Comments Add Comment

जन्मदिनमा मेस्सीको बाचाः विश्वकप नजितेसम्म सन्यास लिन्नँ

काठमाडौं । रुस विश्वकपमा लगातार खराब प्रदर्शनपछि दुई पटकको विजेता अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा संशयमा छ । तर, स्टार खेलाडी लिओनल मेस्सीले भने विश्वकपको उपाधि चुम्ने भोक रत्तिभर कम भएको छैन ।

आइतबार ३१ औं जन्मदिन मनाएका मेस्सीले अझैं विश्वकप जित्ने सपना नत्यागेको बताएका हुन् ।

पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३-० ले स्तब्ध भएको थियो । उसले अब समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ । नकआउट चरण पुग्न उसले नाइजेरियालाई हराएर मात्र हुन्न, आइसल्याण्डसँग क्रोएसिया हार्नु पनि हुन्न ।

मिररका अनुसार मेस्सीले आफू र अर्जेन्टिनाका लागि विश्वकप विशेष भएको बताएका छन् । ‘आफैंले विश्पकपको ट्रफी उचालेको हेर्ने सपना छ’ उनले भनेका छन्, ‘यसले विश्वभरका लाखौं अर्जेन्टिनी समर्थकलाई खुसी बनाउनेछ ।’
‘त्यसैले हामीले सपना त्यागेका छैनौं’

आफूले क्लब फुटबलमा सबै प्रतियोगिता जितेपनि महत्वकांक्षा पुरा नभएको भन्दै उनले भने, ‘विश्व च्याम्पियन नभएसम्म फुटबलबाट सन्यास लिन चाहन्न ।’

यदि यो पटक अर्जेन्टिना विश्वकपको उपाधि जित्न असफल भयो भने मेस्सीले २०२२ सम्म पर्खनुपर्छ । तर, त्यसबेला मेस्सीको उमेर ३५ वर्ष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment