Comments Add Comment

हिट फिल्मको खोजीमा रहेकी मलिना ‘तिमी हुन्छौ…’ बाट कति आशावादी ?

फिल्म नचले पनि दर्शकको माया पाएकी छु : मलिना

फिल्म क्षेत्रमा आएको पाँच वर्ष भइसक्दा पनि मलिना जोशीलाई अझै पूर्व मिस नेपाल भनेर चिनिनुपर्ने अवस्था छ । कारण, उनले अहिलेसम्म अभिनय गरेका कुनै पनि फिल्मले हलमा भिड जम्मा गर्न सकेका छैनन् ।

मिस नेपाल भएको केही समयपछि २०७० सालमा ‘ऋतु’ मार्फत फिल्ममा इन्ट्री गरेकी हुन् मेलिनाले । पहिलो फिल्ममै उनले असफलता चाख्नुपर्‍यो । त्यसयता उनका थप चार फिल्म -झुम्की, संरक्षण, द विनर, रानी, प्रदर्शनमा आए । ती फिल्महरु पनि सबै फ्लप भइदिनाले उनी नायिकाको रुपमा स्थापित हुनै सकिनन् । तर, यात्रा भने जारी राखेकी छन् ।

त्यसो त फिल्म असफल भए पनि आफूलाई दर्शकहरुले माया गरिरहेको ठान्छिन् मलिना ।

फिल्म हिट भएको भए सायद धेरै अगाडि बढिसक्थेँ, तर पनि म दुखी छैन किनकी मेरो काम मन पराएर दर्शकले मलाई माया गरिरहनु भएको छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

यद्यपि आफूले अत्यधिक आशा राखेका फिल्मबाट राम्रो नतिजा नआउँदा उनको मन खिन्न नहुने होइन । गत वर्ष रिलिज भएको फिल्म ‘रानी’ बाट उनलाई अत्यधिक आशा थियो । उनले मिहिनेत पनि निकै गरेकी थिइन् । तर, फिल्म आएको र गएको नै पत्तो भएन । पब्लिसिटीको कमजोरीले गर्दा उक्त फिल्म हेर्न दर्शकहरु हलसम्म नआएको मलिनाको बुझाई छ ।

‘म हरेक फिल्ममा आफ्नो १०० प्रतिशत दिने प्रयास गर्छु । तर म एक्लैले फिल्म हिट गराउने क्षमता राख्दिनँ । मैले राम्रो काम गरे पनि अरु धेरै कारणले फिल्मको व्यापारलाई असर गर्छन्,’ मलिना भन्छिन् ।

निर्माता-निर्देशकले फिल्म निर्माण गर्दा अत्यधिक हेलचेक्र्याई गर्ने गरेको पनि उनको अनुभव छ ।

एउटा फिल्मको उदाहरण दिँदै भनिन्, ‘त्यो फिल्मको डविङ गर्ने बेलामा मैले थाहा पाएँ कि अत्यन्त महत्वपूर्ण सिन काटिएछ । त्यो सिन निकै मिहिनेत गरेर खिचिएको थियो । मैले यसबारेमा सोधखोज गरेँ । अनि जवाफ पाएँ कि फिल्मको त्यो सिन हार्ड डिस्कबाट उडेको रहेछ । तर, उनीहरुले त्यसलाई रि-सुट गर्न चाहेनन् । जम्मा एक दिनको काम थियो त्यो । त्यति सानो काम नगर्दा फिल्मको आत्मा नै मर्‍यो । अनि कसरी दर्शकले मन पराउन् ?’

उनले कतिपय निर्माता निर्देशकले आफ्नो फिल्मलाई हिट सावित गर्न व्यापारको झूटो विवरण पेश गर्ने गरेको पनि दावी गरिन् । ‘मेरा निर्माताहरुले त्यसरी झूटको खेती गर्नुभएन, त्यसैले म फ्लप नायिकामा दरिएँ,’ उनले भनिन् ।

मलिनाले अभिनय गरेको नयाँ फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ यसै साता रिलिज हुँदैछ । यो फिल्मबाट उनी कत्तिको आशावादी छिन् ?
‘यो फिल्ममा मैले आफ्नो तर्फबाट निकै मिहिनेत गरेको छु । तर, फिल्म कस्तो बनेको छ, म भन्न सक्दिनँ, किनकि मैले डबिङपछि हेरेको छैन । राम्रो बनेको भए दर्शकले पक्कै रुचाउनुहोला ।’

यो एउटा लभ स्टोरी फिल्म हो । धरानबाट आफ्नो करिअर बनाउने सपना देखेर काठमाडौं आएकी केटीको जीवनमा आउने उतारचढावलाई फिल्मले प्रस्तुत गरेको छ । मलिनाले यो फिल्ममा नवनायक मनिष श्रेष्ठको जोडीको रुपमा अभिनय गरेकी छन् ।

पक्कै पनि यो फिल्म सफल भएमा सबैभन्दा फाइदा मलिनालाई हुने छ भने असफल भए सबैभन्दा ठूलो घाटा पनि उनैलाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment