Comments Add Comment

सलाहको चुनौती सामना गर्न रुस तयार

५ असार, काठमाडौं । रुसका प्रशिक्षक स्तानिस्लाभ चेर्चेस्कोभले उनको टिमले इजिप्टका फरवार्ड मोहम्मद सलाहलाई रोक्न सक्ने बताएका छन् ।

चोटमुक्त भएका सलाहले मंगलबार रुससँग हुने खेलबाट विश्वकपमा सुरु गर्दैछन् ।

आयोजक रुसले विश्वकपको पहिलो खेलमा साउदी अरबलाई ५-० ले स्तब्ध बनाएको थियो । तर, उसले सेन्ट पिटर्सबर्गमा सलाहको इजिप्टसँग खेल्दा कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

सलाहले लिभरपुलमा यो सिजन धेरै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए तर, च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मडि्रडका डिफेन्डर सर्जियो रामोसले लडाएपछि उनी चोटग्रस्त भएका थिए ।

उरुग्वे विरुद्धको खेलमा मैदानमा सलाह र्फकने आशा गरिए पनि प्रशिक्षकले उनलाई उतारेनन् । उक्त खेलमा इजिप्टले १-० को पराजय भोग्यो ।

‘हामीले सलाहको चुनौतीका रुपमा बुझेका छौं र सबै टिमको अध्ययन गरेका छौं,’ चेर्चेस्कोभले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘ती टिममा केही खेलाडी छन् जसलाई हामीले विशेष ध्यान दिनुपर्छ ।’

चेर्चेस्कोभले रियल मडि्रडका रक्षक रामोसले सलाहलाई घाइते बनाउने नियतले नलडाएको विश्वास पनि व्यक्त गरे ।

‘मलाई लाग्छ रामोसले सलाहलाई जानाजान लडाएका होइनन्, कहिलेकाहीँ खेलमा यस्तो हुन्छ, कसैले पनि अर्को टिमको खेलाडीलाई गलत नियतले लडाउँदैनन्’ उनले भने ।

गत महिना किभमा भएको च्याम्पियन्स लिगको फाइनल खेलमा रामोसले ३० औं मिनेटमा लडाएपछि सलाह चोटग्रस्त भएर रुँदै मैदान छोडेका थिए ।

‘खेल अघि हामीले मोहम्मद सलाह तयार छन् कि छैनन् भन्ने थाहा पाउनेछौं तर, हाम्रो आफ्नै लक्ष्य छ र लक्ष्य प्राप्त गर्न आतुर छौं’ चेर्चेस्कोभले भने ।

रुसले इजिप्टसँगको खेल जितेमा उनीहरु अन्तिम १६ मा छनौट हुन सक्छन् तर, त्यसको लागि उरुग्वे र साउदी अरब बीच हुने खेलको नतिजा कुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment