Comments Add Comment

सुरु हुँदैछ विश्वको सबैभन्दा लामो हवाई उडान


सिंगापुर एयरलाइन्सले विश्वकै सबैभन्दा लामो व्यवसायिक हवाई उडान सुरु गर्दैछ । सिंगापुरदेखि अमेरिकाको न्युयोर्कसम्मको उक्त उडान आगामी अक्टोबरदेखि पुनः सुरु गर्न लागिएको एयरलाइन्सले जनाएको छ ।

यो हवाई उडान १९ घण्टाको हुनेछ । तर दुःखको कुरा इकोनोमी क्लासमा यात्रा गर्न चाहनेका लागि यो उडानमा कुनै ठाउँ हुनेछैन ।

सिंगापुरको चांगी एयरपोर्टदेखि न्युयोर्कको नेवार्क एयरपोर्टसम्मको उडान १८ घण्टा ४५ मिनेटमा पूरा हुनेछ ।

यो नन स्टप उडानमा १६ हजार ७ सय किलोमिटरको दूरी पार गरिनेछ ।

स्मरण रहोस् हाल सबैभन्दा लामो उडानको कीर्तिमान कतार एयरवेजको नाममा छ । कतार एयरवेजको फ्लाइट ९२१ ले कतारको दोहादेखि न्युजिल्याण्डको अकल्याण्ड सम्मको दूरी १७ घण्टा ४० मिनेटमा पार गर्दछ ।

सिंगापुरदेखि न्युयोर्कसम्मको उडानका लागि सिंगापुर एयरलाइन्सले लंग रेन्ज एयरबस A350-900ULR  को प्रयोग गर्ने जनाएको छ । यो बिमानमा कुल १ सय ६१ यात्रु रहन सक्दछन् । यो विमानमा ६७ यात्रु बिजनेस क्लास तथा ९४ यात्रु प्रिमियम इकोनोमी क्लासमा यात्रा गर्न सक्नेछन् । एयरलाइन्सले सन् २००४ देखि २०१४ सम्म यस्तै खाले सेवा सञ्चालन गरेको भएपनि खासै नाफा नभएपछि बन्द गरेको थियो ।

यो उडानमा इकोनोमी क्लास नहुने हुँदा केवल धनीहरुका लागि मात्र काम आउनेछ । यो उडानको सुरक्षाका विषयमा केही खतरा पनि औल्याउने गरिएको छ । हालै बेलायतको लण्डनबाट अष्ट्रेलियाको पर्थसम्मको उडान हुने क्वान्टास एयरवेजका चालक दलका सदस्यहरुको स्वास्थ्य खराब बनिरहेको खबर आएको थियो । उक्त उडान १७ घण्टा २० मिनेटमा पूरा हुन्छ ।

यद्यपि, पूरा तयारी तथा अध्ययनपश्चात् विश्वकै लामो उडान भर्ने निर्णय गरिएको सिंगापुर एयरलाइन्सको भनाई छ । तथापि आर्थिक समस्याबाट गुज्रिरहेको सिंगापुर एयरलाइन्सका लागि यो सजिलो निर्णय भने नभएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment