Comments Add Comment

छोराको बिहे खर्च जोगाएर नेता बोहराले खोले बाबुआमाको नाममा छात्रवृत्ति कोष

२८ जेठ, सिन्धुपाल्चोक । केही महिनाअघि नेपाल कम्युनिस्ट पार्टीका नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्यको छोरा विश्वास बोहराको विवाहको कुरा चल्यो ।

बोहरा दम्पतीलाई समस्या भयो, विवाहमा कसलाई बोलाउने, नबोलाउने ? जिल्ला र केन्द्रीय तहमा समेत राम्रो छवि बनाएका बोहरा दम्पतीले विवाहमा बोलाउने निम्तालुहरुको लिस्टिङ गर्दा मात्रै ५ हजार जना भन्दा बढी भयो ।

‘छोराको विवाहमा कसलाई बोलाउने नबोलाउने चरम समस्या भयो, बेहुली पक्षलाई पनि कन्भिस गरेपछि सामान्य रुपमा छोराको विवाह गरियो’ बोहराले भने । त्यतिबेला तत्कालिन एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेको थियो । बोहरा दम्पतीले बैठकमा केही मिठाइ लगेर विवाहको भोज गराएका थिए । ‘सामान्य रुपमा विवाह भयो, केन्द्रीय कमिटीका सबै साथीहरुलाई मिठाइ लगेर दियौ, सबैले शुभकामना दिनुभयो’ बोहराले भने ।

सामाजिक सुधार ऐन अनुसार तीन सय जना भन्दा बढी मानिस बोलाएर भोजभतेर गर्नु कानुन विपरीत हुन्छ । ‘हाम्रा कोही नेताहरुले पनि यसलाई पालना गरेका छैनन् बोहराले भने त्यसलाई अनुशरण गर्नका लागि पनि हामीले सामान्य रुपमा छोराको विवाह गरेका हौं’ बोहराले भने ।

विवाह भोजमा हुने खर्च नभएपछि त्यसको केही रकम भने बोहरा दम्पतीले सिन्धुपाल्चोकको पिस्करमा रहेको एक विद्यालयमा जेहेन्दार विद्यार्थीहरुलाई वाषिर्क रुपमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति स्थापना गरिदिएका छन् ।

बोहराका गृह गाउँ पिस्करमा रहेको मंगलामाई माध्यमिक विद्यालयमा आमा इन्द्रकुमारी र बुबा उत्तरध्वज बोहराको स्मृतिमा १ लाख ५० हजारको छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरिएको थियो ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच नेता बोहराले विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए । सादगी नेताको छवि बनाएका बोहरा दम्पतीको छोरा विश्वास बोहराले केही महिनाअघि अनिता विष्टसँग विवाह गरेका थिए ।

विवाह, ब्रतबन्ध लगायतका कार्यक्रमहरु निकै तडकभडक हुन थाल्यो, मितव्ययी हुन र जनपक्षीय शैलीका लागि पनि यस्ता कार्यक्रमहरुमा सुधार गर्नुपर्ने बोहराले बताए ।

रकम त थोरै हो तर पनि सुधारका लागि होस भनेर बाबुआमाको नाममा अक्षय कोष स्थापना गरेको उनले बताए । ‘बुबा गाउँको समाजसेवी हुनुहुन्थ्यो, आमा गाउँभरकै दयालु हुनुहुन्थ्यो, उहाँहरुको सम्झनामा यसरी अक्षयकोषको स्थापना गरेका हौं’ नेता बोहराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment