Comments Add Comment

विश्वकप समूह एः चुनौती, सम्भावना र यथार्थ

विश्वकप फुटबलको समूह ‘ए’ मा आयोजक रसियासँगै साउदी अरेबिया, इजिप्ट र उरुग्वे छन् । फुटबल पण्डितहरु यो सहज समूह भएको र अघिल्लो चरणमा जाने दुई टिम सजिलै अनुमान गर्न सकिने बताउँछन् ।

तर, फुटबल सम्भावनाको मात्र खेल होइन । नतिजाको आँकलन खेलाडी, तयारी र विगत हेरेर अनुमान लगाउन सकिए पनि मैदानमा हुने कुरा अनुमानभन्दा भिन्न भइदिन सक्छ ।

रसिया

रसियाले विश्वकप आयोजना गर्न अग्रसर हुँदा र अहिले विश्वकप हुनै लाग्दा समय निकै फेरिएको छ । फुटबल जगतमै उदाउँदो देशहरु राम्रा भनिएका देशविरुद्ध चुनौती बनिरहेका छन् ।

सन् २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनमा पुगेपछि रसियन फुटबलमा आशा बढेको थियो । त्यसपछिका समयमा भने त्यो अनुरुप खेल प्रदर्शन भएको छैन । सन् २००८ पछिका कुनै पनि प्रतियोगितामा रसिया समूह चरणबाट माथि पुगेको छैन ।

सन् १९९० सम्म सोभियन युनियनका रुपमा विश्वकपमा सहभागी भएको रसिया १९९४ पछि रसियन टिमका रुपमा विश्वकपमा सहभागी छ । त्यसपछिका तीन विश्वकप सन् १९९४, २००२ र २०१४ मा खेलेको रसिया समूह चरणबाट माथि पुगेको छैन । सन् १९९८, २००६, २०१० मा रसिया विश्वकपमा छनोट हुन सकेको थिएन ।

फिफा विश्व फुटबल वरियतामा पनि रसिया विश्वकप खेल्ने राष्ट्रमध्ये पुछारतिर ६६ औँ स्थानमा रहेको छ । यसैले विश्वकपको आयोजक राष्ट्र हुँदा हुँदै पनि रसियालाई कमजोर आँकिएको छ ।

मुख्य खेलाडी – इगर एकिनफिव

क्लब फुटबलमा सीएसकेए मस्कोबाट खेल्ने उनी रसियन टिमका कप्तान पनि हुन् । उनको अनुभव रसियन टिमका लागि महत्वपूर्ण छ ।

प्रशिक्षक – टनिस्लाव चेर्चेस्वोव

रसियन टिमका प्रशिक्षक चेर्चेस्वोव पूर्व खेलाडी पनि हुन् । सन् २००४ देखि विभिन्न क्लब फुटबलमा प्रशिक्षकको काम गरीरहेका चेर्चेस्वोव सन् २०१६ देखि रसियन टिमको प्रशिक्षक बनेका हुन् । उनले रसियन टिमलाई सेमिफाइनलसम्म पुर्‍याउने लक्ष्य लिएका छन् ।

साउदी अरेबिया

एसियाबाट विश्वकपमा छनोट भएको साउदी अरेबियाको यो पाँचौ विश्वकप हो । यसअघि साउदी अरेयिबा सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकपमा सहभागी भएको थियो ।

फिफा विश्व फुटबल वरियतामा ६७ औँ स्थानमा रहेको साउदी अरेबियालाई रसिया विश्वकपमा समूह चरणबाट माथि जान कठीन छ ।

साउदी अरेबिया सन् १९९४ को विश्वकपमा मोरक्को र बेल्जियमलाई हराएर अन्तिम १६ मा पुगेको थियो । त्यसपछिका विश्वकपमा साउदी अरेबियाले एक खेल पनि जित्न सकेको छैन ।

मुख्य खेलाडी – मोहम्मद अल शालवी

साउदी अरेबियन फुटबल क्लब अल नासार एफसीबाट व्यावसायिक फुटबल खेल्ने शालवी साउदी अरेबिया टिमका मुख्य खेलाडी हुन् । ३० वर्षका स्ट्राइकर शालवीले साउदी अरेबियालाई विश्वकपमा छनोट गर्न उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले विश्वकप छनोटका खेलमा १६ गोल गरेका थिए ।

प्रशिक्षक – जुआन एन्टोनियो पिजी

पूर्व खेलाडीसमेत रहेका प्रशिक्षक जुआन एक अनुभवी प्रशिक्षक हुन् । यसअघि उनले विभिन्न क्लबसँगै एक वर्ष चिली टिममा प्रशिक्षकको भूमिका निभाइसकेका छन् । उनी सन् २०१७ बाट साउदी अरेबियन टिमका प्रशिक्षक बनेका हुन् । उनले बार्सिलोना, भ्यालेन्सिया, पोर्टो र भिलारियल जस्तो महत्वपूर्ण क्लबमा खेलाडी जीवन बिताएको अनुभव प्रशिक्षणमा लगाइरहेका छन् ।

इजिप्ट

इजिप्ट विश्वकप समूह ‘ए’को बलियो टोली हो । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्ट यो पटक लयमा देखिएको छ ।

यसअघिका विश्वकपमा भने इजिप्टको नतिजा सम्झनलायक छैन । समूह चरणमै हार खाएको इजिप्ट यसपटक स्टार खेलाडी मोहम्मद सलाहका कारण पनि चर्चामा छ । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ ।

फिफा वरियतामा ४६ औँ स्थानमा रहेको इजिप्ट यो विश्वकपमा क्वाटरफाइनलसम्म पुग्ने अनुमान गरिएको छ । सलाह घाइते रहेकाले इजिप्टको विश्वकप सपनामा भने असर परेको छ ।

मुख्य खेलाडी – मोहम्मद सलाह

इंग्लिस पि्रमियर लिग क्लब लिभरपुलबाट ३६ खेलमा ३२ गोल गरेर उनले आफ्नो फुटबल कला प्रमाणित गरे । च्याम्पियन्स लिगमा १० गोल गरेका उनी रियल मडि्रडसँगको फाइनलमा घाइते हुन पुगे । विश्वकपसम्म उनी फिट हुने र दोस्रो खेलबाट मैदान प्रवेश गर्ने आशा गरिएको छ ।

प्रशिक्षक – हेक्टर कुपर

१० भन्दा धेरै क्लबमा प्रशिक्षण दिइसकेका पूर्व अर्जेन्टिनी खेलाडी कुपर सन् २०१५ देखि इजिप्ट टिमको प्रशिक्षणमा छन् । प्रशिक्षक कुपरले आफूहरु डिफेन्सिभ खेल्ने र मौका पाएको अवस्थामा आक्रमणमा उत्रने बताएका छन् । उनको यो शैलीले बलियो मानिएका देशमाथि पनि खतरा देखाएको छ ।

उरुग्वे

विश्वकपमा उरुग्वेको आफ्नै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । यसपटक अनुभवि खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो बनेको छ ।

डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज विपक्षी टिमका लागि प्रमुख चुनौती हुन् । साथै युवा मिडफिल्डर नहिटन नान्देज पनि उरुग्वे टिममा महत्वपूर्ण देखिएका छन् ।

प्रमुख खेलाडी : इडिसन काभानी र लुइस स्वोरज

इडिसन काभानी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्लब फुटबल खेल्छन् । उनले यो सिजन पीएसजीबाट खेलेका ४८ खेलमा ४० गोल गरे । विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा पनि उनले १८ खेलमा १० गोल गरेका थिए ।

लुइस स्वोरज स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर हुन् । उनले यो सिजन ला लिगाका ३३ खेलमा २५ गोलसहित बार्सिलोनाबाट खेलका ५१ खेलमा ३१ ग्ाोल गरेका छन् । काभानी जस्तै उनी पनि उरुग्वे टिमका लागि महत्वपूर्ण खेलाडी हुन् । गोलको अवसरमा उत्कृष्ट फिनिसिङ गर्दै उनले टिमलाई अग्रता दिलाउन सक्छन् ।

प्रशिक्षक – ओस्कार तबरेज

प्रशिक्षक ओस्कारले उरुग्वे टिमलाई यसपटक चौथो विश्वकप र लगातार तेस्रो विश्वकपमा प्रशिक्षण गरीरहेका हुन् । सन् १९८८ देखि १९९० सम्म उरुग्वे टिमका प्रशिक्षक रहेका उनी सन् २००६ देखि पुनः उरुग्वे टिम सम्हालिरहेका छन् ।

सन् १९९० को विश्वकपमा उनको प्रशिक्षणमा उरुग्वे अन्तिम १६ सम्म पुगेको थियो । उनकै प्रशिक्षणमा सन् २०१० को विश्वकपमा उरुग्वे ४० वर्षपछि सेमिफाइनलमा पुगेको थियो । यसैले प्रशिक्षक ओस्कारको अनुभव यसपटक रसिया विश्वकपमा फाइदाजनक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment