
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- सहरको संघर्ष र गरिबीको कथा समेट्ने नयाँ नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’ शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
- फिल्मले सहरको जीवनको कथालाई अर्गानिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ, जसले नेपाली कथालाई नयाँ आयाम दिन्छ।
- निर्देशक दीपेन्द्र के खनाल र कलाकार केकी अधिकारीले यस फिल्मबाट नेपाली सिनेमा उद्योगलाई नयाँ दिशा र सम्भावनाहरु देखाउने बताएका छन् ।
काठमाडौं । पछिल्लो समय पर्दामा गाउँका कथा मात्र चित्रण भैरहँदा, धेरैपछि सहरको कथावस्तु समेटेर फिल्म ‘के घर के डेरा : घर नम्बर २’ आउँदैछ । सहरी गरिबी, सहरी मान्छेको संघर्ष र दुःखमाथि फिल्म बन्ने क्रममा कमी आइरहेको थियो । यो प्रवृत्तिमाझ, दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ ।
यो मल्टिस्टारर फिल्मले परिस्थितीवश सहरको एक घरमा भेटिएका फरक पृष्ठभूमि र ‘आर्क’का पात्रको कथा पेश गर्छ । यसअघि ‘पशुपतिप्रसाद’जस्तो व्यवसायिक र समीक्षात्मक फिल्म निर्देशन गरेका खनालले धेरैपछि ‘अर्बन स्टोरी’मा फिल्म ल्याएका छन् । यसैसाता आयोजित फिल्मको पत्रकार सम्मेलनमा निर्देशक खनालसहित अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री केकी अधिकारी र निर्माता नकिम उद्दिन यसबारे सुनिए ।
नेपाली फिल्म गाउँको कथावस्तुमा केन्द्रित देखिन्छ । धेरैपछि सहरी कथावस्तुमा फिल्म बनेको छ । के भन्नुहुन्छ ?
खगेन्द्र – ‘लुट’पछि नेपाली कथामाथि फिल्म बन्न थाले भन्ने कुरा आयो । धेरैजसो गाउँबाट सहरमा आएर गर्ने संघर्षको कथामा फिल्म बने । जुन पात्रको सीधा सम्बन्ध गाउँसँग छ । गाउँका कथा मात्र वास्तविक कथा हो भन्ने अघोषित मान्यता थियो नेपाली फिल्ममा । नेपालभित्र रहेका सहरको कथा पनि त नेपाली कथा हो नि त ।

सहर भनेको धनीहरू बस्ने ठाउँ हो भन्ने हुन्छ आमरुपमा । सहरको गरिबी गाउँको गरिबी भन्दा भयानक हुन्छ । मान्छेले त्यसलाई एकदम नजरअन्दाज गरेको देखिन्छ । सहरी गरिबी झनै खतरनाक हुन्छ । म विद्यार्थी भएर बस्दाखेरी बिजुलीको बिल तिर्ने पैसा नहुने घरबेटी पनि थाहा छ मलाई । भाडामा बस्छन् मान्छे तर, बिजुली काटिएको छ । त्यो पनि सायद गरिबीले हो । काठमाडौंमा घर भएपछि सबै चीज छ भन्ने मान्यता हुन्छ ।
पछिल्लो समय सहरकेन्द्रित सिनेमा बन्न थालेको यसकारण हो । हाम्रा नेपाली मौलिक कथा गाउँका मात्र हैनन्, सहरका पनि हुन् । सहरको जनजीवन पनि हाम्रै जनजीवन हो भन्ने मान्यता पनि स्थापित हुँदै गएको हो । अर्गानिक कथाको परिभाषा परिवर्तन भएर अझै ठूलो बन्न खोजेको समय हो कि ।
दीपेन्द- मेरा फिल्म जहिले पनि काठमाडौं केन्द्रित हुन्छन् । काठमाडौं खाल्डोभित्रका कथामा मलाई इन्ट्रेस्ट लाग्छ । खगेन्द्रजीले भन्नुभएजस्तै गाउँको गरिबीभन्दा सहरको गरिबी एकदमै डरलाग्दो हुन्छ । गाउँमा त हामी सर्भाइभ गर्न सक्छौं । आफ्नो एउटा परिधि हुन्छ । आफ्ना मान्छे हुन्छन् । काठमाडौं खाल्डोभित्र यस्तो डरलाग्दो समाज हुन्छ कि त्यहाँ कसैले कसैलाई चिन्दैन । घरहरु त टाँसिएका छन् तर मन टाँसिएको हुँदैन । मलाई जहिले पनि काठमाडौं खाल्डोभित्रको सम्बन्धको कथाले जहिले पनि तान्छ । अधिकांश फिल्म हेर्ने हो भने काठमाडौं केन्द्रित हुन्छन् । यो पहिलो होइन । नेपालभित्रको नेपालीको कथा सबै अर्गानिक हुन् । मेरो झुकाव काठमाडौं खाल्डोभित्र छ ।

के तपाईंले ‘के घर के डेरा’लाई ‘पशुपतिप्रसाद युनिभर्स’सँग जोड्ने प्रयास गर्नुभएको छ ?
दीपेन्द्र– खगेन्द्रजी पनि हुनुहुन्छ र म पनि छ । हाम्रो एउटा बन्डिङ छ । ‘पशुपतिप्रसाद’भित्र पनि पात्रहरूले सीमित परिधिभित्र गर्ने संघर्षकै कथा छ । आर्यघाट जोडिएको छ तर आर्यघाट पट्टी फिल्म धेरै जाँदैन । घरको एउटा छतभित्रै हुन्छ फिल्म । लाग्नु स्वभाविक हो किनभने निर्देशकको स्वाद हुन्छ नि यसमा । पूर्णरुपमा पशुपतिप्रसादलाई मानक बनाएर यस्तै फिल्म बनाउँछु भन्ने हुँदैन । आर्क त्यस्तै हुनसक्छ । किनभने पशुपतिप्रसादमा पनि त्यसलाई मानक बनाएर भनिएको सीमित परिधिभित्रको कथा थियो । यसमा परिस्थितीले एउटै घरभित्र जोडिने मानिसको कथा छ ।
‘के घर के डेरा’लाई लिएर तपाईंको आशा के छ ?
केकी– यो चलचित्रमा आबद्ध भएदेखि नै यो टीम र स्क्रिप्टबाट आशा बोकेरै जोडिएको हुँ । रिलिजको हिसाबले पनि ‘बोक्सीको घर’पछि शून्य समयमा जानुपर्ने गरायो ग्राउण्डेड हुनलाई । ब्याक टु– केही नजानेको व्यक्तिजस्तो हुन पनि ग्याप लिएको थिएँ । यति राम्रो टिमबाट, बुद्धिसागरजीले लेखेको फिल्मबाट स्क्रिप्ट आइसकेपछि, दीपेन्द्र दाईसँग यसअघि काम पनि भएको थिएन । आफ्नो तर्फबाट, कथाबाट उच्च आशा राखेर काम गरेको हुँ ।
अहिले डबिङमा जति आउटपुट देखेको छु, अझै पनि फाइनल त मलाई दर्शककै आँखाबाट हेर्न मन लाग्ने भएर अझै पनि फिल्म मैले हेरिसक्या छैन । जतिले पनि हेर्नुभएको छ, फिल्मबारे राम्रो भन्नुभएको छ । अर्गानिक कुराबारे, हामीले गाउँ र माटोको कथा भन्नुपर्छ भनेर एकपक्षीय कथालाई मात्र अर्गानिक कथा गरेका रहेछौं । सुरुमा अर्गानिक कथा भन्ने सुन्दा पनि त्यही शब्दलाई कनेक्ट गर्छ । साइन्स फिक्सन फिल्म बनाउनुपर्यो, कथा एक नेपालीको बनाउनुपर्यो । तर, ऊ चाहिँ अमेरिकाको नासामा काम गरिराखेको छ भने, त्यो कथा पनि त अर्गानिक कथा हो नि । हामीले विभिन्न जनरामा जम्प गरेर नेपाली अर्गानिक कथा भन्न चाहिँ अब सुरुवात गर्नुपर्छ ।

‘के घर के डेरा’को युएसबी (उत्प्रेरक तत्व) म चाहिँ लेखक र निर्देशकलाई मान्छु । बुद्धिसागरजीको कवितात्मक, साहित्यतर्फ झुकाव भएको महसुस तपाईंले हेरुन्जेल पाउनुहुन्छ । दीपेन्द्र दाईलाई मनपर्ने जनरा त्यो चीज पाउनुहुन्छ ।
के फिल्म हिट गराउन दर्शकलाई रुवाउनुपर्ने हो ?
दीपेन्द्र- यो फिल्मको सबैभन्दा सुन्दर लागेको पक्ष भनेको चाहिँ हरेक पात्र एकअर्कामा कसरी जोडिन्छन् भन्ने हो । हरेक पात्र मालाजसरी कसरी जोडिन्छन् भन्ने रोचक लागेको हो खिच्दादेखि नै । यसमा कोभिडपछिको सेटिङको कथा छ । कोभिडपछि हामी जुन सामाजिक, आर्थिक र राजनीतिक स्थितीमा छौं, त्यो सबैलाई कहिँ न कहिँ कुराले छुन्छ । पात्रका चारपाँच वटा लाइन छन् । चलचित्र हेर्दा दर्शकलाई मन कटक्क बनाउँछ भन्ने लाग्छ ।
फिल्म चलाउन दर्शक रुवाउनुपर्ने होइन तर दर्शकको मन चाहिँ छुन पर्ने हो । दर्शकको मन छोए न त आँसु आउने होला । जुन कुराले मनमा छुन्छ, त्यसमा रुचि हुन्छ जस्तो लाग्छ ।
निर्माता र वितरकको तपाईंले विगतमा धेरै अन्तर्राष्ट्रिय फिल्म वितरण गर्नुभयो । के देखेर तपाईं नेपाली फिल्मको वितरणमा सक्रिय हुनुभयो ?
नकिम उद्दिन- डिजिटल क्रान्तिले एउटा सफलता ‘लुट’को सक्सेस होला । त्यो अझै पनि भाइरल हुन पाएको थिएन । त्यसको पहिलो वास्तविक लाभ ‘छक्कापञ्जा’ले पाएको होला पहिलो । त्यसले नेपालको बक्सअफिसमा नेपाली फिल्मले कति ब्यापार गर्न सक्छ भन्ने देखायो । त्यो दिन हामीलाई थाहा थियो कि, राम्रो नेपाली फिल्म बनेर त्यो भाइरल बन्यो भने, त्यसले ठूलै फाइदा नेपाली चलचित्रलाई गर्छ भन्ने थियो । ‘पूर्णबहादुरको सारंगी’लाई हेर्ने हो भने त त्यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । डेढसय हलले ५० करोडको बक्सअफिस दिन सक्छ भन्ने कुरा चाहिँ ‘बियोन्ड इम्याजिनेसन’ हो ।

यदि नेपाली फिल्मले कल्पनाभन्दा परको ब्यापार गर्न सक्छ भने त्यस्ता कन्टेन्टमा लगानी गर्ने, मार्केटिङ गर्ने, विदेशमा बजार खोज्ने, अन्तर्राष्ट्रिय ओटीटीमा लन्च गर्ने एप्पलको लक्ष्य हो । हामीले हालै मुम्बई जाँदा धेरै इन्टरन्यासनल स्टुडियोलाई भेटेर हाम्रा कथा भन्ने चाहना राख्यौं । मेरो निजी सोचाई के छ भने, यस्तो एउटा प्लाटफर्म होस् कि जहाँ नेपाली फिल्म पनि होस् । नेपाली फिल्म राख्ने हो भने एउटा फिल्मले मात्र पुग्दैन, जसको क्याटालग नै हुनुपर्छ ।
क्याटालग नै हुन, निर्माताले डिजिटल राइट बेचिसक्या हुन्छन् । निर्मातासँग त्यो राइट नै छैन । त्यस्तो फिल्मलाई लगेर राख्न राइट नगएको फिल्म लिनुपर्यो । राइट किनेकासँग नेगोसिएट गर्नुपर्यो । मल्टि-कन्टेन्ट भएको प्लाटफर्ममा नेपाली फिल्म राख्न सके ग्लोबल अडिएन्सले पनि ती फिल्म हेर्थे ।
प्रतिक्रिया 4