक्ष नै हो । जसले पुरै देशको नागरिकको संसदमा प्रतिनिधित्व गरिरहेका हुन्छन् । जसमा सरकारको शक्ति सन्तुलन र नियन्त्रणको पाटो पनि रहेको हुन्छ ।

लोकतान्त्रिक मुलुकका लागि सामान्यतः बहुमत ल्याउनु भनेको कुनै एक अमुक पार्टीलाई मुश्किलको पहाड नै हो । त्यसैले अन्तर्राष्ट्रिय राजनीतिमा अपवादमा बाहेक चुनावपूर्वका गठबन्धनहरुद्वारा एकै चुनावी नारा लिएर बहुमतको लागि कसरत गरिरहेका हुन्छन् ।

यस पटकको प्रदेश तथा संघीय संसदको चुनावको पूर्वसन्ध्यामा बनेको वाम गठबन्धनलाई झण्डै दुई तिहाइको बहुमत जुट्यो । हालको सरकारले तीन चौथाइको समर्थनका साथ जनताको समर्थन प्राप्त गरेको छ ।

यसरी गणितको हिसाबले मात्र हेर्दा एक चौथाइमा रहेका प्रमुख प्रतिपक्ष कांग्रेसलगायत अन्य राजनैतिक दलहरु प्रतिपक्षको भूमिकामा निरिह रहेको देखिन्छ ।

प्रतिपक्ष नै नभएको जस्तो देखिने संसदमा प्रतिपक्षमा केही युवाहरुको विश्वास पात्रका रुपमा रहेका छन् गगन थापा । उनले संसदमा यहाँ प्रतिपक्ष पनि छन् है भनी देखाउन सक्छन्, सरकारका गलत कुरामा खबरदारी गर्छन् भन्ने आश कांग्रेस बाहिरकालाई समेत लागेको छ ।

प्रसंग वैशाख २८ र २९ को भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि अभिव्यक्त भएका गगनका गर्जनको बिषय हो । जसले उनमा दूरदृष्टि नभएको हो वा कांग्रेसको मत आफूतिर केन्दि्रकृत गर्न प्रेरित भएको हो भन्ने द्विविधा देखिन्छ ।

भाइरल भएको त्यस भिडियो हेर्दा लाग्यो के उनी सस्तो लोकप्रियता वा विरोधको लागि मात्र विरोध पो गर्न थाले कि ?

उनका गर्जनहरुमा नेपाल देशको राजनीति देखिएन मात्र कांग्रेसको राजनीति देखियो त्यो पनि आफूतिर ध्यान केन्दि्रकृत गर्नका लागि ।

भारतको प्रधानमन्त्रीको सुरक्षार्थ भारतीय सेना नेपाल आएको कुरा यो पहिलो घटना थिएन । यो भन्दा अघिको दुई भ्रमणमा पनि आएका थिए ।

मोदीको पहिलो २०१४ को भ्रमणमा त अझ उनको गाडी यति यान्त्रिक थियो कि उनी हिँडेको ५०० मिटर वरपरसम्म केही समयका लागि मोबाइलकोे सेवा नै अवरुद्घ हुन्थ्यो ।

ठूला राष्ट्रले उनीहरुका तुलनामा साना अझ तत्कालीन परिस्थितिको नेपाल जस्तो अस्थिर राष्ट्रलाई गर्ने ब्यवहार नै त्यस्तै हुन्छ अन्तर्राष्ट्रिय राजनीतिमा पनि । उदाहरणकै रुपमा अमेरिकी राष्ट्रपति बाराक ओवामाको भारत भ्रमणका बेला पनि भारतले यो समस्या भोगेको भनी दिल्ली विश्व बिद्यालयका एक प्रोफेसरले अनौपचारिक प्रसंगमा सुनाएका थिए ।

त्यहाँ पनि सुरक्षाकर्मी लिएर आएका थिए अमेरिकी राष्ट्रपति । गगनको गर्जनले भनेको कालापानीको जस्तै के भारतले पनि अमेरिकी विस्तारवादलाई प्रश्रय दिएको थियो र त्यो भ्रमण ?

शक्तिशाली सरकार भएको बेलामा नेपालले भारतसँग गर्नुपर्ने ब्यवहार कस्तो हुनुपर्ने थियो यस बारेमा गगनले उल्लेख नगर्नुले पनि पनि बोक्रो कुरा गरेर जनताको सहानुभूति मात्र लिन चाहन्छन् कि जस्तो देखिन्छ । जुन दीर्घकालीन राष्ट्र हितमा छैन ।

गगनको गर्जन नेपालले छिमेकी मुलुकबाट कसरी बढी भन्दा बढी लाभ लिने भन्ने राय दिने र सरकारलाई प्रतिपक्षी बेन्चबाट मार्ग दर्शन गराउने अभिप्रायले आएको देखिएन । जुन आओस् भन्ने चाहेका थिए गगनलाई मन पराउने धेरै नेपालीले ।

समयसापेक्ष कुरा गर्न नसक्नु गगनलगायत कांगे्रस नेतृत्वकै कमजोरी हो । किनकी कांग्रेसका नेताहरुले समयको महसुस गरिदिएको भए, समयमै नाकाबन्दी भनिदिएको भए, चुनावको ख्याल गर्दै प्रहरी संगठन र न्यायपालिकामाथि आक्रमण नगरेको भए आज चुनावी परिणाम अर्कै हुन सक्थ्यो कि !

नाकाबन्दीको समयमा त्यसरी नै सानेपाबाट गर्जिदिएको भए सायद अहिले जसरी संसदको ३ मिनेटमा गर्जिएर कांग्रेस पनि छ है भनेर सम्झाइरहनु पर्दैन थियो होला ।

गगनको गर्जन हेर्दा उनी विक्षिप्त छन्, उनलाई हतार छ, उनलाई पीडा छ कांग्रेसको यो अवस्थाको पराजय, कम्युनिस्टको पार्टी एकीकरण र एक प्रकारको सरकारको लोकप्रियताप्रति ।

केही वर्षअघि उनले नेपालको राजनीतिक परिस्थिति आँकलन भनेका थिए कि म ५५ बर्षको उमेर सम्म मात्र राजनीति गर्छु, त्यसपछि अन्य माध्यमबाट समाज सेवा गर्छु भनेर ।

उनको विश्लेषण थियो कि हिजोकै जसरी कांग्रेस पहिलो पार्टी हुनेछ र पालो कुर्दै आफ्नो हातमा नेतृत्व आइपुग्दा आफू पनि बुढो भएर वर्तमानका नेतृत्वजस्तै आलोचित हुनेछु भनेर । त्यसैले कांग्रेस नेतृत्वलाई दबाब दिन र आफू लोकपि्रय भएको बेला नेतृत्व लिन चाहेको कुरा १३ औं महाधिवेशनमा दिएको उम्मेदवारीबाट पनि बुझ्न सकिन्छ ।

अहिले आएर गगनको त्यो विश्लेषण गलत सावित भइसकेको छ । कांग्रेस निरिह अवस्थामा रहेको छ । पुरै ५ बर्षका लागि बहुमतको सरकार बनेको छ सरकारले आफूले बनेको कामको केवल ५० प्रतिशत मात्र गरे पनि कांग्रेस झन् कमजोर देखिन सक्छ ।

कांग्रेसकै नेताहरुले फुटेर भए पनि नेतृत्वलाई दवाब देउ भन्ने खालका लेख लेख्नुले पनि त्यो दर्शाउछ ।

गगन कांग्रेसलाई आगामी निर्वाचनमै अहिलेको भन्दा निकै शक्तिशाली रुपमा ल्याउन तम्सिएको देखिन्छ । जुन उनको विभिन्न आमसभामा भाषण गर्दाको अभिव्यक्तिमा पनि प्रष्टिन्छ । अरु १५ लाख मतदाता थप्नु छ भनेर । जसबाट उनले आगामी निर्वाचनको परिणाम देखिसके, समय घर्किसकेको देखिसके भन्ने भान हुन्छ ।

यस्तो परिस्थितिमा झन उनले समय सापेक्ष कुरा गर्नुपर्नेमा अझै आफ्नो साख खस्किने कुरा नगरुन् भन्ने शुभचिन्ता छ धेरै मतदाता तथा अन्य कांग्रेसी साथीहरुको पनि । यो अवस्थामा देशको सुशासनमा,सुव्यवस्था तथा समृद्घमिा जोड दिनु नै समयको माग हो, सक्षम सरकार भएको अवसरमा नेपाली जनतालाई माथि उठाइहालौं, जे जति हुन्छ प्रगति गरि हालौ भन्ने सोच्नु नै अहिलेको माग हो ।

रचनात्मक प्रतिपक्षीले यस्तो बेलामा समृद्घकिो नयाँ खाका र सरकारले गरे भन्दा फरक तरिकाको मार्गचित्र तयार गरी सरकारलाई दिई मार्गदर्शन गर्नु नै समयको माग हो । किनकी समयको नियम नै एक निरन्तर बगिरहने खोला जस्तो हुन्छ, सोही अनुसार बग्न सकिएन भने समयले आफूलाई टाढा छोडिसकेको हुन्छ ।

त्यसैले सही समयमा सही निर्णय गर्न सकिएन भने पछि परिनेछ भन्ने ज्ञान उनीमा नभएको ठान्नु हुदैन । किनकी चुनावी सभामा घाइते भइ सेतो फेटा बाधेर गरेको सम्बोधनका कारणले शक्तिशाली गठबन्धन र कडा प्रतिस्पर्धीलाई पनि उछिने ।

त्यतिबेलाको समयको माग र सहानुभूति लिन सफल भएका थिए उनी । चाहे त्यो निवाएचन परिणामको लागि मात्र लक्षित किन नहोस् तर त्यतिबेलाको समय के गर्ने भनी लिएको निर्णय थियो त्यो र यसै प्रकारका सहायक मतका कारण उनी निर्वाचित भएका थिए ।

त्यसैले आज शक्तिशाली सरकार भएको समयमा जनतालाई फाइदा पुर्‍याउने खालको कथनी र करणीको मात्र उनी लगायत कांग्रेसलाई सुविधा छ, जसरी सरकारलाई छ ।

जनतालाइ समृद्ध बनाउने सवालमा जसरी सरकारलाई अवसर र चुनौती दुवै छ, गगनलाइ पनि त्यस्तै हो । तर संसदमा उनको गर्जनले त्यस बखतको समय र हालको समय बुझ्न कन्जुस्याइ गरेको महसुस हुन्छ ।

आजको समय भनेको सम्बन्धको नयाँ आयाम शुरु भएको समय हो भने हिजोको समय भनेको हामीले बनाएको संविधानमा असहमति जनाइ हामीलाइ नाकाबन्दी लगाइएको समय थियो । नाकाबन्दीका कारण भारतलाइ नै हानी भएको निश्कर्षका साथ स्वयं सम्बन्धको पुनर्व्याख्या गर्न आएको समय एकै परिस्थिति अनुसारको ब्याख्या सुहाउछ र?

के त्यस बखत त्यसरी अडान नलिएको भए आजको यो समय आउथ्यो ? यसरी आएको समयमा फेरि पुःन त्यो कुरा उठाउनु र फेरि चिसिनु पर्ने समय हो र अहिले ?

नेकपाका नेता योगश भट्टराईले संसदमा भनिसके कि यो प्रतिपक्षले कहीँ सरकारलाई अल्छी त बनाउदैन ? यसले प्रतिपक्षलाई झन् गर्जिने जोश भर्नु पर्छ । संसदलाई सरकारलाई गर्जनको खाँचो छ । त्यसैले गगनले गर्जिनु पर्छ तर उनको गर्जनमा नेपाली जनता प्रतिबिम्बित हुनुपर्छ न कि उनको राजनैतिक भविश्यमात्र ।

भनिन्छ ‘गर्जने बादल बर्सदैन ।’ तर नेपाली जनतालाई बर्सिने गगन चाहिएको छ । उनी बर्सिने गरी गर्जिउन् र नेपाली जनताको भलो गरुन् भन्ने शुभेच्छा छ ।

लेखक कानुन तथा राजनीतिशास्त्रका विद्यार्थी हुन्

इमेल : [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment