Comments Add Comment

मलेसियाको जेलबाट घर फर्केका १२ नेपाली जब भावविह्वल भए


घडीले रातको दश बजेको संकेत गरिरहँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा रामप्रसाद भुसालको छटपटी निकै बढेको थियो । उनी घरी-घरी ट्वाइलेट जान्थे र फर्केर नोकियाको ‘लोपोन्मुख’ मोडलको मोबाइलमा औंलाहरु चलाउँथे । उनी कति अधैर्य थिए भने, सामान्य भलाकुसारी गर्दा समेत बेचैन भएको अनुभूत हुन्थ्यो । नहोस् पनि किन, सात बर्षदेखि गुमनाम छोरो सरोज भुसाल मलेसियाबाट जेल जीवन भुक्तन गरेर र्फकदै थिए ।

छोरो भेटिने खबर पाएसँगै उनी अर्घखाँचीबाट रात्रीबस चढेर दिउँसो काठमाडौं आइपुगेका थिए । र, घाम अस्ताउनुअघि नै एयरपोर्ट पुगेर छोरो आउने बाटो हेरिरहेका थिए । छोरोको लागि चप्पल र ढाका टोपी बोकेका उनी घरमा पत्नीसँग ‘छोरो आइपुग्नै लाग्यो’ भन्दै खबर पनि गरिरहेका थिए ।

‘उता बुढी रोइरहेकी छे’ हतारमै उनी हामीसँग गफिए, ‘छोरो हराएदेखि नै रोएको रोएकै । यो असारमा छोरो मलेसिया गएको आठ बर्ष लाग्छ । जेल परेको रहेछ, केही अत्तोपत्तो थिएन । मनोज सर (मनोज गजुरेल)ले खबर गरेपछि थाहा पायौं । पहिले पीरले आँशु झर्‍यो, अहिले खुसीले ।’

१० कक्षा पास गरेका छोरोलाई एक लाख चालिस हजार रुपैयाँ ऋण काडेर मलेसिया पठाएका रहेछन् । तर, छोरो गएको चार महिनापछि सम्पर्क टुटेछ । छोरो कहाँ गयो ? केही अत्तोपत्तो भएन । खोजी गरौं त कहाँ गर्ने ? नखोजौ त मन गाँठो परिरहने ?

घण्टा, दिन, हप्ता, महिना गर्दै बर्षौं वित्यो । छोरो फर्केर आएन । न केही खबर आयो । मरे-बाँचेको अत्तोपत्तो भएन । झन्डै आठ बर्षपछि छोरो जेलमा रहेको र घर फर्काउन लागेको खबर सुने लगत्तै उनी छोरो भेट्ने हतारोमा काठमाडौं हान्निएछन् । ‘जे नहुन भैगयो’ उनले एकै सासमा भने, ‘छोरो फर्कियो त्यही ठूलो कुरा हो ।’

तर, मलेसियाबाट कैद भुक्तन गरेर र्फकने लस्करमा उनको छोरो मात्र थिएन । अरु ११ जना युवा,अधवैंशे पनि थिए । मुडुलो टाउकोमा उनीहरु जसै एयरपोर्टमा अवतरण गरे, केही ग्लानी, केही लाज र त्यो भन्दा बढी सन्तोषको भाव देखापर्‍यो उनीहरुको मुहारमा ।

यसरी फर्काइयो घर

मलेसियाको विभिन्न जेलमा कैद सजाय भुक्तान गरेका उनीहरुलाई पेनाङ जन-उद्वार केन्द्रले घर फर्काउन सहयोग गरेका थिए । मलेसियाबाट जन उद्वार केन्द्रका अध्यक्ष केशु थापाले आवश्यक कागजात, खर्चको व्यवस्था गरेर नेपाल फर्काएका हुन् । त्रिभुवन विमानस्थलमा उनीहरुलाई लिन हास्य कलाकार मनोज गजुरेल पुगेका थिए । उनै मनोज गजुरेलले फर्काइएका नेपालीलाई बसोबास र आफन्तको जिम्मा लगाउने बन्दोबस्ती मिलाएका रहेछन् ।

कलाकार गजुरेल भन्दै थिए, ‘थुप्रै नेपाली दाजुभाई मलेसियाको जेलमा छन् भन्ने सुनेका थियौं र केशु थापाको निमन्त्रणामा हामी त्यहाँ गएर उद्वारका लागि सहयोग गरेका हौं ।’

उनको भनाई अनुसार विभिन्न कारणले जेलमा परेका नेपाली युवाहरुले कैद सजाय भुक्तान गरिसकेपछि जुन दिन उनीहरुलाई सार्वजनिक गरिन्छ, त्यही दिन घर फर्काउनुपर्ने हुन्छ । यदि सोही दिन फर्काउन सकिएन भने उनीहरु फिर्ती केन्द्रमै लामो समय बस्नुपर्ने हुन्छ । त्यही कारण सार्वजनिक गरेको दिन नै घर फर्काउनका लागि आवश्यक कागजात मिलाउनेदेखि पैसाको बन्दोबस्ती गर्नुपर्ने थियो । सोही कामका लागि सिस्नुपानी नेपालका तर्फबाट मनोज गजुरेल मलेसिया पुगेका थिए र फिर्ती केन्द्रमा रहेका दाजुभाईसँग भेट गरेका थिए ।

‘त्यहाँ १८ जना युवा, वयस्क, वृद्धहरु भेटें’ उनले अनलाइनखबरसँग भने, ‘त्यसमध्ये केही शारीरिक अवस्थामा एकदमै अशक्त पनि थिए । केही मानसिक रुपमा विक्षिप्त थिए । उनीहरुलाई मलेसियाको जन-उद्वार केन्द्रको सहयोग, दुतावासको कानुनी सहयोग र हाम्रो (सिस्नुपानी नेपाल)को सामाजिक उत्तरदायित्व अन्र्तगत त्रिपक्षिय सहयोगमा घर फर्काउन सफल भयौं ।’

मलेसियाबाट नेपाल फर्काउनका लागि विभिन्न कागजात र कानुनी झन्झट छ । मलेसियाबाट केशु थापाको सहयोगमा कानुनी प्रक्रिया मिलाएर कैदीका आफन्त, कालाकर्मी, मलेसियामा बस्ने दाजुभाईबाट आर्थिक सहयोग जुटाएर उनीहरुलाई घर फर्काउन संभव भएको गजुरेलले बताए ।

‘यो एउटा सुरुवात मात्र हो, अब यो अभियानलाई हामी निरन्तर अघि बढाउनेछौं’ गजुरेलले भने, ‘तर,  यो विशुद्ध सेवाको भावबाट गरिएको हो, प्रचार गर्न वा पैसा जुटाउनका लागि कदापी होइन ।’ हाल विदेशको जेलमा तीन सय बढी नेपाली कैद सजाय भुक्तान गरिरहेका छन् ।

किन परे जेल ?

वैदेशिक रोजगारीमा गएर जेल सजाय भोगेर फर्केका युवाहरुसँग हामीले कुराकानी गर्‍यौं । उनीहरुले आफुहरु नियतवस् कुनै काम बिगारेर जेल परेको नभई अन्जानमा र वाध्यतावस् जेल परेको जिकिर गरे ।

आठ बर्ष मलेसियामा विताएका र पछिल्लो चार महिना जेल परेपछि घर फर्किएका पाँचथरका हरी देवानले भने, ‘नेपालबाट जुन काममा र जति सेलरी (पारिश्रमिक) भनेर मलेसिया पुर्‍याइन्छ, त्यती पैसा पाइदैन । त्यही कारण अर्कै काम खोज्दै कम्पनी परिवर्तन गर्नुपर्ने वाध्यता हुन्छ । यसरी आफु जुन काम र जहाँ गएको हो, त्यहाँ नगई अर्को काम गरेको भेटेमा त्यहाँ अवैधानिक मानिन्छ ।’ यसरी परिवन्धले आफुहरु जेल परेको उनको भनाई थियो ।

नेपालका म्यानपावर कम्पनीले मासिक १६ सय रिंगेट दिने भन्दै मलेसिया पुर्‍याएपछि ६ सय रिंगेट पनि पारिश्रमिक नदिएको उनीहरुले गुनासो गरे । ‘एउटा काममा लगेको मान्छेलाई अर्कै काम गरेको पाइएमा पनि पुलिसले पक्रन्छ’ झापाका दीलिप खत्रीले भने, ‘त्यसरी जानी-नजानी हामी नेपालीहरु फस्न पुग्छौं ।’

खासमा नेपालकै म्यानपावर कम्पनीले झुटो आवश्वसन दिएर विदेश पुर्‍याउने । विदेश पुगेपछि लगानी समेत नउठ्ने भएकाले काम वा कम्पनी नै परिवर्तन गर्नुपर्ने वाध्यता हुने । र, यसरी काम वा कम्पनी परिवर्तन गर्दा त्यो अवैधानिक ठहरिने उनीहरुले बताए । ‘धेरैजसो नेपाली त यस्तै बाध्यताले पक्राउ परेर जेल जीवन विताइरहेका छन्’ खत्रीले भने, ‘अब यसमा कसको गल्ती भन्ने ?’

कथाभित्रको कथा

जेल जीवन कटाएर फर्कने युवाहरुको लस्करमा अर्का एक युवा पनि थिए, जसलाई ह्वीलचियरमा डोहोर्‍याइएको थियो । उनको टाउको र अनुहारभरी चोटै चोट थियो । उनी स्पष्टसँग सुन्न र बोल्न सकिरहेका थिएनन् । यसरी अर्धचेत अवस्थामा फर्किएका उनी भक्तबहादुर बुढाथोकी रहेछन् । मलेसिया पुगेको ६ महिनामै सवारी दुर्घटनामा परेका उनी राम्रो उपचारको अभावमा त्यसरी बेहाल हुन पुगेछन् । कम्पनीले स्थानिय इपो अस्पतालमा राखेर उपचार गराएका उनको स्थिती झन् खराब हुँदै गएपछि अस्पतालबाटै उद्वार गरेर घर फर्काइएको रहेछ । बुढाथोकी तेह्रथुम निवासी रहेछन् ।

उनी जस्तै मलेसियामै भेट भएका कास्कीका पूर्खाधन राई पनि विक्षिप्त अवस्थामा छन् । उनलाई दिसा-पिसाब गराउन समेत अरुको साहारा चाहिन्छ । पूर्खाधनलाई तत्काल नेपाल फर्काउन नसिकएपनि प्रक्रिया भने जारी राखिएको छ । उनीसँग भेट हुँदा मनोज गजुरेलसँग भनेका थिए रे, ‘मर्ने डर होइन, अर्काको देशमा ज्यान जान्छ कि भन्ने चिन्ता हो ।’

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment