+
+

सेनेगललाई साबालेको भर, उनी हुँदा अरु ढुक्क

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते १६:१९


काठमाडौं । यदि कुनै एक खेलाडी जसले रसियामा भइरहेको विश्वकपका सुरुवाती दुवै खेलमा उच्चस्तरको प्रदर्शन गरेका छन् भने पक्कै पनि उनी सेनेगलका युसुफ साबाले हुन् ।

‘हामीलाई उनी जस्तै खेलाडीको खाँचो छ’ सेनेगलका प्रशिक्षक अलियो सिसेले बोर्डेक्सका युवा खेलाडीको प्रशंसा गर्दै भने, ‘उनी डिफेन्समा उत्कृष्ट छन् र आफ्नो लागि आफै स्पेस बनाउँछन् । उनको सडियो मानेसँग पनि गजबको तालमेल छ, जुन धेरै नै महत्वपूर्ण छ । उनी मैले चाहेको जस्तै खेलाडी हुन् ।’

पेरिसनजिकैको ले सेनेमा जन्मिएका साबालेको प्रर्दशन एक पछि अर्को खेलमा झनै उत्कृष्ट देखिएको छ । पोल्याण्डसँगको खेलमा पूरै स्फुर्तिको साथमा खेलेका २५ वर्षका उनले जापानसँगको अर्को खेलमा लेफ्ट ब्याकको रुपमा आफ्नो स्थानलाई अझै बलियो बनाए ।

फ्रेन्च क्लबको लागि खेल्ने साबालेले बल क्रस गर्ने क्षमता पनि देखाएका छन् । जापानविरुद्ध दुवै गोल गर्न उनको भूमिका थियो ।

उनको प्रहारलाई जापानी गोलरक्षक एल्जी कावासिमाले फुत्काएपछि गोलको लागि सडियो मानेले ठाउँ पाए । दोस्रो गोलको लागि मुभ बनाउने क्रममा यी फुल ब्याकले बक्समा जिनेदिन जिदानेको जस्तै खेल कौशल देखाएका थिए । उनको पासमा मोउसा वागेले राम्रो प्रहार गरे ।

साबालेका टिमका साथीहरुले खेलमा उनले देखाउने प्रयासको तारिफ गरेर थाक्दैनन् । टिम क्याप्टेन माने भन्छन्, ‘युसुफ बलियो छन् र उनी वरीपरी भएमा हामी आफूलाई सुरक्षित मान्छौं ।’

बोर्डेक्सका यी खेलाडीले विश्वकपमा सम्झनयोग्य प्रदर्शन गरिरहेका छन् । उनी अझै राम्रो खेल्नेमा दृढता व्यक्त गर्छन्, ‘मैले देशको लागि विश्वकप खेलिरहेको छु र आफ्नो बाल्यकालको सपना पूरा गरेको छु । मैले आफूलाई योद्धाको रुपमा प्रस्तुत गरेको छु र सकेसम्म देशलाई टाढा लैजाने बारेमा सोचेको छु ।’

साबालेले खेलमा पूरै ध्यान केन्दि्रत गरेका छन् । उदाहरणीय पोजिसनिङ, समयमै हस्तक्षेप गर्ने र आक्रमणमा योगदान गर्दै उनले ट्रेनिङमा सिकेका गुणहरु खेलमा देखाएका छन् ।

‘उनी साँच्चै नै अद्भूत छन् । आफ्नो खेलको स्तर कहिल्यै घट्न दिँदैनन् । उनी जतिखेर पनि दौडिरहेका हुन्छन्,’ सेनेगलका सहायक प्रशिक्षक ओमार डाफ यसलाई पुष्टी गर्दै भन्छन्, ‘उनी त्यस्तो बच्चा हुन जसले अझै धेरै सिक्न बाँकी छ तर, उनले अहिले जसरी खेलिरहेका छन् यसले चाँडै नै सबै कमजोरीलाई सुधार्न सक्ने देखाउँछ ।’

‘पक्कै पनि हामीले राम्रो समय बिताइरहेका छौं र हामीले धेरै सजिलो महसुस गरेका छौं,’ साबालेले भने, ‘सबैले हामीलाई मन पराएका छन् । तर हामीले आउने खेलमा पनि राम्रो गर्नुपर्छ । हामीले अन्तिम १६ मा स्थान पक्का गर्न कोलम्बियालाई जसरी पनि हराउनै पर्छ । हामी यहाँ बिदा मनाउन आएका हैनौं ।’

यदि राडामेल फाल्काओ प्रेरित कोलम्बियालाई समूहको अन्तिम खेलमा विफल बनाउने सोच उनीहरुको छ भने साबालेले आफ्नो उत्कृष्ट खेललाई कायम राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?