Comments Add Comment

नेपाली फिल्ममा थाइल्याण्डः ‘ठाउँ न ठहर, निर्देशकको रहर’


नेपालका रमणिय स्थानको प्रचारका लागि यदि सबैभन्दा ठूलो हात कुनै क्षेत्रको छ भने, त्यो नेपाली चलचित्रको नै छ । ‘जेरी’ले मनाङ र मुस्ताङको लोकेशन चिनाएपछि अहिले यी क्षेत्रमा नेपाली चलचित्रको छायांकन मात्र बढेको छैन, पर्यटक पनि बढेका छन् ।

रारा तालालाई चलचित्र ‘प्रेमगीत २’ले आकर्षक तरिकाले देखाएपछि रारामा आन्तरिक र बाह्य पर्यटक बढेका छन् । चलचित्र ‘ए मेरो हजुर २’ले तिलिचो ताललाई पर्यटकिय गन्तव्य बनाइदियो । यी रमणिय दृश्य देखेर दर्शकले आनन्दको महशुश गरे ।

यसैले पनि विदेशी लोकेशन खोज्दै बाहिर जाने निर्माताहरु अहिले नेपालकै लोकेशनमा रमाएका छन् । दर्शकले पनि आँखाको शित्तलता पाएका छन् ।

तर, बेला बेलामा विदेशमा चलचित्र छायांकन गर्न खोज्ने निर्देशकहरुको यहाँ कमी छैन । तर, दर्शकले विदेशका लोकेशन भन्दा नेपालकै माटोलाई बढी रुचाएका छन् ।

अहिले चलचित्र छायांकनका लागि थाइल्याण्ड पनि धेरैको रोजाइमा परिरहेको छ । थाइल्याण्डको समुन्द्रमा एउटा गीत खिचेर, नायिकालाई विकिनी लगाइदिन पाए बबालै हुन्छ भन्ने सोच पलाएको पनि छ ।

केही दिन अगाडि चलचित्र ‘चिमुसीची’को एउटा गीत रिलिज भयो । ‘तिमीले माग्छ्यौ भने मुटु’ बोलको गीतको छायांकन थाइल्याण्डमा गरिएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री र एलिसा शर्मालाई फिचरिङ गरिएको छ । तर, यो गीतको भिडियो हेर्दा थाइल्याण्डको दृश्य हो जस्तो लाग्दैन । यदि, केही दृश्यमा समुन्द्र र पानी जहाज नभैदिएको भए थाइल्याण्ड नै हो भनेर कसले पत्याउने ?

चलचित्रको कथाको कनेक्शन थाइल्याण्डसँग छैन । तर, पनि निर्देशकले थाइल्याण्डमै गीत खिच्ने रहर त गरे, तर उनको रहर बेकार गराइदिए, कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्रीले ।

यता, बिहिबार मात्र चलचित्र ‘ड्रिम गर्ल’को ‘तिम्रो मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भयो । यो गीतको भिडियोको छायांकन रारा ताल र थाइल्याण्डमा गरिएको छ । रारा तालको दृश्य निकै मनमोहक लाग्छ । तर, जब थाइल्याण्डमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीले रोमान्स गर्छन्, उदेक लाग्छ । थाइल्याण्डको दृश्य यति फिक्का छ कि, जसले गीतको भिडियोलाई नै फिक्का बनाइदिएको छ ।

गीत विदेशमा गएर खिच्दैमा उत्कृष्ट बन्ने होइन । त्यसका लागि सोच उत्कृष्ट चाहिन्छ । दर्शकको आँखा थाइल्याण्ड, यूरोप वा अमेरिकामा खिच्दैमा शित्तल हुने होइन । त्यसलाई खिच्ने र देखाउने तरिकाले शित्तलता दिने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment