+
+

सैनामैना उद्योग वाणिज्य संघको बन्दसत्र स्थगित, कांग्रेस र कम्युनिष्टबीच विवाद

टोपराज शर्मा टोपराज शर्मा
२०७५ जेठ २७ गते १०:४२

२७ जेठ, बुटवल । रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघको अधिवेशनमा विवाद भएपछि बन्दसत्र स्थगित गरिएको छ । संघको दोस्रो अधिवेशनका क्रममा मतदाताका विषयमा विवाद उत्पन्न भएको हो । विवादका कारण संघको बन्द सत्र र निर्वाचन अनिश्चित बनेको छ ।

संघको नेतृत्व कब्जा गर्न योजनावद्ध तरिकाले ठूलो संख्यामा फर्जी मतदाता बनाइएकाले त्यसको  छानवीन गर्न उजुरी परेकाले बन्द सत्र स्थगित गर्नुपरेको  कांग्रेस निकट व्यवसायीले बताएका छन् । संघमा अहिले कांग्रेस निकट व्यवसायीको नेतृत्व छ ।

तर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकटका व्यवसायीहरुले भने संघमा आफूहरु अल्पमतमा पर्ने र चुनाव हार्ने देखेर कांग्रेस निकट व्यवसायीहरु चुनावबाट भागेको आरोप लगाएका छन् ।

बन्द सत्र स्थगितको सूचना टाँसेर अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिवसहितको टोली बाहिरिएपछि उद्योग उपाध्यक्ष रिमबहादुर श्रेष्ठको अध्यक्षतामा नेकपा समर्थक व्यवसायीले बन्द सत्र गरेर निर्वाचन समितिलाई तीन दिनभित्र निर्वाचन प्रकृया अगाडि बढाउन समय दिएको छ । निर्बाचन मण्डलले तीन दिनभित्र निर्बाचन प्रकृया शुरु गर्न नसके नयाँ निर्वाचन मण्डलको घोषणा गरेर निर्वाचन गराउने नेकपा निकट व्यवसायीले निर्णय गरेका छन् ।

आफूहरुको बन्द सत्रमा ३ सय बढी सदस्यहरु सहभागी भएर माइन्युट गरेको अध्यक्षका उम्मेदवार  ऋषिराम पाण्डेले बताए । संघमा ४ सय ९७ मतदाता छन् ।

संघका अध्यक्ष राजबहादुर क्षेत्रीले संघलाई कब्जा गर्ने उद्देश्यले एउटै व्यक्तिले एक लाख २६ हजार रुपैयाँ खर्च गरेर नयाँ फर्जी सदस्यहरु बनाएको प्रमाण फेला परेको भनी लिखित उजुरी परेकाले सचिवालयको बहुमतले बन्द सत्र स्थगित गर्ने निर्णय गरेको बताए । ‘उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा रहेको संघलाई कम्युनिष्टको एकलौटी संस्था बनाउने उद्देश्यले ठूलो संख्यामा फर्जी मतदाता बनाइएको उजुरी परेपछि बन्दसत्र स्थगित गरिएको हो,’ अध्यक्ष क्षेत्रीले भने, ‘छानवीन गरी मतदाताको अन्तिम नामावली नै टुंगो नलागी बलजफ्ती हुलहुज्जतको आधारमा बन्द सत्र र निर्वाचन हुन सक्दैन, विधानअनुसार अघि बढ्नुपर्छ ।’ संघको अधिवेशन नजिकिएसंगै एकैचोटी २ सय बढी सदस्य बनेका उनले बताए ।

संघको नेतृत्व लिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट व्यवसायीहरु ऋषिराम पाण्डेको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रचारमा उत्रिएका छन् ।

मतदाताको आधिकारिक नामावली आउन नसकेकाले निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभएको निर्वाचन समितिका संयोजक कृष्ण पंगेनीले बताए ।

हेर्नुहोस् बन्दसत्र स्थगित गरिएको सूचना

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?