Comments Add Comment

स्वीटजरल्याण्ड भर्सेस सर्बिया : ब्राजिलको जितपछि दबाब, को रोकिएला ?

८ असार, काठमाडौं । सबैभन्दा कमजोर मानिएको सर्बियाले पहिलो खेलमा कोस्टारिकालाई हराएपछि समूह ‘ई’ बाट अघिल्लो चरणमा जाने सम्भावना फेरिएको छ ।

सर्बियाले पहिलो खेलमा ब्राजिलसँग बराबरी गरेको स्वीट्जरल्याण्डसँग शुक्रबार राति पौने १२ बजे खेल्दैछ ।

घाइते रहेका स्वीट्जरल्याण्डका मिडफिल्डर भलोन बेहरमी ठीक भएका छन्, उनी सर्बियाविरुद्ध खेल्ने अनुमान गरिएको छ । प्रशिक्षक भ्लादिमिर पेट्कोभिकले ब्राजिलसँग बराबरी खेलेकै टिम सर्बियाविरुद्ध खेलाउने तयारी गरेका छन् ।

सर्बियाका लुका मिलिभोजेभिकलाई पनि स्वीट्जरल्याण्डविरुद्ध खेल्न फिट छन् । प्रशिक्षक म्लादेन क्रेस्टाजिकले खासै परिवर्तन नगर्ने बताए पनि फिलिप कोस्टिकलाई सुरुवातमै खेलाउने बुझिएको छ ।

सर्बिया र स्वीट्जरल्याण्डबीच यसअघि खेल भएको छैन । सर्बिया युगोस्लाभियाकै रुपमा विश्वकपमा सहभागी हुँदा भने दुई टिमबीच १३ पटक भेट भएको थियो जसमा स्वीट्जरल्याण्डले ६ खेल जितेको थियो । दुई खेल युगोस्लाभियाले जितेको थियो भने ५ खेल बराबरी भएको थियो ।

स्वीट्जरल्याण्ड अहिलेसम्म पछिल्ला सात खेलमा अपराजित रहेको छ । जसमा ४ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

स्वीट्जरल्याण्डको यो ११ औं विश्वकप सहभागिता हो । फिफा वरियतामा छैठौं स्थानमा रहेको स्वीट्जरल्याण्ड यसअघि सन् १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

यसपटक पनि स्वीट्जरल्याण्ड क्वार्टरफाइनलसम्म पुग्ने आश गरिएको छ । त्यसको छनक पहिलो खेलमा ब्राजिलसँग १-१ को बराबरी गरेर स्वीट्जरल्याण्डले दिइसकेको छ ।

सन् २००९ मा यु १७ विश्व बिजेता बनेको टोलीका धेरै सदस्य अहिले विश्वकप खेल्ने टोलीमा छन् । यसैले स्वीट्जरल्याण्डले आफ्नो उत्कृष्ट खेल क्षमता देखाइरहेको छ ।

सन् २०१४ को ब्राजिल विश्वकपमा पनि स्वीट्जरल्याण्ड राम्रो लयमा थियो । त्यसबेला अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएको स्वीट्जरल्याण्ड टिम अहिले झनै बलियो देखिएको छ ।

उता फिफा वरियतामा ३४ औं स्थानमा रहेको सर्बियाको यो १२ औं विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । त्यो बेला युगोस्लाभियाकै रुपमा रहेको सर्बियाले त्यसपछिका विश्वकपमा भने सम्झनलायक सहभागिता जनाएको छैन ।

युगोस्लाभियाकै रुपमा सर्बियाले सन् १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा पनि विश्वकप खेलेको थियो । त्यसमा १९९० मा क्वार्टरफाइनलसम्म पुग्नु सर्बियाको ठूलो सफलता हो । २००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो ।

समूह ‘ई’ अन्र्तगत नै शुक्रबार बेलुका कोस्टारिका ब्राजिलसँग पराजित भएकाले सर्बिया र स्वीट्जरल्याण्डमाथि पनि दबाब बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment