Comments Add Comment

उत्तर कोरियाले विश्व राजनीतिको खेल आफ्नो पक्षमा कसरी पार्‍यो ?

२५ जेठ, काठमाडौं । उत्तर कोरियाका नेता किम जोंग उन सन् २०१८ मा अन्तर्राष्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा आएका छन् । धेरैलाई लाग्दछ कि राजनीतिक वर्गमा किम जोंग उनको एक हैसियत त रहेछ ।

वर्षौंसम्म बाहिरी दुनियाँको सम्पर्कमा नआएका किम जोंग उन अब एक शक्तिशाली खेलाडीको रुपमा आएका छन् । चीन, रुस, सीरिया, दक्षिण कोरिया र अमेरिकाका नेताहरुको किम जोंग उनसँग वार्ता तय भइसकेको छ । अरु धेरै नेताहरु उनीसँग कुराकानी गर्न चाहन्छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले किम जोंग उनलाई सेप्टेम्बरमा व्लादिभोस्टक (चीनको सीमासँग जोडिएको एक शहर)मा भेट्न निम्तो पठाएका छन् ।

जबकि सीरियाका राष्ट्रपति बशर अल असदले केसम्म भनेका छन् भने उनी उत्तर कोरियाको राजधानी प्योंगयांगको भ्रमण गर्न चाहान्छन् ।

समाचार एजेन्सी एसोसियटेड प्रेस (एपी)का प्योंगयांग व्यूरोका पूर्वप्रमुख जीन लीलेे भनेका छन्- विश्वले किम जोंग उनलाई अन्तर्राष्ट्रिय राजनेता बनेको देखिरहेको छ । हामी सबै यसको साक्षी छौं ।

उत्तर कोरियाको आत्मविश्वास

उनले भने-अहिले जे देखिइरहेको छ यो सन् २०१० भन्दा निकै फरक छ जब किम जोंग उनलाई बच्चाको जस्तो देखिने एक उत्तराधिकारीको रुपमा हेरिन्थ्यो । तर अब उनको आत्मविश्वास अलग स्तरमा छ । उनीसँग ब्यालेस्टिक मिसाइल छन् र किमले आफूलाई अमेरिकाजस्तो विश्वभरका परमाणु शक्ति सम्पन्न देशहरुभन्दा कम ठान्दैनन् ।

नर्थ कोरियन हाउस अफ कार्डस् नामको किताब लेखेका केन गोजले आफ्नो सबैभन्दा ताजा निबन्धमा लेखेका छन्- सन् २०१७ मा आफ्नो मिसाइल परीक्षण कार्यक्रममा तीव्रता दिने बेला किम जोंग उनमा शायद यस्तो नतिजाको विश्वास थिएन ।

यद्यपि एक धारणा पनि छ किम जोंग उनलाई यस कुराको निकै कम अन्दाज थियो कि मिसाइल परीक्षण कार्यक्रमपछि उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताको अवसर मिल्ने छ ।

नयाँ राजनीतिक दायरा

जीन लीन भन्छन्, ‘किमले आफूलाई लामो समयसम्म बाहिरी दुनियाँबाट टाढै राखे । यही एक कारण हो दुनियाँभरका विदेशी अधिकारी उनीसँग भेट्ने मौका गुमाउन चाहँदैनन् । किनभने उनीहरु किम जोंग उनको बारेमा जान्न चाहन्छन् । उनीहरु थाहा पाउन चाहन्छन् कि किम आफ्नो देशका लागि के चाहान्छन् ?’

दुई अन्य कारणहरु पनि छन् जसले किम जोंग उनलाई आफ्नो नयाँ राजनीतिक दायरा तय गर्न मद्दत मिलेको छ ।

जस्तै, दक्षिण कोरियाले एक उदार राष्ट्रपतिलाई चुनेको छ । उनले आफ्नो प्रचारको क्रममा उत्तर कोरियासँगकोे सम्बन्ध सुमधुर बनाउने दावी गरेका थिए । यसबाट दुई देशबीच सम्वाद गर्ने र आफ्नो सम्बन्ध स्थापित गर्न मद्दत मिल्यो ।

त्यसपछि आयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तो । यद्यपि अघिल्लो कमाण्डर इन चिफले भनेका थिए कि केही शर्त पूरा गरेमा मात्रै ट्रम्प शिखर सम्मेलनका लागि आगाडि बढ्ने छन् । तर, एक वर्ष अघिसम्म उत्तर कोरियालाई धम्की दिएका डोेनाल्ड ट्रम्प विना कुनै शर्त प्रत्यक्ष भेटवार्ताको लागि तयार भए ।

सिंगापुरमा जब किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता हुनेछ । यसमा ख्याल गर्नुपर्ने एउटा कुरा हुनेछ ६ महिना अगाडिसम्म अन्तर्राष्ट्रियस्तरमा अलगथलग रहने किम जोंग उन ति विश्वको सबैभन्दा ठूलो राजनीतिक घटनाक्रमको केन्द्रमा रहने ति दुई नेताहरुमध्येमा पर्नेछन् । यो शिखर सम्मेलनले स्वयम् किम जोंग उनलाई राजनीतिक लाभ मिलेको छ ।

यो नयाँ कुटनीतिक रणनीति केबल शक्तिको आधारमा मात्रै होइन बरु केही आवश्यकताले पनि पैदा गरेको छ ।

उनको परमाणु कार्यक्रम अब पूरा भइसकेको छ । किम जोंग उनले भनेका छन्, उनको सबै ध्यान अब देशको अर्थव्यवस्थामा हुनेछ । र, यो गर्नका लागि उनललाई गठबन्धन बनाउन पुराना साथीहरुको आवश्यकता छ ।

चीन र उत्तर कोरियाको सम्बन्ध

यो अवस्थामा चीन, किम जोंग उनको लागि सबैभन्दा महत्वपूर्ण छ । चीन उत्तर कोरियाको सबैभन्दा मुख्य व्यापारिक साझेदार हो ।

किमले विगत केही समययता चिनियाँ राष्ट्रपतिसँग दुई पटक कुराकानी गरिसकेका छन् । दुवै पटक वार्ताको मुख्य मुद्दा व्यापार नै रह्यो ।

चीन चाहन्छ यदि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रद्द गर्दैछ भने उमाथि लगाइएका प्रतिवन्ध पनि हटाइनुपर्छ ताकि उत्तर कोरियाको अर्थव्यवस्था स्थीर बनाउन सकियोस् । साथै अमेरिकासँग पूर्ण आत्मविश्वास कायम राखिराख्न किम जोंग उन चाहन्छन् कि उनीहरुले भन्न सकुन् चीन उनको साथमा छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग पनि किमको भेटवार्ता भयो । दुवैले कोरियाली प्रायद्वीपको भविष्यको विषयमा कुराकानी गरे । तर सबैभन्दा फरक देखिएको कुरा किम जोंग उनको हँसिलो मुद्रा । उनलाई देखेर लाग्थ्यो उनी सम्वाद गर्न चाहन्छन्, सम्बन्ध सुमधुर बनाउन चाहन्छन् । यस्तो उनको बुवा र हजुरबुवामा कहिले पनि देखिएन ।

रुस र सीरियासँग पनि सम्बन्ध

यसै प्रकारले एक दशकभन्दा बढी समयपछि कुनै वरिष्ठ रुसी कुटनीतिज्ञले पहिलोपटक उत्तर कोरियाको भ्रमण गरे । यद्यपि डोनाल्ड ट्रम्प रुसी कुटनीतिज्ञले उत्तर कोरियासँग गरेको वार्ताबाट खुसी थिएनन् ।

किम जोंग उन यो देखाउन चाहन्छन् कि उत्तर कोरिया कुनै पनि प्रकारले घेराबन्दीमा परेको छैन । रुस र उत्तर कोरियाको सीमा जोडिएको छ । त्यसैले उत्तर कोरियाले आफ्नो हितका लागि रुससँग वार्ता गर्न सक्छ । त्यसैले रुससँग सम्वाद गर्न चाहन्छ ।

यी सबै कुरामा अमेरिकाको लागि सन्देश लुकेको छ र कहिँ न कहिँ उत्तर कोरिया यो पनि भन्ने कोशिस गरिरहेको छ कि उ कुनै दबावमा छैन ।

यता उत्तर कोरियासँग सीरियाका राष्ट्रपति बशर अल असदको सम्बन्ध अमेरिकासहित संयुक्त राष्ट्रसंघको लागि पनि चिन्ताको विषय छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले भनेको छ- राष्ट्रपति बशर अल असद छिट्टै नै उत्तर कोरियाको भ्रमण गर्न तयार छन् ।

सीरिया, उत्तर कोरियाको पुरानो सहयोगी मित्र हो । दुवै देशबीच सन् १९६६ देखि कुटनीतिक सम्बन्ध छ । उत्तर कोरियाले अक्टुबर १९७३ मा भएको अरब-इजरायल युद्धको क्रममा हतियारसमेत दिएको थियो । फेब्रुअरीमा चुहिएको संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा यो पनि आरोप लगाइएको थियो कि उत्तर कोरियाले सन् २०१२ देखि सन् २०१७ को बीच सीरियालाई शंकास्पद सामाग्री दिएको थियो, जसको प्रयोग जैविक हतियार बनाउन प्रयोग गरिन्छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायको नजर सबैभन्दा बढी यी दुवै देशको सम्बन्धमा हुनेछ ।

यी कुरामा छ चासो

तर यति हुँदा हुँदै पनि सबै कुरा उत्तर कोरियाको पक्षमा छैन । एक समय आयो जब अमेरिकाका उपराष्ट्रपति माइक पेन्समाथि उत्तर कोरियाका उपविदेशमन्त्रीको टिप्पणीको कारण शिखर वार्ता नै रद्द भयो । फेरि किम जोंग उनको टिमले स्थितिलाई पुरानै अवस्थामा फर्काउन पूरै बल लगायो ।

किम जोंग उनले खेलका सबै नियम बदलिदिएका छन् । गत वर्षसम्म परमाणु शक्ति उत्तर कोरियाका लागि एक ठूलो उत्तरदायित्व बन्दै गएको थियो, त्यसलाई अब उत्तर कोरियाले एक राजनीतिक हतियार बनाइसकेको छ ।

तर उत्तर कोरियाको अन्तिम खेल के होला ? र उत्तर कोरिया र अमेरिकाबीच त भएको शिखर वार्तापछि के हुनेछ ? यी दुई ठूला र महत्वपूर्ण प्रश्न छन् ।

(लारा बिकरको यो आलेख बीबीसीबाट भावानुवाद गरिएको हो । लारा बीबीसीको दक्षिण कोरिया सम्वाददाता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment