Comments Add Comment

बैंकमा ऋण नतिर्नेको संख्या बढ्दै, १२ सय ऋणीको नाम कालोसूचीमा


२५ असार, काठमाडाैं । बैंक एवं वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरुको संख्या पछिल्लो समय अधिक बढेको छ । ऋण लिएर नतिरेका कारण चालु आर्थिक वर्षको असार २४ गतेसम्म मात्रै १ हजार २ सय ७८ जना ऋणीहरु कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् ।

अघिल्लो वर्ष केन्द्रले ६ सय ९५ जनालाई कालोसूचीमा राखेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बरको हाराहारीले ऋण नतिर्नेको संख्या बढेको हो । हालसम्म ६ हजार ४ सय २९ जनालाई कालोसूचीमा राखिएको कर्जा सूचना केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना सूचना केन्द्रले ६९ जनालाई कलोसूचीमा राखेको थियो । त्यसपछि भदौमा ९२ जना र असोजमा १ सय ८ जनालाई कालोसूचीमा राखेको केन्द्रले जनाएको छ ।

कात्तिक महिनामा १ सय ४ जनालाई कालोसूचीमा राखेको केन्द्रले मंसिरमा भने ९२ जनालाई मात्रै कालोसूचीमा राखेको थियो ।

यसैगरी पुस महिनामा आइपुग्दा १ सय १ जनालाई र माघमा ९२ जनालाई केन्द्रले कालोसूचीमा थप गरेको छ । फागुनमा १ सय १० जना र चैत्रमा १ सय ४२ जना विभिन्न कम्पनी र तिनका मालिकहरु कालोसूचीमा परेका छन् ।

२०७५ सालको पहिलो महिना वैसाखमा ९३ जना कालोसूचीमा परेकोमा चालु आबको जेठ महिनामा केन्द्रले १ सय ४२ जनाको नाम कालोसूचीमा राखेको छ ।

चालु आर्थिक वर्षको असार महिना नै यस वर्षको धेरै कालोसूचीमा पर्ने महिना हुने सम्भावना देखिएको छ । असार महिनाको १ गतेदेखि २४ गतेसम्म मात्रै १ सय ३४ जनालाई सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।


बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा निर्धारित समय साथै अतिरिक्त समयमा समेत भुक्तानी नगरेपछि कालोसूचीमा राख्ने गरिन्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण कर्जा समयमा भुक्तानी हुन नसकेको जानकाररु बताउँछन् ।

विशेष गरेर शेयर बजार तथा घरजग्गामा गरेको लगानी डुबेर कर्जा तिर्न नसके पछि कालोसूचीमा नाम समावेश भएको बताइन्छ ।
केन्द्रको कालो सूचीमा ठूलाठूला व्यापारिक घरानाका व्यक्तिहरु र तिनीहरुका कम्पनीसमेत पर्ने गरेका छन् ।

असार महिनामा केन्द्रको कालोसूचीमा एयर एशिया प्रालिको जनरल सेल्स एजेन्ट (जीएसए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका अध्यक्ष हरिमान लामा समेत परेका छन् । इन्सेन्टिभ ट्राभल्स एन्ड टूर्सका हरिमान सहित गणेशमान लामा र किरण खड्कासमेत कालोसूचीमा परेका छन् ।

यसअघि लामालाई केन्द्रले कर्जा सूचना केन्द्र कालोसूची नम्बर १०१०५ मा मंसिर ३ गते कालोसूचीमा राखेको थियो ।

समूहका अध्यक्ष लामासहित त्यसबेला गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामासमेत परेका थिए । यसबीचमा कालोसूचीबाट हटेका लामा असार १५ गते पुनः कालोसूचीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment