Comments Add Comment

नेपालमा डलर अहिलेसम्मकै महंगो, अब बढ्ला कि घट्ला ?

१९ असार, काठमाडौं । अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्रबैंकले आजका लागि अमेरिकी मुद्राको बिक्री दर ११० रुपैयाँ ३८ पैसा तोकेको छ । खरिद र भने १०९ रुपैयाँ ७८ पैसा छ । यो अहिलेसम्मकै उच्च खरिख-बिक्री दर हो । यसअघि डलरको भाउ ११० रुपैयाँ ३८ पैसको उच्च रेकर्ड थियो ।

केहि महिना यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।

भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली मुद्राको भाउ खस्किदै गएको हो । भारतीय अर्थतन्त्रको तुलनामा अमेरिकी अर्थतन्त्र मजबुत हुँदै गएपछि पछिल्लो समय डलरको भाउ बढ्दै गएको हो । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउलाई बढाएको छ ।

यसअघि २०७२ सालमा अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ४८ पैसासम्म पुगेको थियो । केहि समययता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ ।

भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको राष्ट्र बैंकका विदेशी विनियम विभाग प्रमुख भिष्मराज ढुंगानाले जानकारी दिए ।

किन हुँदैछ डलर बलियो

पछिल्लो समय अमेरिकी सरकारले कर्पोरेट कर घटाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि कर्पोरेट कर ३५ बाट २१ प्रतिशतमा झारिएको छ । कर घटेसँगै विदेशमा लगानी गरेका अमेरिकी व्यवसायीहरु स्वदेशमा फर्किएका छन् ।

भारतमा लगानी गरिरहेका कैयन अमेरिकी लगानीकर्ताहरु समेत कर्पोरेट कर घटेसँगै अमेरीका फर्किएका छन् । भारतको सम्पत्ति बेचेर अमेरिका र्फकने क्रम बढेसँगै यसले भारतीय अर्थतन्त्रलाई केही नकारात्मक असर पारेको छ । भरातमा विदेशी विनियम सञ्चिति घटेपछि त्यसको असर नेपालमा पनि परेको हो ।

‘अमेरिकी डलरको कन्फिडेन्स बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सँगै माग पनि बढेको छ । त्यसले गर्दा डलर महंगो हुँदै गएको हो,’ उनले भने ।

अमेरिकाले पूर्वाधारमा लगानी बढाएको छ र यसमा निजी लगानीकर्ताको लगानी पनि बढेको छ । लगानी वृद्धिले अमेरिकी अर्थतन्त्र झनै मजबुत बनाएको छ । हालै मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको एक रिपोर्टमा पनि अमेरिकाको आर्थिक बृद्धिदर राम्रो भएको उल्लेख गरिएको छ ।

गत डिसेम्बरमा अमेरिकाको आर्थिक बृद्धि २.५ प्रतिशतले हुने अनुमान गरिएको थियो । तर, अहिले २.७ प्रतिशतले पुग्ने आंकलन गरिएको छ । त्यस्तै बेरोजगारी दर पनि ४.१ प्रतिशत मात्रै छ । जुन सन् २००० यताकै न्यून हो । देशको अर्थतन्त्र बलियो बनेसँगै अमेरिकी मुद्राको भाउ पनि बढेको छ ।

अमेरिकी मुद्राको भाउ बढ्नुको अर्को कारण हो, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य ।

अहिले कच्चा तेलको भाउ बढेको छ र यसको सीधा असर भने भारतीय अर्थतन्त्रमा परेको छ । किनकी भारत तेल आयात गर्ने राष्ट्र हो । उसले आयातित तेलको भुक्तान डलरमा गर्ने गर्छ ।

डलरको भाउ बढेका कारण भारतमा आयातित वस्तुको बिल बढिरहेको छ । भारतले तेलसँगै अन्य आयातित बस्तुको भुक्तान डलरमा गर्ने गर्छ । अहिले भारतको शोधानान्तर स्थिति त्यति राम्रो छैन, जसका कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटिरहेको छ ।

कच्चा तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग झनै बढेको हो । यसले पनि डलरको मूल्य बढाउन सहयोग पुर्‍याएको राष्ट्र बैंक बताउँछ ।

के घाटा-नाफा नेपाललाई ?

डलरको भाउ बढ्दा नेपालमा पनि आयातित सामानको मूल्य बढ्छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुन्छ । डलरको मूल्य बढ्दा अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन्छ । विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमा तिर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्रलाई घाटा हुन्छ ।

नेपालको दुई तिहाई व्यापार भारतसँग छ । भारत र नेपालबीच स्थिर विनिमय दर भएकाले डलर बढ्दा पनि ठूलो असर नपर्ने विज्ञहरुले भनाइ छ ।

डलरको मूल्य बढ्दा घाटाहरु धेरै भएपनि बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी पर्यटन, हस्तकला तथा गार्मेन्ट उद्योगलाई पनि यसले फाइदा पुर्‍याउने छ ।

तर, डलरको भाउ बढ्दा नेपाललाई नकारात्मक असर मात्रै होइन, सकारात्मक प्रभाव पनि पार्छ ।

अझै बढ्ला ? 

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् । विश्व बजारमा अधिकांश ठाउँमा डलरबाटै कारोबार हुनेगर्छ । जसका कारण यसको माग झनै बढ्ने स्थिति छ । माग कम बढ्नु भनेको पनि मूल्य स्थिर नहुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment