Comments Add Comment

डिब्बा भाडामा ल्याएर जनकपुर-जयनगर रेल चलाइने

२७ असार, काठमाडौं । आगामी डिसेम्बरदेखि जनकपुर-जयनगर रेलमार्ग सञ्चालनमा आउने भएको छ । त्यसका लागि रेलको डिब्बा भने भाडामा ल्याउने सहमति भएको छ ।

मंगलबार सम्पन्न भारत र नेपालका अधिकारीहरुको बैठकमा भारतले डिब्बा भाडामा उपलब्ध गराउने र जनशक्ति पनि दिने सहमति भएको छ । नेपालमा रेलको डिब्बा पनि नभएको र रेल चलाउन जनशक्ति पनि नभएका कारण भाडामा ल्याउनु परेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतीय पक्षले डिब्बा र जनशक्ति उपलब्ध गराए पनि सञ्चालनमा सम्पूर्ण अधिकार नेपालको हुने उनले बताए । भारतले भाडामा उपलब्ध गराउने रेलको रङ नेपालले चाहे अनुसारकै हुने र रेलमा नेपालकै झण्डा समेत राखिने छ ।

रेल विभागका अनुसार निश्चित समयपछि नेपाल आफैंले डिब्बा किन्ने तयारी छ । ‘तत्कालै किनेर ल्याउदा हामीसँग अनुभव नभएका कारण केहि समस्या हुनसक्छ । जनशक्ति पनि छैन’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसैले अहिले भाडामा ल्याउने हो, हामीसँग जनशक्ति र अनुभव भए पछि आफ्नै रेल गुडाउछौं ।’

भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ ।

जनकपुर-जयनगर रेलमार्गमा लिक विछ्याइसकिएको छ । भाडामा ल्याउने रेल केही महिनाभित्रै नेपाल आइपुग्ने र डिसेम्बरदेखि सञ्चालन शुभारम्भ गरिने विभागले जनाएको छ ।

रेलमार्ग सञ्चालनका क्रममा केही कानुनी जतिलता समेत देखिनसक्ने भन्दै बैठकमा त्यस्ता समस्या आपसी छलफलबाट सुल्झाएर अघि बढ्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment