Comments Add Comment

प्रधानमन्त्री र सांसदको सवाल जवाफ : नेेपालमा रेल आउँछ, आफ्नै रेल कुद्छ

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच संसदमा रमाइलो सवाल जवाफ भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिएका थिए । खर्च कटौतीको प्रस्ताव पनि प्रस्तावका लागि मात्र भएको भन्दै उनले अधिनायकवाद आउँछ भन्नु विपक्षीको थेगो मात्र भएको धारणा राखे ।

लगत्तै सभामुख कृष्णबहादुर महराले छलफलमा भाग लिएका सांसदहरुलाई प्रश्न गर्न समय दिए भने ती प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिए ।

अन्तिम प्रश्नकर्ता कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले कम्युनिस्ट र रेलको लोककथा सुनाए । उनका अनुसार लेनिनको पालामा रेल्वेको ट्रयाक खोल्नुअघि पिकनिक जाने भनिएको थियो । तर, पोलिटब्यूरोको पिकनिक नै स्थगित गरियो ।

स्टालिनको पालामा विना ट्रयाक नै रेल गुडाउने भनियो भने ख्रुश्चेवका पालामा न्यूट्रल गियरमा राख्ने र त्यसपछि पछाडि फर्काउने भनियो । डा. रिजालले सोधे, ‘नेपालका कम्युनिस्टले आफैं रेल नबनाउने भए अरुको रेललाई आफ्नो भन्ने कि ?’

प्रधानमन्त्री ओलीले रिजालको प्रश्नबाटै जवाफ सुरु गरे । ‘विद्वान भनेको विद्वान नै हुन्छन्, डाक्टर भनेको डाक्टर नै हुन्छन्, तिथिमिति सबै याद छ’ भन्दै प्रधानमन्त्री ओलीले डा. रिजाललाई भने, ‘कहाँ रेल ट्रयाकविनै हिँड्यो, ड्राइभर को थियो सबै याद छ । यो विद्धतालाई सलाम छ । अरु केही भनिरहनुपरेन ।’

उनले अघि भने ‘नेेपालमा रेल आउँछ, आफ्नै रेल कुद्छ ।’

रेलको कुरा गर्दा केहीले अनौठो मानेको, केहीले भने राम्रो कुरा भन्ने थाहा भएर पनि झस्कने गरेको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पनि विरोध भएको र कोदारी राजमार्ग बनाउँदा तत्कालीन राजाले कम्युनिजम मोटर चढेर आउने होइन भनेर स्पष्टीकरण दिनुपरेको उनले सुनाए ।

मलेसियामा ट्वीन टावर बनाउँदा प्रधानमन्त्री महाथिरको आलोचना भएको तथा गेम्पिङ हाइल्याण्ड बनाउँदा पनि त्यस्तै भएको उनले सुनाए । एकथरी मानिसहरु महत्व नबुझेर विरोध गर्ने गरेको भन्दै उनले भने, ‘त्रिचन्द्र कलेज बनेपछि चन्द्रशम्शेरले भनेका थिए रे, आफ्नो खुट्टामा बन्चरो हान्दैछु । त्यसैले केहीले बुझेरै विरोध गरेका हुन् । विद्वान मित्रहरुको विरोध, गेम्पिङ हाइल्याण्ड जस्तो नबुझेर हो कि त्रिचन्द्र कलेज जस्तो हो नबुझेर हो ?’

प्रधानमन्त्री ओलीले त्यसपछि अरु सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिएका छन् ।

नेपाल कृषिमा पछाडि परेको तर, यो सरकारले अगाडि बढाउँछ भनेको भन्दै उनले विपक्षीतर्फ संकेत गर्दै भने, तै पनि केही साथीहरु ताली बजाउनु हुन्न ।

नेमकिपाका सांसद प्रेम सुवालले पुरातत्व लगायतका कार्यालय खारेज गरेर स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले वडाध्यक्ष पुरातत्व विज्ञ हुन् र भनेर प्रतिप्रश्न गरेका छन् ।

कांग्रेस सांसद दिलेन्द्र बडूले प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन असफल भएको भन्दै समान्य प्रशासन मन्त्रालय प्रम कार्यालयमा लगे हुँदैन भनेर व्यंग्यात्मक प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार कुनै पनि हालतमा असफल हुन जाँदैन र मान्दैन । कानुन बमोजिम चल्छ, चलाउँछ ।’

भूकम्प पीडितलाई अघिल्लो सरकारले गरेको निर्णयअनुसार राहत नदिएको, बृद्धभत्ता ६५ वर्षमै दिने निर्णय कार्यान्वयन नगरेको विपक्षीको आरोपको खण्डन गर्दै उनले भने, ‘त्यो त चुनावका लागि प्रचार न थियो । म निवेदन गर्न चाहन्छु, त्यसबेला सरकारका नभएका माननीयजीहरुलाई सरकारी रहस्य थाहा भएन कि ?’

कांग्रेस सांसद बालकृष्ण खाँडले माइतीघर मण्डलासहितका स्थानमा प्रदर्शन गर्न रोक लगाएकोबारे जवाफ मागेका थिए । ओलीले निषेधित क्षेत्र तोक्दैमा वाक स्तन्त्रतामा रोक नलाग्ने बताए । अधिकारको प्रयोग विधिपूर्वक र कानुनसम्मत हुने भन्दै उनले भने, ‘भारतमा जानुभयो भने राष्ट्रपति कार्यालय अगाडि नारा लगाउन पाइन्छ ? प्रधानमन्त्री कार्यालय अगाडि देख्या छ कहिल्यै ? जन्तरमन्तरमा जहिल्यै देख्न पाइन्छ ।’

‘दुनियाँलाई दुःख दियो भने विरोध हुने, अरुलाई दुःख दिएन भने विरोध नहुने भन्ने हुन्छ ?, उनले अघि भने ।

तानाशाही ढाल्न दरबारभित्र पसेर पनि कब्जा हुने तर, लोकतन्त्रमा त्यसो नगरिने उनले बताए । ‘अस्पतालभित्र नाराजुलुस, हड्ताल हुने गरेको भन्दै उनले भने, यो चल्दैन ।’

तोकेको ठाउँमा आरामसँग प्रदर्शन गर्न पाइने र सरकारले पनि नलखेट्ने उनले बताए । प्रधानमन्त्रीले भने, विरोध प्रदर्शन गर्न पाउनुपर्छ । सरकारले कान खुल्ला राखेर सुन्नपर्छ, आँखा खुल्ला राखेर हेर्नुपर्छ । दिमाग खुल्ला राखेर सोच्नुपर्छ समाधानका उपायहरु । तर जे भए पनि लाचार छायाँ भएर सरकार बस्न सक्दैन ।

आफ्नो अधिकारको अधिकार प्रयोग गर्दा अरुको अधिकारमा बाधा पुर्‍याउन नपाइने उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले फेरि कांग्रेस सांसद रिजालमै आएर आफ्नो सम्बोधन टुंग्याएका छन् । रिजालले केही दिनअघि मन्त्रीहरुलाई लगाम लगाउनुस् भनेका थिए । त्यसको जवाफ दिँदै ओलीले भने, ‘सरकार पनि आफ्नो थान्कोमा बस्नुपर्छ । तर हामीले बनाएको कानुन सरकारलाई मात्र लागू हुने अरुलाई लागू नहुने होइन । नेपाल सिंगै कानुनको राज हो । कानुन नियमभित्र सबै चल्नुपर्छ । विकास सबैको साझा उद्देश्य हो, त्यसमा सबैको साथ हुनुपर्छ ।’

‘जसले जे भने पनि हामी नेपालमा रेल लिगमै चलाउँछौं । डाक्टर नडाक्टर सबै चढौंला’ भन्दै प्रधानमन्त्री ओलीले आफ्नो जवाफ समापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment