Comments Add Comment

युवाहरु किन यति अधैर्य ? फस्नु होला है

हामीकहाँ भनाई नै छ, हतारको काम लतार । हडबडले हुन्छ, गडबड । अर्थात हतारमा गरिएको कामले राम्रो नतिजा दिदैन । भनिन्छ नि, कुनैपनि काम गर्दा सोचविचार गरेर मात्र गर्नुपर्छ ।

तर, आजकालका युवाहरुमा धैर्यताको कमी छ । उनीहरुलाई हरेक काम धेरै छिटो गर्नुपर्छ । उनीहरुलाई खाना खान हतार हुन्छ, कहिँ जान छ भने पनि छिटो, सडकमा सवारी चलाउन तिव्र गति, गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड बनाउन पनि छिटो र ब्रेकअप गर्न पनि छिटो चाहिन्छ ।

युवाहरु समय लगाएर काम गर्न भन्दा छिटो छिटो सक्न चाहन्छन् । उनीहरुलाई लाग्छ जसरी एक क्लिकमा गुगलबाट हरेक प्रश्नको जवाफ मिल्छ त्यसरी नै जिन्दगीमा पनि हरेक काम फटाफट हुनुपर्छ । सोचविचार गर्ने त पुरानो पिँढीको काम जस्तो लाग्छ ।

यदि कुनै कुराको लागि आमाबुबाले केहि भने पनि उनीहरुको जवाफ हुन्छ को सँग यति धेरै समय छ र सोचेर बस्नेे, यदि अगाडी बढ्न छ त तेज रफ्तारमा कुद्नै पर्छ ।

हरेक कुरा छिटो गर्ने चक्करमा युवहारु काम तुरुन्तै सक्छन् तर, हतारमा गरेको काममा केहि न केहि कमी अवश्य रहन्छ भन्ने कुरा भने सम्झन सक्दैनन् ।

हतारमा काम गर्दा भोग्नुपर्छ यस्ता समस्या

 हतारमा हुन्छ दोधार

जो मानिस हतारमा हुन्छन उनीहरु छिटोछिटो बोल्छन, अगाडीका मानिसहरुलाई नसकिँदै बीचमै प्याच्च बोल्छन्, अरुको कुरा ध्यानसँग सुन्दैनन र उनीहरुलाई कुनै काम दिइयो भने उनीहरु पुरा गर्न सक्दैनन् । त्यस्तै उनीहरुलाई के गरुम वा के नगरुम भन्ने दोधार हुन्छ ।

निर्णय लिने क्षमतामा कमी

कुन अवस्थामा के गर्न आवश्यक हुन्छ भन्ने कुरा हतारमा सम्भिmन मुश्किल हुन्छ । कठिन समयको सामना गर्दा हतारमा मानिस आत्तिने र हडबडाउने हुन्छ । अवस्था नियन्त्रण गर्न सकिँदैन र केहि यस्तो कदम चालिन्छ जसको कारण महत्वपूर्ण सम्बन्ध समेत गुम्न सक्छ ।

असफलताको सामना

हडबडीमा तपाई आफ्नो शतप्रतिशत दिन सक्नुहुन्न । सफल नभएपछि त्यसलाई छोडेर अर्को काम गर्न सुरु गर्नुहुन्छ । हतारमा तपाईलाई के सहि वा के गलत हो भन्ने कुरा बुझ्न गाह्रो हुन्छ । यस्तोमा कैयौं समस्याको सामना गर्नुपर्छ । पटकपटकको असफलताको कारण धेरै युवाहरुले गलत बाटो रोज्न पनि सक्छन् ।

विश्वास कायम राख्न असफल

यदि तपाईले छिटो काम गरेर अरुलाई प्रभावित गर्न सकिन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुन सक्नुहुन्छ । किनभने हतारमा काम गरेर तपाईले अरुलाई प्रभावित गर्न सक्नुहुन्न ।

एकपटक सोच्नुहोस, एक ड्राइभरले तिव्र गतिमा गाडी कुदाएर तपाईलाई समय भन्दा अगाडी नै गन्तव्यमा पुर्याँउछ तर अर्को ड्राइभरले ठिक्कको गतिमा गाडी कुदाएर सहि समयमा पुर्याउँछ । तपाई दुईमध्ये कुन ड्राइभरलाई धेरै विश्वास गर्नुहुन्छ ? पक्कै पनि दोस्रोलाई विश्वास गर्नुहुन्छ । यसैगरि जीवनमा पनि तपाई धैर्य र संयमले मात्रै अरुलाई प्रभावित पार्न सक्नुहुन्छ ।

स्वास्थ्यको लागि हानीकारक

आजका युवाहरुलाई फटाफट बनाएर खान सकिने खानेकुरा मात्रै मनपर्छ । खाना बनाउन किन घन्टौं मेहनत गर्ने भन्ने उनीहरुलाई लाग्छ । यति मात्रै हौइन उनीहरु जहाँ पनि जे भेटेपनि खाइदिन्छन् । यसकारण उनीहरुले कम उमेरमै धेरै खालका रोगहरुको सामना गर्नुपर्छ ।

करियरमा हतार गर्नु महंगो पर्न सक्छ

युवाहरु काम सहि तरिकाले सिक्नको सट्टा जागिर परिवर्तन गर्नमा विश्वास गर्छन् । यदि कुनै दिन हाकिम वा अन्य कोहि सिनियरले केहि भनेमा उनीहरु घरमा आएर बबाल खडा गर्छन् । यो कम्पनीमा काम गर्नुछैन, यति धेरै काम गर्छु तर मलाई जस दिँदैनन् जस्तो सोच्न सक्छन् ।

उनीहरु आफ्नो अगाडिपछाडिको कुरा सोच्दैनन र रिसको झोँकमा जागिर नै छोडिदिन्छन । तर यस्तो गर्नु करियरको लागि ठिक हुँदैन । एउटा काम छोडेर दोस्रो काम गर्दा पैसा त धेरै नै पाउन सक्नुहुन्छ तर, तपाई कुनै पनि काममा दक्ष बन्न सक्नुहुन्न । हरेक काम गर्दा बिस्तारै थोरै थोरै ज्ञान मिल्छ त्यसैले आफ्नो कामलाई राम्रो बनाउने कोसिस गर्नुपर्छ ।

यतिमात्रै होइन हरेक काममा हतार गर्नाले तपाईले धेरै खालका स्वास्थ्य समस्याहरुको पनि सामना गर्नपर्छ । तनावको स्तर बढ्छ, हार्मोनल परिवर्तन देखिन्छ, व्यक्तिगत सम्बन्ध पनि प्रभावित हुन्छ ।

तपाई सफल हुन चाहनुहुन्छ र जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने हरेक काममा हतार गर्नुको सट्टा आफ्नो काम राम्रो बनाउने तिर लाग्नुहोस ।

समय व्यवस्थापनको गुण सिक्नुहोस । कुनै कामलाई पर्याप्त समय दिनुको अर्थ तपाई अल्छी हुनुहुन्छ भन्ने हुँदैन । तर यसको मतलब तपाई सिस्टमेटिक तरिकाले काम गर्नुहुन्छ भन्ने हुन्छ । त्यसैले कुनै पनि कामलाई हतार हतार सक्नुको सट्टा अलि समय दिएर सक्ने प्रयास गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment