Comments Add Comment

सहकारी लुटेरा ‘पावरफुल’ पर्‍यो हजुर !

७ वर्षपछि लुटेरा पक्रन माग गर्दै सेयर सदस्य प्रशासनको शरणमा

१२ चैत, पोखरा । ०६९ वैशाख २६ गते राति साविक पुरुञ्चौरको जनसेवा बचत तथा ऋण सहकारी संस्थामा चोरी भयो । मध्यरातमा चोरी भएको कुरा भोलिपल्ट बिहान कार्यालय समयमा मात्रै थाहा भयो । बचत गर्न र ऋण लिन साविक पुरञ्चौर गाविसवासीलाई समेट्ने लक्ष्यसहित खुलेको जनसेवा सहकारी लुटिएको खबरले गाउँबासीलाई झस्कायो ।

सहकारी फोरेर ६ लाख १९ हजार ४ सय ५० रुपैयाँ लुटिएको जानकारी तत्कालीन प्रवन्धकले गराए । ठूलो रकम सहकारीमा जम्मा नभएकाले धन्न धेरै चोरिएन । स्थानीयले दुःखजिलो गरेर ५० देखि १० हजार रुपैयाँसम्म जम्मा गरेका थिए । चोरी भएको थाहा पाउनासाथ स्थानीय सहकारीमा भीड जम्मा भयो । लुटेरा पत्ता लगाउन स्थानीयले दबाव दिए । लुटिएको जानकारी पाएको केही समयपछि प्रहरी पुग्यो ।

सञ्चालक समितिको रोहबरमा प्रहरी अनुसन्धानले छिट्टै लुटेरा पत्ता लगाउने विश्वास स्थानीयको थियो । तर, ६ वर्षसम्म पनि लुटेरा प्रक्राउ नपरेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका सेयर सदस्यहरुले भने, ‘लुटेरा पावरफूल परेछ । न पक्राउ पर्छ, न उसलाई पक्राउ गर्न सञ्चालक समितिले एक्सन नै लिन्छ । प्रशासनले एक्सन लिइदिनुपर्‍यो हजुर ।’

आश्चर्यजनक हिसाबले सहकारी चोरी भएको र लुटेरा पक्राउ नपर्नुका पर्दा पछाडि शंका उब्जिएको स्थानीय जयराम गौतमको भनाइ छ । ‘प्रहरी घटनास्थल पुग्नुअघि नै केही व्यक्तिबाट प्रमाण नष्ट गर्ने काम भएको थियो । त्यसयता लुटेरा पत्ता लगाउन न सञ्चालक समितिले एक्सन लियो, न प्रहरीले गहिरो अनुसन्धान नै थाल्यो ।’

‘आजसम्म पनि लुटेरा किन पत्ता लागेन ? यसले शंका उब्जाएको छ,’ अर्का सेयर सदस्य पुष्पराज पौडेलले भने ।

स्थानीयले लुटेरा पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन पटकपटक दबाव दिएको सेयर सदस्य टेकनाथ गौतमले बताए । ‘प्रहरीले घटनास्थलको मुचुल्का नउठाउँदै भीडबाट केही व्यक्ति सहकारीभित्र छिरेका थिए । लुटेरा समात्न एक्सन लिन सञ्चालक समितिलाई दबाव दिँदा उल्टै पत्र पठाएर जवाफ माग्ने काम भयो,’ गौतमले भने, ‘हेर्दा रकम सानो होला, तर स्थानीयको श्रममात्रै जोडिएको छैन ।’

घटनाको छानबिन गर्न निर्मल गौतमको संयोजकत्वमा समिति गठन गरिएको थियो । तर, समितिले पनि असहयोगका कारण गहिरो अनुसन्धान गर्न नपाएको र अहिले आएर त्यो समितिको म्याद सकिएको भन्ने गरेको गौतम बताउँछन् ।

सोमबार सञ्चालक समिति र सेयर सदस्यहरुले कास्कीका सिडिओ चक्रबहादुर बुढालाई भेटेर घटनाबारे जानकारी गराएका छन् । किटानी जाहेरी नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको प्रहरी बताउँछ । कसैमाथि शंका भए किटानी जाहेरी दिन सिडिओ बुढाले आग्रह गरे ।

अब लुटेरा नै नसमातिने र घटना नै बिर्सने हो कि भन्ने सेयर सदस्यहरुको भनाइ छ । सहकारी लुटिएको हो कि सुनियोजित रुपमा लुटाइएको हो भन्ने उनीहरुको शंका छ । सात वर्षपछि लुटेरा खोजिदिन माग गर्दै जिल्ला प्रशासन धाउनु पर्ने अवस्था आउनु दुःखद रहेको सेयर सदस्यहरु बताउँछन् ।

सहकारी चोरी भएकोप्रति शंका नगरी पक्राउ गर्न सहयोग गर्न सञ्चालक समितिले आग्रह गरेको छ । अहिले पोखरा–१७ मा पर्ने यो सहकारीमा झन्डै १ हजार ८ सय सेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment