Comments Add Comment

१९९० को भूकम्पले गएको पहिरो अझै रोकिएन, दार्चुलाका दुई गाउँपालिका प्रभावित

२२ जेठ, दार्चुला । जिल्लाको उत्तर पूर्वमा रहेको मार्मा गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई सडक सञ्चालनमा जोड्न समस्या देखिएको छ ।

मार्मा गाउँपालिका-३ मा १९९० सालमा गएको रिल पहिरोका कारण मार्मा र अपी हिमाल गाउँपालिकामा यातायात सञ्चालन गर्ने कार्य प्रभावि भएको हो । १९९० सालमा गएको भूकम्पका कारण उक्त क्षेत्रमा ठूलो पहिरो खसेको थियो ।

पहिरो पन्छ्याएर सडक सञ्चालन गरेपनि रिल पहिरो क्षेत्रमा निरन्तर ढुंगामाटो खसिरहेकोले नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।

मार्मा गाउँपालिकाको लटिनाथ हुँदै पारीबगड भन्दा अगाडि अपी हिमाल गाउँपालिका सीमासम्म सडक पुग्नै लागेपनि रिल पहिरो क्षेत्रमा खसेको पहिरो नरोकिदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो ।

पारीबगड सडकखण्ड अन्तरगत विभिन्न क्षेत्रमा पहिरो खस्ने भएकाले वर्षतमा झन समस्या हुने गरेको छ ।

अपी हिमाल गाउँपालिका र मार्मा गाउँपालिकाका स्थानीयहरु आवत्जावत् गर्ने मुख्य मोटर मार्ग बिटुले पारी-बगड सडकखण्ड अन्तरगत कच्ची भू-बनोटका कारण विभिन्न क्षेत्रमा पहिरो खस्ने गरेकाले बेला-बेला स्थानीय पैदल यात्रा गर्न बाध्य छन् । उक्त सडक सञ्चालन भएपछि मार्मा गाउँपालिका र अपी हिमाल गाउँपालिकाका स्थानीयहरुलाई सहज भएको छ । तर, नियमित सञ्चालन नहुदाँ समस्या हुने गरेको मार्माका एक स्थानीयले बताए ।

बिटुले-पारीबगड सडकखण्ड अन्तरगत पर्ने रिल पहिरो यस सडकखण्डका सवारी चालकहरुको टाउको दुखाइको विषय बनेको छ ।

मुख्यगरी वर्षातका बेला पहिरो खस्ने गरेपनि सानासाना पहिरो बाहै्रमहिना आउने गरेको स्थानीय मनोज महराले बताए । वर्षौ पहिले ठूलो पहिरो खसेको उक्त क्षेत्रमा पहिरो खसिरहने भएकाले पनि त्यस क्षेत्रको नाम नै रिल पहिरो रहन गएको बुढा पाकाहरुले बताउँछन् ।

१९९० मा आएको भूकम्पका कारण खसेको मार्मा गाउँपालिका-३ को उक्त पहिरो अहिले पनि बेलाबेला खसिरहन्छ ।

१९९० सालको भूकम्पले ठूलो पहिरो गएको र निरन्तर रुपमा पहिरो खसिरहने भएकाले उक्त पहिरोको नाम रिल पहिरो रहन गएको मार्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष अमर विष्टले बताए ।

रेल अर्थात् ट्रेन चलेजस्तै निरन्तर रुपमा पहिरो खस्ने भएकाले पनि रेल पहिरोबाट पछि रिल पहिरो भन्न थालिएको वडाध्यक्ष अमर विष्टले बताए ।

यस्तै पहिरो खसेको नजिकैको गाउँको नाम रिल भएकाले पनि रिल पहिरो नाम रहन गएको वडाध्यक्षको भनाइ छ ।

थोरै वर्षा भएपनि पहिरो खस्ने त्यस क्षेत्रमा हावा चल्दासमेत पहिरो खस्ने गरेको स्थानीयो भनाइ छ । बाह्रै महिना पनि पहिरो खस्ने भएकाले त्यस क्षेत्रमा आवत्जावत् गर्न जोखिम रहेको गाडी चालक देबसिँह कोट्टारीले बताए ।

विहान पहिरो हटाए साँझ खसिसकेको हुन्छ । यसलेगर्दा सवारीसाधन संचालन गर्न र नागरिकलाई पनि ढुक्क भएर गाडी चढ्न जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment