Comments Add Comment

‘पैसा छ, किताब निकाल्यो भन्ने आरोप लाग्ने गरेको छ’

चौधरी ग्रुपले रक्सी र चुरोटको ब्यापार पनि गर्छ, म त्यसो गर्दिनँ


९ असार, काठमाडौं । बसन्त चौधरी मूलतः उद्योगी–व्यवसायी हुन् । चौधरी ग्रुपअन्तरगत ‘बीएलसी कम्पनी’का प्रमुख चौधरीसँग दर्जनौं उद्योग तथा सेवामूलक व्यवसाय छन् । यद्यपि उद्योगी–व्यवशायीसँगै उनको पहिचान कवि तथा गीतकारका रुपमा पनि बढ्दै गएको छ । ‘गरौं कि मीठो भूल’ गीतका गीतकार बसन्तका ८ वटा गिती एल्बम निस्किसकेका छन् । जसमध्ये ‘कुछ ख्वाइसेँ कुछ बन्दिसे’ र ‘मोमेन्टस अफ लभ’ हिन्दी गीतका एल्बम हुन् । दुबै एल्बममा भारतका चर्चित गायक–गायिकाले श्वर दिएका छन् । ६ वटा नेपाली एल्बममा पनि सबैजसो चर्चित गायक–गायिकाको श्वर सुन्न सकिन्छ ।

कविता र फुटकर लेखमा पनि चौधरीको कलम चल्ने गरेको छ । ‘राष्ट्रियता नदुखोस्’ र ‘संवाद’ दुई प्रवन्ध संग्रह प्रकाशन गरेका बसन्तका ०७१ सालमा ‘मेरा कविताहरु’ प्रकाशन भएपछि उनी एकाएक कविका रुपमा उदाए । उनका कविता पढेर कतिपयले उनलाई अरुले नै लेखेका कविता आफ्नो नाममा छापेको आरोपसमेत लगाए ।

सायद यसैको जवाफमा हुनुपर्छ, चौधरीले दोस्रो कविता कृति हिन्दीमा निकाले–‘आँशुकी सिहाइ से’ । गएको महिना उनको ‘वसन्त’ नामक नयाँ कविता कृति नौवटा भाषामा एकसाथ प्रकाशित भएको छ । यसअघि उनले ‘मेघा’ नामको अर्को कृति पनि प्रकाशन गरेका थिए । अहिले श्रेया घोषालको श्वर भएको उनको एउटा हिन्दी गीत युटुवमा छाएको छ ।

दाजु विनोद चौधरी चर्चित उद्योगी भैसक्दा पनि भाइ बसन्तमा उद्योग बढाउने भन्दा काव्य कृतिको संख्या बढाउने रुचि देखेपछि हामीले उनीसँग साहित्यिक वार्ताको प्रयास गरेका हौं ।

प्रस्तुत छ हाम्रा अनलाइनखबरकर्मी अश्विनी कोइराला र बसन्त चौधरीबीच भएको अन्तरंग कुराकानीः

तपाईं गीत, कविता त लेख्नुहुन्छ । तर, तपाईंको नाममा नै गल्ती छ । यो अलि विरोधाभास भएन ?

जबसम्म मैले एल्बम निकालिनँ वा कृति लेखिनँ, नाममा कहिल्यै ‘अब्जेक्सन’ आएन । जब गीत र कविता संग्रह आए, मान्छेले भने, नाममा गल्ती भयो ।

यो साँचो हो कि नेपाली शब्दकोशमा ‘बसन्त’को कुनै अर्थ छैन । साथीभाइले भन्नुभयो– बसन्त होइन, वसन्त लेख । एकपल्ट त सोचेँ, सच्याइदिऊँ । तर, मनले मानेन । मेरी आमाले मलाई पहिलोपल्ट लेख्न सिकाएको ‘बसन्त’भित्र जुन धर्को छ, त्यो भनेको मेरो माताको माया र पिताजीले दिएको विरासत हो । आज शुद्ध बनाउने नाउँमा मलाई त्यो विरासत छाड्ने इच्छा भएन । गल्ती नै सही, त्यो मेरालागि मातापिताले दिएको उपहार हो । त्यसलाई गल्ती नै छाडिदिउँ । आखिर म गल्ती नै नभएको मानिस पनि कहाँ हुँ र ? यसो हेर्दा यो सिम्बोलिक जस्तो पनि लाग्छ ।

तपाईंका गीत–कविता प्रकाशन हुँदा केही टीकाटिप्पणी पनि सुनिन्छन्, ती सुन्दा कस्तो लाग्छ ?

कस्तो टिका–टिप्पणी ?

त्यही, तपाईंले अरु कसैलाई नै पैसा दिएर लेखाउनुहुन्छ र त्यसमा तपाईंको नाम थपिन्छ !

पहिले म पनि सुन्थेँ र दुःखी हुन्थेँ । तर, जब लगातार गीती एल्बम आए र हिट भए, ती आरोप मत्थर भएर गए । फेरि कविता संग्रह आयो । त्योबेला मसिनो रुपमा यस्ता आरोप लाग्छन् रे भन्ने सुनेँ, समयले जवाफ दिन्छ भनेर चुप लागेँ । सायद आजभोलि यस्ता कुरा गरिँदैन । किनभने आजको समाज फराकिलो पनि भैसक्यो र मानिससम्म मेरो कवि हृदयको तरंग पुगिसक्यो ।

चौधरी ग्रुपले रक्सी चुरोटको ब्यापार पनि गर्छ । तर, म त्यसो गर्दिनँ । एकातिर नर्भिक अस्पताल खोल्ने र अर्कोतिर चुरोट–रक्सीको उद्योग पनि खोल्ने मेरो आत्माले स्वीकार गर्दैन

म यो भन्दिनँ, सुरुमै मैले राम्रो लेखेँ । सुरु सुरुका गीत–कविताहरुमा मलाई सुझाव दिने, सम्पादन गरिदिने साथीहरु पनि हुनुहुन्थ्यो । त्योबेला मलाई संकोच लाग्दथ्यो । तर, सम्पादन बिना त केही पनि बन्दैन । विश्वभरि नै यो चलन छ । त्यसपछि मैले आफ्नो काम गरिरहेँ ।

अर्को कुरा, म यस्ता आरोपलाई नराम्रो पनि भन्दिनँ । किनभने लामो समयसम्म मैले मेरा गीत–कवितालाई लुकाएर राखेँ । एकैपटक ०४८ सालमा फाट्फुट्ट पत्रिकामा देखिन थालेँ । अनि ०५१ सालमा पूरै गीती संग्रह नै आएपछि यस किसिमका टीकाटिप्पणी आउनु स्वभाविक पनि थियो । सुरुदेखि नै प्रकाशन गरिरहेको भए सायद, यस किसिमका आरोप लाग्ने थिएनन् ।

किन लुकाएर राख्नुभयो, केही कारण थिए ?

खासमा मलाई लेख्न सक्छु भन्ने विश्वास थिएन । केवल डायरीमा कोरेर बस्थेँ । व्यवसायिक वातावरणमा कहिल्यै पनि साहित्यको चर्चा हुँदैनथ्यो । भइहाले पनि त्यो व्यवसायका लागि हानिकारक हो भन्ने मानिन्थ्यो । यस्तोमा मैले कवि–लेखकको संगत गर्न पनि आफूलाई रोकेँ । वातावरण नै त्यस्तै थियो । तैपनि मलाई सम्झना छ, स्कुलमा कविता प्रतियोगिताहरुमा भाग लिन्थेँ । गीत गाउँथे ।

जसले मेरो बाल्यकाल बुझेको छ, उनीहरुलाई थाहा छ, म सानैदेखि गीत–कविता लेख्न रुचाउने मान्छे हो । सायद यही कारण हो, मैले युवा छँदा सांगीतिक ब्याण्ड ‘रेड पर्ल’मा गायकका रुपमा आफूलाई उभ्याएँ । नेपाल टेलिभिजनमा टेलिश्रृंखला निर्माण गरेँ । मासिक र साप्ताहिक पत्रिकाहरु चलाएँ । ती गर्नुका पछि मभित्र लेखक–कवि कतै लुकेर बसेको थियो । तर, मैले आफूलाई चिन्न सकिरहेको थिईंन ।

तपाईंभित्र कवि–लेखक कसरी जन्मियो होला ? किनभने तपाईंको दाजु विनोद चौधरीको आत्मकथा पढ्दा कतै पनि तपाईंको परिवारमा लेखक–कवि जन्मने वातावरण नै थिएन…

हो, वातावरण थिएन । मैले भनिसकेँ, कवि लेखकलाई गलतरुपमा बुझिन्थ्यो । तै पनि म आज मेरो परिवारका अरु सदस्यभन्दा फरक छु । सायद, मैले जन्मँदै त्यो गुण बोकेर आएको थिएँ । यो कुरा म कसरी पनि भन्न सक्छु भने धेरैपटक पैसा कमाउने चर्चा चल्दा, व्यवसायिक दाउपेच हुँदा मलाई लाग्दथ्यो, यो सब ठीक छ ? सिधा काम गरौं, कमाउँ भन्ने मनमा आउँथ्यो । अनि कहिलेकाहिँ व्यवसायिक तनाव हुँदा म गलत ठाउँमा छु भन्ने लाग्दथ्यो । यसको अर्थ मैले उहाँहरु गलत भन्न खोज्या होइन । उहाँहरु व्यवसायीका रुपमा ठीक सोच्नुहुन्थ्यो । व्यवसायको धर्म नै पैसा कमाउनु हो । यति हो, मेरो मुटु उहाँहरु भन्दा फरक थियो ।

सायद मेरो यही स्वभाव बुझेर होला, बुवाले चाँडै नै आफ्नो व्यवसाय हामी तीन भाइलाई छुट्याइदिनुभयो । मैले दुहबीमा भएको पशुपति बिस्कुट र महालक्ष्मी मैदा मिल लिएर आफ्नो व्यवसायिक जीवन सुरु गरेको हुँ । किनभने त्यो बुवाको पहिलो उद्योग थियो । त्यहाँ बुवाका विश्वासिला कामदार हुनुुहुन्थ्यो । म व्यवसाय गर्न कठोर हृदय नभएको मान्छे भएकाले यस्तो निर्णय लिएको थिएँ । इतिहासका यी कुराहरुबाट पनि म कवि हृदयको थिएँ भन्ने महसुस हुन्छ ।

लगातार हिन्दी र नेपाली एल्बम निस्किएका छन् । मारवाडी र हिन्दीसहित नेपालमा बोलिने ९ वटा भाषामा कविता संग्रह प्रकाशन भएको छ । यसले आम मानिसलाई कस्तो प्रभाव परेको छ भन्ने ठान्नुुहुन्छ ?

पैसा छ त्यही भएर निकाल्यो भन्ने आरोप लाग्ने गरेको छ । यस्ता आरोप आउँछन् । तर, मैले आफ्नो धर्म छाड्नुहुुन्न । नेपालमा समावेशिताको कुरा गरिन्छ । तर, आफूले सक्ने ठाउँमा समावेशिताको नमूना किन नपस्कने भन्ने मनमा आयो । समावेशिताको अर्थ भाषा साहित्य पनि हो, मैले गर्न सक्छु भने अरुले के भन्छ भनेर किन रोक्ने ?

‘वसन्त’ कविता संग्रहलाई नेपालका अरु भाषामा पनि प्रकाशन गर्ने सुझाव आएका छन् । आफ्नो कृति धेरै भाषामा प्रकाशन हुनुलाई मैले त्यो भाषाको विकासको रुपमा लिएको छु । अनेक कुरा आउँछन् र हराउँछन् । म आफ्नो काममा विश्वास गर्छु ।

विनोद चौधरीको भाइ भएका नाताले तपाईंलाई दाजु जस्तै हुन दबाव पर्छ कि पर्दैन ? कसैले विनोद चौधरीसँग तुलना गरिदिँदा कस्तो लाग्छ ?

व्यवसायिक परिवारमा जन्मे हुर्केका कारण व्यवसाय गर्न सिकेँ, त्यो राम्रो भयो । व्यवसायमै राम्रो गर्न दबाव हुन्छ । तर, मेरो व्यापार गर्ने आफ्नै शैली छ । त्यसलाई मैले कहिल्यै परिवर्तन गरिनँ । जस्तो, चौधरी ग्रुपले रक्सी चुरोटको ब्यापार पनि गर्छ । तर, म त्यसो गर्दिनँ । एकातिर नर्भिक अस्पताल खोल्ने र अर्कोतिर चुरोट–रक्सीको उद्योग पनि खोल्ने मेरो आत्माले स्वीकार गर्दैन । बरु दुई पैसा कम कमाउँछु, तर मैले चाहेको जस्तो उद्योग–व्यवशाय गर्छु भन्ने कुरामा हिजो पनि अडिक थिएँ र आज पनि अडिक छु ।

जहाँसम्म विनोद दाइसँग तुलना गर्ने कुरा छ, त्यसलाई मैले नराम्रो मान्दिनँ । मैले किन उहाँजस्तो प्रगति गरिनँ भनेर सोध्नु नराम्रो पनि होइन । मैले अझै पैसा कमाए हुन्थ्यो भन्ने अपेक्षा गर्नु अस्वाभाविक पनि होइन । दुई चार पैसा कम बेसीको कुरा हो । जे गरेको छु, हृदयको आवाज सुनेरै गरेको छु भन्ने लाग्छ ।

तपाईं जहाँ हुर्कनुभयो, त्यो वातावरणले तपाईंलाई कवि बन्न सहयोग गर्यो भन्ने लाग्छ ?

काठमाडौंको खिचापोखरी, जहाँ म जन्मिए हुर्किएँ, त्यहाँको डबली प्याखमा नेवारी नाटक मञ्चन हुन्थ्यो । त्यसलाई हाम्रो कौसीबाट पनि हेर्न सकिन्थ्यो । एकाबिहानै खर्पन बोकेका ज्यापुहरु हिँडेका दृष्यहरुले मनमा एकप्रकारको उर्जा जन्मन्थ्यो । हामी नेवारी भाषामै साथीहरुसँग कुरा गर्दथ्यौं । जात्रा र पर्वका बीच हामी हुर्किएका हौं । बाल्यकालमा भोगेका यी कुराहरुले मेरो जीवनमा गहिरो प्रभाव पारेका छन् । पक्कै पनि त्योबेलाका कुराले मलाई कवि बनाउन सहयोग गरेको थियो ।

तपाईंका कविताहरु पढिरहँदा कुनै प्रियसीसँग गुनासो गरिरहनुभएको देखिन्छ । कतै घुक्र्याउनुहुन्छ र कतै रिसाउनुहुन्छ । स्कुल–कलेज पढ्दा कुनै युवतीको प्रेममा हुनुहुन्थ्यो ?

अब यो प्रेम केलाई भन्ने ? प्रेमका धेरै रुप हुन्छन् भन्ने कुरा तपाईं आफै लेखक भएकाले बताइरहनुपर्दैन । त्योबेला कसैको आकर्षणमा परेँ हुँला । तर मैले गुनासो गर्ने, घुक्र्याउने वा रिसाउने प्रेमिका मेरो भौतिक जीवनमा छैनन् । कतै अचेतनमा ती प्रेयसी लुकेर बसेकी छन् ।

जब कसैसँग कुनै कुरा गर्न सक्तिनँ, उनीसँग गनगन गर्न थाल्छु । प्रेम अनुभूति गर्दा उनैसँग प्रेम गर्छु, दुःखी हुँदा उनैसँग गुनासो गर्छु । उनको र मेरो अभौतिक र आत्मिक सम्बन्ध छ । उनी को हुन्, कस्ती छन् मलाई थाहा छैन । केवल उनी छिन्, यसमा विश्वास गर्छु र डायरीमा उतार्छु ।

तर, यसको अर्थ मैले ती अञ्जान प्रेमिकाको प्रेमको विषयमा मात्रै लेखेको छु भन्ने होइन, मेरा कवितामा माता–पिताको प्रेम पाउनुहुन्छ । परिवार र समाजको प्रेम पाउनुहुन्छ र देश प्रेम पनि प्रशस्त पाउनुहुन्छ ।

देशप्रति प्रेमभन्दा बढी तपाईमा आक्रोश देखिन्छ, यस्तो किन होला ?

जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, उबाट अपेक्षा पनि बढी नै गर्नुहुन्छ । म देशलाई माया गर्छु तर देश कस्तो छ, के यसबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? पक्कै हुनुहुन्न । म पनि छैन । यो सुन्दर देशलाई जस्तो बनाउन सकिन्थ्यो, त्यस्तो बनाउन सकिएन । त्यहाँसम्म ठिक छ । तर, बिग्रँदै जानु कहाँसम्मको ठीक हो ? यस्तोमा आक्रोश पनि उब्जन्छ । मनमा बेचैन हुन्छ । यो कुरा लेख्न मन लाग्छ । के गरौं ?

हेर्नुस्, देशमा लोकतान्त्रिक आन्दोलन हुँदा सडकमा कसैले पनि हिन्दु धर्मको विपक्षमा नारा लगाएका थिएनन् । राजाप्रति आक्रोश थियो । तर, राजतन्त्रप्रति मानिसको कुनै दुरभावना थिएन । तर, रातारात जसरी अन्तरराष्ट्रिय इन्ट्रेस्टले देशको राजनीतिक परिवर्तन भए, त्यसले धेरैको मन दुखेको छ । मेरो पनि मन दुख्दा मैले आक्रोश पोखेको हुँ ।

यो स्टेटमेन्ट सार्वजनिक गर्दा तपाईंलाई कुनै असर गर्दैन ? आखिर व्यवसायी भएपछि समय अनुसार परिवर्तन पनि हुनुपर्छ । होइन र ?

सत्य कुरा भन्न म डर मान्दिनँ । हो, व्यवसायिकरुपमा केही कुरा नबोलेकै राम्रो हुन्छ । तर, राजसंस्था हटाएर हामीले गल्ती गरेकै हौं । यो कुरा मैले व्यवसायी भएर नबोले पनि कविका रुपमा बोल्न डराउनुहुँदैन । कवि हृदयले झूठो कुरा बोल्न सक्तैन ।

अर्को कुरा, मैले राजसंस्थाको समाज सेवाप्रतिको मोह पनि देखेको छु । संयोग नै भन्नुहोस्, ०३४ सालदेखि ०४६ सालसम्म म सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा सदस्यका रुपमा काम गर्थें । जसको अध्यक्षता तत्कालीन रानी ऐश्वर्यबाट गरिबक्सन्थ्यो । त्योबेला मैले राजसंस्थाका विषयमा गरेका अनुभव र आज राजनीतिका पात्रहरुमा गरेका अनुभवका कारण पनि मलाई देशप्रति चिन्ता जाग्छ । कहिलेकाहीँ औडाहा भएर लेख्न बाध्य बनाउँछ ।

तपाईंले चार वर्ष पशुपति विकास कोषको सदस्य सचिवको हैसियतले काम गर्नुभयो । समाजसेवाको यो काममा सन्तुष्ट हुनुहुन्छ ?

चार वर्ष होइन, करिब साढे पाँच वर्ष काम गर्ने अवसर पाएँ । सायद जीवनमा यो जति महत्वपूर्ण काम कहिल्यै गरिन्न होला । आज पशुपति जाँदा जति खुल्ला ठाउँहरु देख्नुहुन्छ, त्यहाँ १ सय १७ वटा घर थिए । ती सबै भत्काएर त्यस ठाउँमा आकर्षक आध्यात्मिक वातावरण बनाउने गुरुयोजना मेरै पालामा भएका थिए । मेरो बुवा हरेक दिन विहान पशुपति पुग्नुहुन्थ्यो । हामी सबै सानैदेखि त्यहाँ पुग्थ्यौं । सायद पशुपतिनाथले त्यो सेवा गर्ने अवसर दिनु भयो ।

म सदस्यसचिव भएर पशुपति पुग्दा केही पनि व्यवस्थित थिएन । म पुगेपछि जुत्ता चप्पलको व्यवस्थापन, २४ घन्टा सफाइ, पशुपतिमा चढेका भेटी–घाटीको व्यवस्थापन यी सबै काम गरियो । त्यहाँबाट १ सय १७ परिवार विस्थापित गर्नु चानचुने कुरा थिएन । तर, सबैभन्दा पहिले पशुपतिका तत्कालीन प्रमुख भण्डारी मदन भण्डारीले आफ्नो घर आफैले भत्काए । किनभने पशुपतिको महत्व दर्साउँदै उहाँहरुलाई उचित मुआब्जासहित पशुपतिभन्दा राम्रो ठाउँमा ब्यवस्थापन गराउन बसन्त सक्षम छ भन्ने विश्वास उहाँहरुलाई भयो ।

म झूठो कुरा बोल्न–लेख्न सक्तिनँ । अनि सत्य कुरा लेखेर पाठकहरुलाई पस्कने मेरो ठूलो मुटु र आँट छैन । किनभने म सामान्य मानिस हुँ र जीवनमा धेरै गल्तीहरु गरेको छु

पहिले पशुपतिमा उठेको पैसा कहाँ जान्थ्यो, थाहा हुँदैनथ्यो । प्रशासनिक खर्च पनि सरकारले दिनुपर्दथ्यो । आज पशुपतिको पैसाले कर्मचारीको भरणपोषण मात्रै भएको छैन, त्यहाँको विकासको काम पनि त्यही आम्दानीले हुन थालेको छ । सायद व्यवसायिक अनुभव त्यहाँ काम लाग्यो । कहाँ–कहाँबाट कति–कति आम्दानी आउन सक्छ भन्ने अध्ययन गरेर गुरुयोजना बनाएका कारण यो सम्भव भयो ।

तपाईंले दोस्रो कार्यकाल पूरा गर्न पाउनुभएन, कुनै गुनासो छ ?

अहिले जुन सुस्त गतिमा त्यहाँको विकासको काम भइरहेको छ, त्यो पूरा हुन्थ्यो । विशेष गरी जति पनि खाली ठाउँ देख्नुुहुन्छ, त्यो सजाउन भएको ढिलाइले मन पोल्छ । म भएको भए सायद यति ढिला हुन्नथ्यो ।

तपाईंले साहित्य, संगीत, कला, इतिहास र प्रतिभासम्बन्धी ८ वटा पुरस्कार स्थापना गर्नुभएको छ । यसको फाइदा भने दाजु विनोद चौधरी र उहाँको कम्पनीलाई भएको छ भन्ने गरिन्छ, कस्तो लाग्छ ?

पुरस्कार होइन, सम्मान भन्नुहोला । देशकै गहनाहरुलाई पुरस्कार दिने म को हो र ? मलाई सम्मान भन्न मन लाग्छ ।

अँ, कसलाई फाइदा भयो भन्ने कुरा त्यति राम्रो होइन कि ? आखिर रगत त एउटै हो । बटबृक्ष त एउटै हो । मैले गरेको काममा दाजुले पनि जस पाउनुलाई मैले राम्रै मानेको छु । २५ वर्षअघि जब मैले आमा बुवाका नाममा स्वास्थ सेवा सञ्चालन गर्छु भनेर बुवालाई सुनाएँ, उहाँ खुसी हुनुभएको थियो । दाजुले पनि यो काम नगर भन्नु भएन ।

हो, त्यो बेला पैसा नहुँदा नहुँदै पनि जुन आँट गरेको थिएँ, उहाँहरुलाई पनि अनौठो लागेको हुुनुपर्छ । आज पो केही पैसा भयो र समाजसेवा गर्नु सामाजिक दायित्व जस्तो बन्न गयो । त्यो बेला व्यवसाय गर्ने पैसाले सामाजिक काम गर्नु अनौठै थियो । मैले आँट गरेकै हो । आज पनि स्वास्थ्य, साहित्य, संगीत, कला, इतिहास जति पनि विषय छन्, यसमा म र मेरो कम्पनी नै अग्रसर भइराख्या छ । दाजुको आफ्नो रुची छ र मेरो आफ्नो रुची छ । उहाँले मलाई व्यवसायिक सल्लाह दिने गर्नुभएको छ । उहाँजस्तो दाजु पाएका कारण मलाई प्रगति गर्न सजिलो भएको छ । म खुसी छु ।

तर कला साहित्यमा लाग्दा व्यवसायमा परेको अप्ठ्यारोको पनि अनुभव छ कि ?

छन् । तर, मैले व्यवशायमा भन्दा साहित्य कलामा लागेर धेरै पाएको छु । जुन नाम र इज्जत केवल व्यवसायमा मात्र पाइँदैन, त्यो मैले पाएको छु । यसलाई पैसामा मूल्यांकन गर्न सकिँदैन । ती अप्ठ्यारोका तुलनामा मैले पाएको इज्जतलाई तुलना गर्ने हो भने पैसामा नाप्न सम्भव छैन ।

तपाईं लेखिरहने मान्छे, दाजुको जस्तै आत्मकथा लेखौं भन्ने लागेको छैन ?

लेख्न मन त लाग्छ । तर, लेख्दिनँ । कारण, जति पनि आत्मकथा पढेको छु, त्यहाँ झुटो कुरा पनि पाएको छु । सायद त्यसो गर्नु आत्मकथाकारको बाध्यता पनि होला । म झूठो कुरा बोल्न–लेख्न सक्तिनँ । अनि सत्य कुरा लेखेर पाठकहरुलाई पस्कने मेरो ठूलो मुटु र आँट छैन । किनभने म सामान्य मानिस हुँ र जीवनमा धेरै गल्तीहरु गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment