Comments Add Comment

धुमधामले जन्मदिन मनाउने तयारीमा थिए भिमबहादुर

दीपाश्रीको सम्झनामा 'भिमबहादुर बुवा'

२०५० सालतिर सामाजिक चेतनामुलक टेलिश्रृंखला ‘देवी’ मा अभिनय गर्ने क्रममा दीपाश्री निरौलाको पहिलो भेट भएको थियो भिमबहादुर थापासँग । सो टेलिश्रृंखलामा उनको बुवाको भूमिका निर्वाह गरेका भिमबहादुरलाई दीपाश्रीले अन्ततः वास्तविक जीवनमा बुवाकै रुपमा पाइन् ।

‘चिनेदखि नै उहाँले मलाई छोरीको व्यवहार गर्नुभयो, माया दिनुभयो,’ दीपाश्री भन्छिन् ।

देवीपछि हास्य टेलिश्रृंखला ‘तितो सत्य’ मा पनि लामो समय उनीहरु बाबुछोरी बनेर खेले । ‘तितो सत्य’मा काम गर्ने क्रममा नै आफू भिमबहादुर बुवासँग अत्यधिक निकट बनेको दीपाश्रीले बताइन् ।

दीपाश्री हरेक विहान मर्निङ वाक गर्दै मैतिदेवी पुग्थिन् र भिमबहादुरको घरमा पस्थिन् । चिया पिउँदै गफिन्थिन् । यो सिलसिला पछिल्लो समयसम्म पनि जारी थियो ।

‘अब म मैतिदेवीको बाटो कसरी हिँड्नुहोला ?’ दीपाश्री भुत्भुताउँछिन् ।

किन हो, भिमबहादुर दीपाश्रीलाई ‘कस्तुरी’ को संज्ञा दिन्थे ।

‘तँ कस्तुरी होस, तेरो सुगन्ध सबैले थाहा पाउनुपर्छ,’ भिमबहादुरको भनाई उद्वृत गर्दै दीपाश्रीले सुनाइन् ।

उनी दीपाको जन्मदिन कहिल्यै पनि भुल्दैनथे । हरेक जन्मदिनमा ‘परी’ को गुडिया उपहार दिने गर्थे ।

‘तँ परी होस नी मेरो,’ उनी भन्ने गर्थे । उनले दिएका सबै गुडियाहरु दीपाले घरमा सजाएर राखेकी छन् ।

‘हरेक तिजमा बोलाएर दर खुवाउनुहुन्थ्यो । तिजको भाग भनेर खामबन्दी गरेर पैसा दिनुहुन्थ्यो । उहाँले दिएको खामबन्दी पैसा अहिलेसम्म नखोलिकन दराजमा राखेकी छु,’ दीपाश्रीले भनिन् ।

उनले पुरानो बानेश्वरमा घर बनाउँदा भिमबहादुर कम्ति खुशी भएका थिएनन् ।

‘मैले घर बनाउँदा भिमबहादुर बुवा कम्ति खुशी हुनुभएको थिएन,’ दीपाश्रीले भनिन्, ‘उहाँ र मेरो बुवा सँगै बसेर घरपुजा गर्नुभएको थियो ।’

२० वर्षअघि अमेरिका गएका भिमबहादुरका एक मात्र छोरा प्रकाश थापा एकचोटि पनि फर्केर आएनन् । बाबुको मृत्यू हुँदासमेत उनी आएका छैनन् । बुहारी र नाति केही महिनाअघि आएका थिए । भिमबहादुरले नातिको ब्रतबन्ध गरिदिए र उनीहरु फर्किए ।

उहिल्यै बिहे भएका दुई छोरीमध्ये एक तराईमा बस्छिन् भने अर्की भारतको कलकत्तामा । मैंतिदेवीमा भिमबहादुरका बुढाबुढी मात्रै थिए । भिमबहादुर पनि नरहेपछि उनकी ८६ वषिर्या पत्नी एक्लिएकी छन् । अहिले उनको रेखदेखका लागि छोरीकी छोरीलाई सोही घरमा कोठा लिएर राख्ने तयारी गरिएको छ ।

जिर्ण शरीर र कमजोर स्वास्थ्यका बाबजुद भिमबहादुर निकै उर्जावान थिए । उनको कलाकारिताको भोक अझै मेटिएको थिएन । पछिल्लो पटक छक्का पञ्जा-२ मा अभिनय गरेका थिए । दीपाश्रीका अनुसार उनी काम कम सुन्थे, त्यसैले कानमा चिच्याएर डाइलग सुनाउनुपथ्र्यो । तर, सुनिसकेपछि डाइलग कन्ठ गर्न भने उनलाई कत्ति पनि समय लाग्दैनथ्यो ।

भिमबहादुर आफ्नो ९४ औं जन्मदिन धुमधामले मनाउने तयारीमा थिए । उनको जन्मदिन १३ असारमा पर्छ । उनले मैंतिदेवीको एउटा रेस्टरेन्ट दीपाश्रीलाई देखाउँदै भनेका थिए, ‘यही रेस्टुरेन्टमा मनाउनुपर्छ । खुब रमाइलो गर्नुपर्छ है छोरी । तँलै फुर्सद भएन भन्न पाउँदिनस ।’

पछिल्लो ६ महिनादेखि भिमबहादुर अस्वस्थ भएका थिए । फोक्सोमा पानी जमेको थियो । एक महिना अगाडि मात्रै दुवै किड्नी फेल भएको थाहा भयो । साथै मुटुको भल्व पनि सुन्निएको थियो । दीपाश्रीले नै उनलाई उपचारका लागि गंगालाल पुर्‍याएकी थिइन् । केही सुधार भएपछि घर फर्काइएको थियो ।

तर, त्यसको केही दिनमै फेरि समस्या बल्भिmएपछि सैनिक अस्पताल पुर्‍याइएको थियो । त्यहाँ केही दिन उपचारपछि थापाले घर जाने इच्छा व्यक्त गरेका थिए । सायद उनी घरमै आफ्नो प्राण बिसाउन चाहन्थेँ । उनलाई गत आइतबार घर ल्याइएको थियो । त्यसको तीन दिनपछि बुधबार बिहान २ बजे उनले प्राण त्यागे ।

‘उहाँलाई गुमाउँदाको पीडा त छँदैछ, तर, उहाँले भने पीडाबाट मुक्ति पाउनुभयो जस्तो लाग्छ,’ दीपाश्रीले भनिन् ।

भिमबहादुरको ९३ वर्षको उमेरमा बुधबार राति दुई बजे निधन हुँदा दीपाश्री पोखरामा छक्का पञ्जा ३ को सुटिङ गर्दै थिइन् । उनको मोबाइलमा दुखद खबर आउनासाथ सुटिङ प्याकअप गरेर काठमाडौं आइन् र परिवारलाई सान्त्वना दिइन् । अहिले उनी पोखरा फर्किसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment