News Summary
Generated by OK AI. Editorially reviewed.- नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म 'पार्वती' को पहिलो झलक शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।
- फिल्ममा नीताले छात्राको भूमिका निभाएकी छन् र शीर्षकले पार्वतीको जीवनमा आउने बाधा र विद्रोहलाई संकेत गर्छ।
- फिल्म १२ भदौमा रक्षाबन्धनको अवसरमा रिलिज हुँदैछ र यसमा दीपाश्री निरौला, सिरु बिष्ट लगायत कलाकारको अभिनय छ।
काठमाडौं । नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुई पोस्टर सार्वजनिक गरियो ।
शीर्ष भूमिकामा समेत अभिनय गरेकी नीतालाई सार्वजनिक पोस्टरमा क्यारेक्टर लुक्समा देख्न सकिन्छ । एकमा उनी छात्राको भूमिकामा छिन् । उनको हाउभाउ अन्य विद्यार्थीभन्दा भिन्न देखिन्छ ।
अर्को पोस्टरमा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन् । फिल्मको शीर्षक ‘पार्वती’ लेखिएको शैलीले पार्वतीको जीवनमा आइपर्ने बाधा, विद्रोह वा समाजले उनीमाथि लगाएको कुनै ‘ट्याग’लाई काट्न खोजेको संकेत गर्छ ।
दोस्रो पोस्टरको पृष्ठभूमिमा भित्ताभरि चकले ‘माया’, ’परिवार’, ’स्नेह’, ’किरण’ जस्ता शब्दहरू लेखिएका छन् । यसले चलचित्रको मूल भाव र यो स्कुल वा शिक्षाको परिवेशमा बुनिएको कथा हो भन्ने स्पष्ट पार्छ ।
फिल्म १२ भदौमा रक्षाबन्धनको अवसरमा रिलिज हुँदैछ । नीताले यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएको बताएकी छन् । फिल्ममा दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय छ ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता हरिहर अधिकारी हुन् । सुदीप बरालको छायांकन छ । पटकथा शिवम अधिकारीले लेखेका हुन् । चर्चित डान्सर समेत रहेका सरोज अधिकारी क्रियटिभ निर्देशकको रुपमा छन् । सरोज चर्चित नृत्य समूह कार्टुन्ज क्रुसँग संलग्न छन् । यो उनको डेब्यू फिचर हो ।


प्रतिक्रिया 4