Comments Add Comment

सर्वाधिक राशीको फोटो प्रतियोगिताको मनोनयन खुला

२३ जेठ, काठमाडौं । फोटो पत्रकार (पिजे) क्लबले छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहनेले बुधबारदेखि नै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको वेवसाइटमा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ ।

प्रतियोगितामा व्यवसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्वीर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ ।

दर्ता प्रक्रिया असार ६ गतेे मध्यरातमा १२ बजे बन्द हुनेछ । पिजे क्लबले सातै विधाका विजेताको घोषणा गरेर पुरस्कार वितरण गर्नेछ ।प्रतियोगिताको मुख्य विधा आइएमई-ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

पुरस्कार वितरण कार्यक्रमपछि साउन १५ देखि २१ गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरुलाई प्रदर्शनीमा राख्ने पीजे क्लबले जनाएको छ ।

प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment