Comments Add Comment

सालमुनी जलबिद्युत आयोजना निर्माण अन्तिम चरणमा

१८ असार, डोटी । डोटीको बड्डीकेदार गाउँपालिका-१ बिपिनगरमा निर्माणाधीन सालमुनी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थानीय कापडी गाडमा निर्माण भइरहेको उक्त आयोजनाका सुरुङ्ग इन्चार्ज मिन पोखरेलका अनुसार आयोजनाको निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको छ । ‘वैशाखमै काम सक्ने लक्ष्य थियो, विभिन्न कारणले ढिलो भयो,’ पोखरेलले भने, ‘अब हामी करिबकरिब अन्तिम चरणमा पुगेका छौंं ।’

करिब एक अर्बको लगानीमा निर्माण भएको आयोजना सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्ट्रक्सनले निर्माण गर्दैछन् । ३.३३ मेगावाट बिद्युत उत्पादन क्षमताको आयोजना हालसम्ममा डोटीकै सवैभन्दा ठूलो आयोजना हो ।

सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भु कन्स्ट्रक्सन र नेपाल सरकारबीच सम्झौता भए अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । उत्पादित बिद्युत नेपाल सरकारले नै आवश्यक क्षेत्रहरुमा विक्री बितरण गर्ने भन्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार ३० वर्षसम्म विद्युत विक्रिबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । पहिलो गरिएको भन्दा लागत अनुमान बढेको पोखरेल बताउँछन् । उनी भन्छन्, ‘हामीले सुरुमा काम गर्दा ८०/९० करोडको लगानीमा काम सम्पन्न होला भन्ने सोचेका थियौं, पछि काम गर्दै जाँदा एक अर्ब नै लागेको देखिएको छ, तर हामी काम सम्पन्न गरेरै छोड्छौं ।’

आयोजनाको निर्माणका क्रममा स्थानीय कापडी गाडको पानी सुरुङ्गमार्फत आयोजनामा बिद्युत गृह हुँदै स्थानीय ठुलीगाडमा छोडिनेछ । त्यसका लागि एक हजार दुई सय तीन मिटर लामो सुरुङ्ग तयार भईसकेको निर्माण पक्षले जनाएको छ ।

त्यसो त बिद्युत निर्माणका क्रममा अनावश्यक वन फडानी गरेको भन्ने अरोप समेत लगानीकर्ताहरु खेपिरहेका छन् तर आयोजना निर्माण हुन थालेपछि स्थानीयहरु उत्साहित भएका छन् ।

आयोजनाले गाउँमै रोजगारी सिर्जना भएपछि कामका लागि भारत जाने क्रम घटेको स्थानीय लोकेन्ऽबहादुर छेडालले बताए । उनले थपे, ‘हाइड्रोपावरले सबैलाई खुशी नै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ, यो भन्दा अरु के नै चाहियो र ?’

आयोजनाले उत्पादन दिन थालेपछि जिल्लाका सवै क्षेत्रमा बिद्युत बिस्तार हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment