Comments Add Comment

‘बम फ्याक्ट्री’बाट शान्ति र एकताको सन्देश

डालास । हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखाना स्थापना गरेका थिए । दोश्रो विश्वयुद्धताका भने यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ ।

सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरि पुनःनिर्माण गरेपछि यो संभव भएको हो । यो त्यही थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनली ले आफूलाई प्रस्तुत गरिसकेका थिए ।

‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान कलाकारहरुले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो,’ कन्सर्ट सकिने बित्तिकै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘हामी यी दुवै गायकहरुलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ ।’

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो ।‘दुइ घन्टाको कार्यक्रमभरि एक निमेष पनि मैले अरु कुराबारे सोच्नै पाइँन र पुरै कन्सर्टमै केन्द्रित भएछुँ,’ पाइलट अध्ययनका निम्ति अमेरिका बसोबास गर्दैै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुइ घन्टा बन्न पुग्यो ।’

कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो । त्यसलाई ब्याण्डको एक पछि अर्को सदाबहार र नयाँ अल्बमका गीतहरुले निरन्तरता दिएर दर्शकलाई सँधैजस्तै बाँध्न सफल भएको थियो ।

आजसम्म नाम नराखिएको ब्याण्डको दसौं अल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोशीको पानी यो जिन्दगानी’ लाई दर्शकले असाध्यै रुचाएका थिए । त्यसैगरि सदाबहार गीततर्फ ‘भेँडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतहरुले दर्शकको जोशलाई बढाएको थियो । कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले माहोल पुरै देशभक्तीमा डुबाएको थियो ।

‘नेपथ्यले आज मलाइ घरको याद दिलायो,’ १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दैआएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरु सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहिँ घर फर्केर देशकै निम्ति केहि गरौं भन्ने भावना बढेको छ ।’

कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णनहरु सुनाउँदै दर्शकहरुलाई पनि नेपालका गाउँघरको भ्रमण गर्नका निम्ति उत्साहित पारेका थिए । यो मौकाको उपयोग गर्दै उनले निकै कठिनाइपछि प्राप्त भएको स्थायित्व कायम राख्न र मुलुकलाई विकासको बाटोमा अघि बढाउन नेताहरुलाई अनुरोध गरेका थिए ।

‘यस हलमा कुनै समय बनेका बमहरु मानवताविरुद्ध विध्वंशका माध्यम बनेका थिए होलान्,’ उनले भने, ‘संसारभरका सबै बम कारखानाहरु पनि यसैगरि गीत प्रस्तुत गर्ने थलोका रुपमा विकास हुनुका साथै प्रेम र संगीतले युद्ध र हिंसालाई सँधै सँधैका लागि जितोस् भन्ने कामना गर्दछु ।’

डालासको यो प्रस्तुती ब्याण्डले लामो समयको प्रतिक्षापछि सम्पन्न गर्न सकेको हो ।‘हामीले सन् २०१२ ताकै ब्याण्ड अमेरिका भ्रमणमा रहेको बेला यहाँ पनि बोलाउने प्रयास गरेका थियौं,’ आयोजक टिमका बचन तिवारी भन्छन्, ‘तर, त्यतिबेला सफल हुन सकेनौं ।’

आयोजक टिमका अर्का सदस्य दिवस थापाका अनुसार सन् २०१५ मा फेरि कन्सर्टका निम्ति नेपथ्य अमेरिका आउँदा उनले न्यूयोर्कका आयोजकहरुसँग यस बारेमा कुराकानी गरेका थिए । त्यतिबेला पनि सफलता हात लागेन । ‘त्यसपछि हामी स्वयं ब्याण्डको ब्यवस्थापनसँग भेट्नका निम्ति सानफ्रान्सिस्को पुग्यौं,’ उनले भने, ‘सन् २०१६ मा नेपथ्यले क्यालिफोर्नियाको त्यस सहरमा कन्सर्ट गर्दाकै क्षण हाम्रो भेटघाट भयो ।’ अन्ततः त्यहि प्रयासको प्रतिफलमा यसपाला ब्याण्डलाई डालास निम्त्याएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उनले बताए । ‘अहिले त सपना पुरा भएजस्तो लागिरहेको छ,’ दिवसले थपे, ‘आयोजकका रुपमा यसरी सफल भएपछि हामी असाध्यै खुशी छौं।’

‘नेपथ्य ब्याण्ड केटाकेटीदेखिको यादसँग मिसिएरै मेरो सम्झनामा बसेको छ,’ विनोद लामा भन्छन्, ‘चाहे नेपालमा हुँदा होस् वा अमेरिका आएपछि, मैले कहिल्यै पनि यसको कन्सर्ट छाडेको छैन ।’ कुराकानीका क्रममा आफू डालासमा बसेता पनि कुनै समय लस एन्जलस र सानफ्रान्सिस्को सहरसम्म मोटर हाँकेरै कन्सर्ट हेर्न पुगेको संस्मरणहरु विनोदले सुनाए । ‘यसपटक चाहिँ आफु बसेकै ठाउँमा हेर्न पाएँ,’ उनले भने, ‘अमेरिकामै फरक फरक सहरमा तेश्रोपटक नेपथ्यको अनुभव लिनपाउँदा रमाइलो लागिरहेको छ ।’

डालासमा सफल प्रस्तुतीसँगै ब्याण्ड अब पुर्व किनारमा रहेको अमेरिकी सहर बोस्टनतर्फ लाग्ने भएको छ । त्यस सहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखका दिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment