Comments Add Comment

अवकाशको २ वर्षसम्म कर्मचारीले एनजीओमा काम गर्न पाउँदैनन् : मन्त्री पण्डित

कर्मचारीलाई प्रश्न– तलब बुझ्ने अनि काम नगरेर किताब मात्रै पल्टाउने ?


३ असार, पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले अवकासको २ वर्षसम्म कुनै पनि एनजीओ, आईएनजीओमा काम गर्न नपाउने बताएका छन् । राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजीओ, आईएनजीओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुने गरेको उनले बताए ।

‘माथिल्लो पदमा रहेकाहरु रिटायर्ड भएकै दिन अर्को गैरसरकारी कार्यालयमा साइनबोर्ड झुन्ड्याइसकिएको हुन्छ । सबै सूचनाहरु तुरुन्त त्यहाँ अपडेट हुन्छ । त्यो सूचनाहरु आईएनजीओहरुले प्रयोग गर्छन्,’ मन्त्री पण्डितले भने, ‘हाम्रो सूचना नजाओस् भन्ने हो । उहाँहरु प्रति राष्ट्रले लगानी गरेको छ । त्यसको प्रतिफल राष्ट्रले नै पाओस् ।’

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीलाई अवकासपछि पनि देशमै काम गर्ने गरी व्यवस्था मिलाउने बताए । ‘मैले योभन्दा पहिले नै पूर्वविशिष्ट राष्ट्रसेवकहरुको कार्यकारी परिषद् बनाएको छु । त्यसको अफिस पनि छ,’ मन्त्री पष्डितले भने, ‘राष्ट्रसेवक जो विशिष्ट श्रेणीबाट रिटायर्ड भएका छन् उनीहरु बाँचुञ्जेल राष्ट्रको सल्लाहकार हो । विदेशीहरुले कन्सल्ट्यान्टमा हात हालेका छन्, त्यो स्वदेशी राष्ट्रसेवकले नै गर्ने व्यवस्था मिलाउँदै छु ।’

मन्त्री पण्डितले जहिलेसम्म राष्ट्रसेवक हुने हो त्यतिबेलासम्म उत्साहित भएर काम गर्नुपर्ने बताए । कर्मचारीलाई नेपाल सरकारले २४ घण्टामा जुनसुकै बेला जहाँ पनि खटाउन सक्ने भन्दै उनले काठमाडौंमै बसिराख्छु भन्नु गलत भएको बताए ।

‘काठमाडौंमै सेवा गर्न पाए स्वाद आउने नत्र नआउने भन्ने छ कतिपय कर्मचारीमा’, पण्डितले भने, ‘तर देश भनेको हुम्ला, जुम्ला मुगुदेखि लिएर मनाङ, मुस्ताङ पनि हो । त्यहाँ पनि जनता छन् । सरकारले त्यहाँ पनि सेवा गर्नुपर्छ ।’
जागिर खाएर पनि पढ्ने मात्रै, काम नगर्नेमाथि निगरानी भइरहेको उनले बताए । ‘पैसा पनि खाइरहने किताब पनि पल्टाइरहेको छ । यो के–का निम्तिभन्दा माथि जानका लागि । जनताको काम नगरी माथि जाने काम उपयुक्त होइन’ मन्त्री पण्डितले भने ।

पण्डितले प्रशासनिक अन्तरिक संक्रमण चलिरहेको पनि बताए । असार महिनाको अन्तिमसम्म प्रशासनिक संक्रमणको अन्त्य हुने उनको विश्वास छ । ‘अहिले स्थानीय तहमा ९५ प्रतिशत प्रमुख प्रेशासकीय अधिकृतको व्यवस्था भइसकेको छ । अब अन्य कर्मचारीको पनि व्यवस्था हुन्छ,’ उनले भने, ‘खटाइएका कर्मचारीलाई चेतावनीसहित पत्र दिइसकिएको छ । नजाने कर्मचारीलाई कारबाही हुन्छ ।’ छिट्टै प्रदेश लोक सेवा आयोगमार्फत सबै ठाउँमा कर्मचारीको व्यवस्थापन हुने उनले बताए ।

राष्ट्रसेवक कर्मचारी जनताकाबीच भिज्न सक्नुपर्ने भन्दै उनले मन्त्रालयमा आफू नहुँदा पनि निगरानी गरिरहने उनले बताए । ‘मन्त्रालयमा सिसी क्यामरा जडान गरेको छु । मैले मोबाइलबाट जहाँ बसेर पनि हेर्छु । के भइरहेको छ भन्ने थाहा पाउँछु,’ उनले भने, ‘कतिपय बेला आफैं छड्के पनि जान्छु । अन्य मन्त्रीज्यूहरुले पनि गर्नुभएको छ ।’

मन्त्री पण्डितले आफूले कुनै पनि काम चर्चाका निम्ति नगर्ने तर काम गर्दा जनताले चर्चा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment