Comments Add Comment

प्रेम टुट्दा र जोडिदा कसलाई फाइदा कसलाई घाटा ?


चलचित्र क्षेत्रका सेलिब्रिटीहरु प्रेममा परेपछि उनीहरुको फ्यान फलोइङ घट्ने आम मान्यता छ । त्यसैले पनि धेरै सेलिब्रिटीहरुले आफ्नो प्रेमलाई लुकाउन खोज्छन् ।

प्रेममा परेका सेलिब्रिटीहरुले चर्चा त पाउँछन्, तर काम कम पाउँछन् भन्ने टिप्पणी हुन गर्छ । कुनै पनि कलाकारको नाम अर्को कुनै चलचित्रकर्मीसँग जोडिदा उनीहरुले काम कम पाएको उदाहरण प्रशस्त छन् । प्रेमबाट अलग भएपछि उनीहरुको व्यस्तता बढेको प्रष्ट देखिन्छ ।

नेपाली चलचित्र क्षेत्रमा केही जोडीहरुले खुलेर प्रेम प्रकट गरिरहेका छन् । उनीहरुमध्ये कसैको प्रेम टुटेको छ भने कसैको जारी छ । यो प्रेमले उनीहरुलाई के-कति फाइदा वा घाटा भएको छ त ?

नायिका मलिना जोशी र नायक अनुप विक्रम शाहीको कुरा गरौं । उनीहरु लामो समय प्रेममा रहे । प्रेममा रहँदा उनीहरु दुवैको करिअर संकटमा थियो । दुबैको व्यस्तता कम थियो । तर, यो जोडी अहिले अलग भएको छ । अलग भएपछि मलिनाको व्यस्तता केही बढेको छ भने अनुपलाई त भ्याईनभ्याई नै छ । अनुप विक्रमलाई अहिले नायक र खलनायक दुबै भूमिकामा काम गरेरै फुर्सद छैन । उनले महंगो पारिश्रमिक लिन थालेका छन् । मलिनाले पनि फाट्टफुट्ट काम पाइरहेकी छिन् ।

नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको हकमा पनि यस्तै भयो । नीता र आमेष एक अर्काको प्रेममा मस्त हुँदा करिअर अस्तव्यस्त थियो । नीताले काम पाइरहे पनि आशा गरेअनुसारको सफलता पाउन सकिनन् भने आमेषको त पहिलो चलचित्र नै डुब्यो ।

जब, यी दुई चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को असफलतामा रन्थनिए, त्यसपछि अलग भए । अलग भएसँगै अहिले दुवैले आ-आफ्नो तरिकाले करिअर अगाडि बढाएका छन् । नीताको करिअर अहिले मौलाएको छ । आमेषले पनि जेनतेन आफूलाई अगाडि बढाइरहेका छन् ।

प्रेमको चर्चामा रंगिएको अर्को जोडी हो आयुष्मान देशराज जोशी र प्रियंका कार्की । यो प्रेम चर्चाले आयूष्मानलाई फाइदा र प्रियंकालाई घाटा भएको विश्लेषण गरिन्छ । गत वर्ष एक अवार्डमा खुल्लमखुल्ला चुम्बन गरेपछि प्रियंकाको फ्यान क्रेज कम हुँदै गएको छ । यद्यपि, उनको हातमा चलचित्रको कमी भने छैन । आयूष्मानले भने प्रियंकाकै कारण चर्चा र फिल्म पाइरहेका छन् । अन्यथा उनलाई फिल्म इन्डष्ट्रीको मुलधारमै आउन कठिन थियो ।

लामो समयदेखि प्रेममा रहेको अर्को जोडी हो बर्षा राउत र संजोग कोइरालाको । संजोग र बर्षाको प्रेमले यी दुबैलाई ठूलै घाटा र ठूलै फाइदा पनि भएको छैन । संजोग नायकको रुपमा असफल भैसकेका छन् । तर, उनी बर्षासँग नाम जोडिदा मिडियामा समय-समयमा छाउँछन् । बर्षाले भने राम्रै प्रोजेक्टमा हात हालिरहेकी छिन् । यो जोडीले आफ्नो प्रेमलाई शिष्टरुपमा अगाडि बढाउनुले पनि क्षति कम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment