Comments Add Comment

चितवनमा वनको तीन हजार हेक्टरमा मन्दिरदेखि चर्चसम्म ठडिए

सुकुम्बासीले अतिक्रमण गरेको जंगल क्षेत्र

२२ जेठ, चितवन । सरकारले वन क्षेत्र बढेको प्रतिवेदन सार्वजनिक गरे पनि चितवनमा भने वन अतिक्रमणको डरलाग्दो रुप देखिएको छ । धर्म, सुकुम्बासी, सामाजिक संघ–संस्था र राजनैतिक आडमा २ हजार ८ सय ९८ हेक्टर वनको जग्गा अतिक्रमणमा परेको हो ।

यस्ता अतिक्रमित क्षेत्रमा धार्मिक, सामाजिक, शैक्षिक र निजी संरचना बनेका छन् । त्यसलाई हटाउन प्रयास गरिए पनि नसकिएको सरकारी निकायले जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले हेर्दै आएका एक हजार ६८२ वर्ग किलोमिटर क्षेत्रफलमध्ये एक हजार २०० हेक्टर जमिन अतिक्रमणमा परेको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल विगत लामो समयदेखि अतिक्रमण गरेर बसेकाहरुलाई निकुञ्जको एक्लो प्रयासले हटाउन नसकिने बताउँछन् । निकुञ्जका अधिकांश ठाउँमा सुकुम्बासी, धार्मिक मठ मन्दिर, निजी घर लगायतले अतिक्रमण गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज चितवन, नवलपरासी, मकवानपुर, र पर्सा जिल्लामा फैलिएको छ । निकुञ्ज आसपासका क्षेत्रमा मानव बस्ती विस्तार हुँदै जाँदा दर्जनौं ठाउँमा व्यक्तिले समेत अतिक्रमण गरेका छन् । चितवनको बाँदरझुला, कुसुमेखोला, प्याउली, कान्छीबगाई लगायतका १२ ठाउँमा अतिक्रमण भएको पाइएको छ ।

सुकुम्वासीका नाममा अतिक्रमण गरिएका जग्गामा नेताले लालपूर्जा दिने भन्दै भोट मागेर निर्वाचन जित्दै आएका कारण हटाउन समस्या हुने गरेको वनका अधिकारीहरु गुनासो गर्छन्

यसैगरी नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्षधाम, पिठौलीलगायतका क्षेत्र अतिक्रमणमा परेको अर्यालले जानकारी दिए । मकवानपुरका सुनाचुरी, तमासपुरलगायतका क्षेत्रमा अतिक्रमण भएको छ । पर्साको ठोरी, निर्मलवस्तीलगायतका ठाउँमा वन क्षेत्र अतिक्रमण भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल ९५२.६३ वर्गकिलोमिटर रहेको छ । यसको मध्यवर्ती क्षेत्र ७२९ वर्गकिलोमिटर गरी १६८२ वर्गकिलोमिटर क्षेत्र निकुञ्जले हेर्दै आएको छ । कतिपय अतिक्रमणकारीलाई राजनीतिक संरक्षण भएकाले काममा कठिनाइ हुँदै आएको निकुञ्जकै कर्मचारी बताउँछन् ।

सुकुम्वासीका नाममा अतिक्रमण गरिएका जग्गामा नेताले लालपूर्जा दिने भन्दै भोट मागेर निर्वाचन जित्दै आएका कारण हटाउन समस्या हुने गरेको वनका अधिकारीहरु गुनासो गर्छन् ।

निकुञ्ज क्षेत्रको अतिक्रमण गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६ को ६ ले १० हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर, राजनीतिक संरक्षणका कारण निकुञ्जले कारवाही गर्न सकेको छैन ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल कार्यालयले हेर्दै आएको ४४ हजार ९०० हेक्टर वन क्षेत्रमध्ये एक हजार ६९८ हेक्टर जमिन अतिक्रमण भएको बताउँछन् । अतिक्रमित ठाउँहरुमा वन मासेर घर, टहरा, मन्दिर, गुम्बा, चर्च, स्कुललगायतका स्थायी एवम् अस्थायी संरचना बनेका छन् ।

जिल्लाको आँपटारीमा ५३ हेक्टर, अमिलेपानीको ३१९ हेक्टर, गुञ्जनगरको तीन हेक्टर, हरिपुर इलाकाको २२३ हेक्टर, जुटपानीको १२१ हेक्टर, कोराकको २४२ हेक्टर, शक्तिखोरको ३९८ हेक्टर, इलाका गड्यौलीको ३२५ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।

चितवनमा ०२४ सालदेखि वन अतिक्रमण हुन थालेकोमा सबैभन्दा बढी ०४४ देखि ०५३ सालसम्म अतिक्रमण बढी भएको थियो । पछिल्ला दिनहरुमा थप अतिक्रमण कम भए पनि नयाँ अतिक्रमणकारीलाई वन कार्यालयले तत्काल हटाउँदै आएको पौडेलले बताए ।

बसोबासको हिसाबले पहिलो रोजाई बन्दै गएको चितवनमा वन अतिक्रमण रोक्न ठूलै पहलकदमी उठाउन आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा बाबाजीको रजाइँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment