News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म दागाचीले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
- दागाचीले सन् २०२७ सम्म नेपालमा १ लाख सक्रिय प्रयोगकर्ता र १०० भन्दा बढी संस्थासँग सहकार्य गर्ने लक्ष्य राखेको छ।
- नेपाल कोरियाली संघ र वर्ल्ड दागाचीबीच सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) भएको छ।
१ जेठ, काठमाडौं। दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म दागाचीका प्रतिनिधिले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा कम्पनीका उपाध्यक्ष किम साङ ह्युनले नेपालको श्रम, शिक्षा, संस्कृति, पर्यटन तथा डिजिटल सहकार्यका क्षेत्रमा दागाचीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको दागाची एक एआई आधारित ग्लोबल कम्युनिकेसन प्लेटफर्म हो। यसले भाषा शिक्षा, स्वास्थ्य, पर्यटन, कानुनी तथा प्रशासनिक सेवामा बहुभाषिक सूचना आदान–प्रदान र नेटवर्क विस्तारको काम गर्दै आएको दागाचीका नेपाल प्रतिनिधि माधव सापकोटाले बताए ।
उपाध्यक्ष किमले दागाची डिजिटल एप मात्र नभई भाषा र संस्कृतिको अवरोध हटाउने विश्वव्यापी प्लेटफर्म भएको उल्लेख गरे । उनले दक्षिण कोरियामा रहेका नेपाली तथा नेपालमा रहेका कोरियाली नागरिकबीच सहज सञ्चार, सूचना आदान–प्रदान र सुरक्षित जीवनयापनका लागि दागाची उपयोगी बन्ने बताए ।
‘आगामी दिनमा स्वास्थ्य, वित्त, शिक्षा, पर्यटन, श्रमिक तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विशेष डिजिटल सेवा विस्तार गरिनेछ,’ उपाध्यक्ष किमले भने, ‘नेपाललाई ‘फेरि आउन मन लाग्ने देश’ का रूपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन दागाची नेपाल केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ।’
नेपाल प्रतिनिधि सापकोटाले नेपाली व्यवसायलाई ‘लोकलबाट ग्लोबल’ बनाउन दागाची महत्वपूर्ण पुल बन्ने भन्दै के–पप, के–ड्रामा, के–ब्युटी र के–फुडपछि अब ‘के–कम’ का रूपमा विश्व बजारमा अघि बढिरहेको उल्लेख गरे । उनका अनुसार नेपालमा विश्वासिलो एआई आधारित डिजिटल इकोसिस्टम निर्माण गर्नु दागाचीको मुख्य उद्देश्य हो।
‘भाषाको अवरोधबिना सही समयमा सही सेवा र अवसर उपलब्ध गराउनू दागाचीको मुख्य उद्देश्य हो,’ सापकोटाले भने, ‘सन् २०२७ सम्म नेपालमा १ लाख सक्रिय प्रयोगकर्ता र १०० भन्दा बढी संस्थासँग सहकार्य गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
सहभागीहरूले दागाचीको विश्वसनीयता, नेपाली व्यवसायीले पाउने अवसर, भाषा समस्या समाधान, रोजगार समन्वय, पर्यटन प्रवर्द्धन तथा कोरियन विश्वविद्यालयसँगको सहकार्यबारे विभिन्न प्रश्न उठाएका थिए। सापकोटाले दागाचीमा ‘भेरिफाइड प्रोफाइल’ प्रणाली रहेको र यसले व्यवसाय तथा सेवाप्रति विश्वास बढाउने बताए ।
नेपाली पर्यटन व्यवसाय, ट्रेकिङ, होमस्टे तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्लेटफर्म प्रभावकारी हुने भन्दै उनले कोरियन पर्यटकका लागि दोहोरो भाषामा बुकिङ प्रणाली सहज बनाइने जानकारी पनि दिए ।
कार्यक्रममा नेपाल कोरियाली संघ र वर्ल्ड दागाचीबीच सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) भएको थियो ।

मानवस्रोत क्षेत्रबारे उठेका प्रश्नमा सापकोटाले विदेशी कम्पनी र नेपाली म्यानपावर कम्पनीबीच कर्मचारी माग–आपूर्तिको डिजिटल समन्वय गरिने बताए । यस्तै, शिक्षा क्षेत्रतर्फ कोरियन विश्वविद्यालय, छात्रवृत्ति तथा विभिन्न कोर्ससम्बन्धी जानकारी सीधै प्लेटफर्ममार्फत उपलब्ध गराइने बताए । कार्यक्रममै नेपाल उद्योग–वाणिज्य क्षेत्रसँग समेत दागाचीले सहकार्य विस्तार गर्ने तयारी गरेको जानकारी दिइएको थियो ।
प्रतिक्रिया 4