
काठमाडौं । सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथावस्तुमा बनेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २० सेकेन्डको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।
छोरालाई जसरी पनि घर जोगाउन सल्लाह दिँदै गरेका अभिनेता हरिहर शर्माको दृश्यबाट कथा सुरु हुन्छ । खगेन्द्र लामिछानेको पात्र बाबुको सल्लाह शिरोपर गर्न संघर्षरत देखिन्छ ।
सहरमा आएर जीविकोपार्जनको लागि मरिमेट्ने पात्रको रुपमा उसलाई प्रस्तुत गरिएको छ । ऊ आफूलाई बीचको मान्छे बताउँछ । निर्देशकले उसलाई बीचको मान्छेको रुपमा चित्रण गर्दै आममध्यम वर्गको कथा भन्ने प्रयत्न गरेका छन् ।
काब्यात्मक शैलीमा प्रस्तुत गरिएको न्यारेसनको पृष्ठभूमिमा ट्रेलरले फिल्मका प्रमुख पात्रको चरित्र चित्रण गरेको छ । आर्यन सिग्देल र केकी अधिकारीले ऋणमा डुबेका दम्पतीको भूमिका निर्वाह गरेका छन् । प्रकाश घिमिरे ऋणको बोझमा आत्मदाह गर्न लागेको दृश्यमा देखाइएको छ ।
निश्चल बस्नेत, उपासनासिंह ठकुरीजस्ता कलाकार पनि ऋणको बोझमा थिचिएका समस्याग्रस्त पात्र देखिन्छन् । निर्देशकले खगेन्द्रको पात्रमार्फत नैतिक उपदेशको सन्देश दिने प्रयास पनि गरेका छन् । ट्रेलरको अन्त्यमा पैसा कमाउनुभन्दा जीवनमा मान्छे र आशीर्वाद कमाउनु र खुसी हुनु महत्वपूर्ण छ भन्ने सन्देश दिइएको छ ।
चर्चित साहित्यकार बुद्धिसागरले यसको पटकथा लेखेका हुन् । बुद्धिसागरले चरित्र र उनीहरूको मनोदशालाई काव्य शैलीमा प्रस्तुत गरेका छन् । यो फिल्मलाई नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन् । ‘के घर के डेरा : घर नम्बर २’ जेठ २ गतेदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4