Comments Add Comment

पहिलो खेल जितेको इरानले स्पेनलाई रोक्न सक्ला ?

६ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को आˆनो दोस्रो खेलमा बुधबार राति पौने १२ बजे स्पेन र इरान खेल्दै छन् । यो इरान र स्पेनबीच हुन लागेको पहिलो खेल हो ।

समूह चरणको पहिलो खेलमा मोरक्कोलाई १-० ले हराएको इरानले अघिल्लो चरणमा जाने सम्भावना बनाउन पोर्चुगलसँग बराबरी गरेको स्पेनलाई रोक्नुपर्ने हुन्छ ।

मुख्य डिफेन्डर रुजबेह चेसामी घाइते रहकाले इरान समस्यामा छ । उनी अभ्यासका क्रममा घाइते भएका थिए । उनको स्थानमा मोहम्मद रेजा खानजादेलाई खेलाइने सम्भावना छ ।

स्पेनले पहिलो खेलमा पोर्चुगलसँग खेलेको टोलीमा फेरबदल नगरी इरानसँग खेल्ने सम्भावना प्रबल छ । सन् २००८ देखि २०१२ सम्म फुटबलका मुख्य प्रतियोगितामा राज गरेको स्पेन यसपटक रसिया विश्वकपमा पनि दाबेदार टिम हो ।

स्पेनिस टिम स्टार खेलाडीले भरिएको छ । डिफेन्स र मिड लाइनमा उत्कृष्ट तालमेल मिल्ने खेलाडी स्पेन टिममा छन् । डिफेन्समा रियल मडि्रडका सर्जिओ रामोस र बार्सिलोनाका जेरार्ड पिके साथै मिडफिल्डमा बार्सिलोनाका आन्द्रेस इनिस्टा र बुस्केट्स उम्दा लयमा छन् ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने किपर डेभिड डे गा पनि विश्व फुटबलको उत्कृष्ट किपरको रुपमा अघि आएका छन् । उनले पहिलो खेलमा नराम्रो गल्ती गरेर टिम बराबरीमा पुगेको भए पनि उनको क्षमतामा प्रशिक्षक फर्नान्डो हिरेरोले विश्वास गरेका छन् । साथै डेबिड सिल्भा र इस्को पनि फर्ममै देखिएका छन् ।

स्पेनको टिममा रहेका ६ खेलाडीसँग सन् २०१० मा विश्वकप उपाधि जितेको अनुभव पनि छ । जसमा डेविड सिल्भा, सर्जिओ रामोस, आन्द्रेस इनिएस्टा, पेपे रिना, सर्जिओ बुस्क्वेट्स र जेरार्ड पिके हुन् ।

इरानले अहिलेसम्म युरोपियन टिमलाई विश्वकपमा हराउन सकेको छैन । युरोपियन देशसँग विश्वकपमा इरानले पाँच खेल हारेको छ । एक खेल बराबरी गरेको छ ।

स्पेनका डियगो कोस्टाले पोर्चुगलविरुद्ध प्रहार गरेका दुई सटमा दुवै गोलमा परिणत भएका थिए । स्पेनबाट खेलेका पछिल्लो आठ खेलमा कोस्टाले आठ गोल नै गरेका छन् । यसैले इरानले अघिल्लो चरणमा जान लयमा रहेका कोस्टालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

इरान यसपटक विश्वकपमा एसियाबाट छनोट हुने पहिलो टिम हो । उज्वेकिस्तानलाई २-० ले हराएपछि इरानले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

इरानको यो पाँचौ विश्वकप हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ को विश्वकप खेलेको थियो ।

इरानले विश्वकपमा खेलेका १३ खेलमा ८ खेल हारेको छ । ३ खेल बराबरी गरेको छ । २ खेल जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलले हराएको थियो । त्यसपछि इरानले जारी विश्वकपमा मोरक्कोलाई हराएको हो ।

कसले के भने ?

पहिलो खेल अघि नै इरानका प्रशिक्षक कार्लोस क्विरोजले आफूहरु टुरिस्टको रुपमा मात्र रसिया नआएको र राम्रो खेल प्रदर्शन गर्ने बताएका थिए । उनले आफूहरु सक्षम रहेको र जित देखेर अचम्म मान्नु नपर्ने बताएका छन् ।

‘यदि मोरक्कोसँगको खेल हाम्रा लागि विश्वकप फाइनल खेल जस्तो थियो भने स्पेनसँगको खेल यो जगतकै ठूलो उपाधि हुनुपर्छ’ उनले भने, ‘हामीले जित्ने कुरा कुनै अनौठो मान्नु हुँदैन । खेलाडीहरु एकत्रित भएर जितका लागि संघर्ष गर्दा असम्भव केही हुँदैन ।’

यस्तै स्पेनका मिडफिल्डर इस्कोले रसियामा आफूहरुको यात्रा अघि बढ्न इरानसँगको खेल महत्वपूर्ण रहेको बताएका छन् । ‘हाम्रा लागि महत्वपूर्ण खेल हो । अप्ठ्यारो त हुन्छ नै तर पनि हामी पहिलो मिनेटदेखि नै गोल गर्ने प्रयासमा हुने छौँ’ उनले भने, ‘हामी हाम्रै शैलीमा फुटबल खेल्ने छौँ । पोसेसनमा ध्यान दिएर राम्रा पास खेल्ने छौँ । यसले गोलको अवसर बन्ने छ । आशा छ हामी छिटै गोल हान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment