Comments Add Comment

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।

मोरक्को समूह चरणबाटै बाहिरिसकेको छ । स्पेन, पोर्चुगल र इरानमध्ये दुई टिम अघिल्लो चरणमा जाने छन् ।

स्पेन र पोर्चुगलको चार/चार अंक साथै इरानको तीन अंक छ । सोमबार समूह चरणको फाइनल खेलमा निराश हुने एक टिम को होला ?

मोरक्कोसँगको खेलमा बराबरी गरेमा मात्रै पनि स्पेन अघिल्लो चरणमा जानेछ । स्पेन हारेमा पनि सम्भावना सकिने छैन । स्पेन कम अन्तरले हारेमा पोर्चुगल र इरान जो विजेता हुँदा पनि अघिल्लो चरणमा जान्छ । पोर्चुगल र इरानले कम गोलको बराबरी गरेमा पनि स्पेन अघिल्लो चरणमा जान्छ ।

पोर्चुगल इरानसँगको खेलमा बराबरी गरेमा अघिल्लो चरणमा जाने छ । यदि स्पेन र पोर्चुगल दुवै पराजित भएमा बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ ।

स्पेन र पोर्चुगल दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।

स्पेन र पोर्चुगलको अहिलेसम्म अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रहृयो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।

इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ ।

पोर्चुगल र इरानको यस्तो छ स्थिति

इरानका मुख्य डिफेन्डर इसान हजसफी घाइते रहेकाले पोर्चुगलविरुद्धको खेलमा हुने छैनन् । उनको स्थानमा मिलाद मोहम्मदीलाई खेलाइँदै छ ।

पोर्चुगलका मिडफिल्डर जाओ मोउटिन्हो केही दिनदेखिको अभ्यासबाट बाहिर रहकाले उनी खेल्ने नखेल्ने निश्चित छैन । डिफेन्डर राफेल गुरेरियोको स्थानमा पनि अन्य खेलाडी राखिने बताइएको छ ।

विश्वकप सुरु हुनअघि यो समूहमा इरान अन्तिममा रहने अनुमान गरिएको थियो । तर, एक खेल जितेर अहिलेसम्म पनि अघिल्लो चरणमा दौडमा यथावत छ ।

विश्वकप इतिहासमै अहिलेसम्म अघिल्लो रचणमा जान नसकेको इरानका लागि पोर्चुगल लाइनलाई विफल पारेर इतिहास बनाउने अवसर छ ।

अहिले इरानका प्रशिक्षक रहेका कार्लोस क्विरेजले पोर्चुगलको राष्ट्रिय टिम पनि सम्हालिसकेका छन् । पोर्चुगलकै उनले सन् २०१० को विश्वकपमा पोर्चुगललाई अन्तिम १६ सम्म पुर्‍याएका थिए । यसैले पोर्चुगिज टिमको भित्री कुरा बुझेका उनले इरानी टिमलाई जित दिलाउने रणनीति बनाइरहेका छन् ।

अहिले विश्वकपका दुई खेलमा चार गोल गरिसकेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले सन् २००६ मा इरानविरुद्ध नै गोल गरेर विश्वकपमा पहिलो गोल गरेका थिए । त्यसबेला पोर्चुगलले इरानलाई २-० ले हराएको थियो ।

इरानले विश्वकप समूह चरणको अन्तिम खेल अहिलेसम्म जितेको छैन । एक खेल बराबरी गरेको छ भने तीन खेल हारेको छ ।

इरानले अहिलेसम्म युरोपियन टिमलाई विश्वकपमा हराउन सकेको छैन । युरोपेली देशसँग विश्वकपमा इरानले ६ खेल हारेको छ । एक खेल बराबरी गरेको छ ।

इरानको यो पाँचौ विश्वकप हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ को विश्वकप खेलेको थियो ।

इरानले विश्वकपमा खेलेका १४ खेलमा ९ खेल हारेको छ । ३ खेल बराबरी गरेको छ । २ खेल जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलले हराएको थियो । त्यसपछि इरानले जारी विश्वकपमा मोरक्कोलाई हराएको हो ।

पोर्चुगलले एसियन देशसँग विश्वकपमा खेलेका ५ खेलमा ४ खेल जितेको छ । दक्षिण कोरियासँग पोर्चुगल सन् २००२ मा पराजित भएको थियो ।

स्पेन र मोरक्कोको यस्तो छ स्थिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment