Comments Add Comment

लेनदेनमा मिल्छ अस्पतालमा मृत्युको घटना : न उजुरी, न कारबाही

फाइल तस्वीर

२८ असार, विराटनगर । गएको हप्ता प्रसुति गराउन भर्ना भएकी बिरामीको मृत्यु भएपछि विराटनगरस्थित नोवेल मेडिकल कजेजले मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गर्‍यो ।

सुनसरीको गढी गाउँपालिका-६ कि चाँदनी मेहता शनिबार बिहान सकुशल बच्चा जन्माएकी मेहताको त्यही दिन दिउँसो मृत्यु भएको थियोे ।

डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै पीडित पक्षले अस्पतालमा प्रदर्शन गरे र अस्पताल क्षतिपूर्ति दिन तयार भयो ।

गएको चैत १७ मा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै विराटनगरस्थित न्यूरो अस्पतालमा मृतकका आफन्तले तनाव सिर्जना गरे ।

ब्रेन ट्युमरको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी धरान निवासी लिना मल्लको मृत्यु भएको थियो । अस्पतालले बिरामीको उपचारका क्रममा अहिलेसम्म उठेको बिल मिनाहा गर्दै केही रकम क्षतिपुर्ती दिएर विवादलाई सामसुम बनायो ।

यी दुई घटनाले देखाउँछन्, पछिल्ला समय विराटनगरमा बिरामीको आकस्मिक मृत्यु भएको अवस्थामा मृतकका आफन्तले अस्पतालमा तनाव सिर्जना गर्ने र अस्पतालले क्षतिपूर्ति तिर्ने क्रम बढ्दै गएको छ ।

यसमा चिकित्सकको लापरवाही हो कि होइन भनेर अहिलेसम्म खोजी गरिएको छैन । पीडित परिवारमात्र होइन, अस्पताल प्रशासनले पनि लापरवाही हो वा होइन भनेर खोजी गर्नुभन्दा क्षतिपूर्ति दिएर घटनालाई सामसुम पारेको पाइन्छ ।

उपचारको क्रममा लापरवाही नै भएको रहेछ भने पनि दोषीमाथि कारबाही नगरी उन्मुक्ति दिने गरिएको छ ।

आधिकारिक अभिलेख नराखिने हुँदा पीडित पक्षलाई मृतकका नाममा पैसा लिएको आरोप पनि नलाग्ने, अस्पतालले पनि लामो समयसम्म कानूनी झमेलामा लागिरहनुनपर्ने, अनि डाक्टर र अस्पतालको बदनामी पनि नहुने हुँदा लास मोलतोलको यो अपारदर्शी धन्दा बढिरहेको छ ।
नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष डा‍. फरवर्ड सिलवालले उपचारका क्रममा विरामीको मृत्यु हुनासाथ अस्पतालले क्षतिपूर्ति दिने प्रवृत्ति बढ्नु घातक भएको बताए ।

‘चिकित्सकको गल्ती हो कि होइन पोस्टमार्टमबाट थाहा हुन्थ्यो । छानबिन गर्न स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र अरु थुप्रै निकाय छन्,’ डा सिलवालले भने, ‘पीडित पक्षले विरोध जनाएकै भरमा क्षतिपूर्ति दिनु अस्वाभाविक मान्न सकिन्छ ।’

अस्पतालले हतारहतार पैसा दिने हुनाले यस्ता घटना कानूनी निश्कर्षमा नपुग्ने उनी बताउँछन ।

सिलवाल भन्छन्, ‘हामीले अस्पतालमा मृत्यु भएकाको विषयमा प्रश्न उठे तत्काल कानूनी प्रक्रियामा जानुस्, पैसामा नमिलाउनुस् भन्दै आएका छौं । तर, अस्पतालहरू आत्तिएर हतारहतार सम्झौता गर्छन् । यसले अस्पताल मात्र होइन, चिकित्सा पेशाप्रति नै अविश्वास पैदा गरेको छ ।’

उजुरी न्युन

पछिल्लो पाँच वर्षमा विराटनगरमा चिकित्सकीय त्रुटि भएका भनिएका धेरै घटना सार्वजनिक भए । गुपचप मिलाइने हुनाले धेरै घटना बाहिर आउँदैनन् । जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्ति भराई पाउँ भनी ७ वटामात्र उजुरी दर्ता भएको छ । उजुरी परे पनि पीडित पक्ष पुन सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी एवं क्षतिपूर्ति समितिका संयोजक रामप्रसाद आर्चायले बताए ।

‘पीडित पक्ष सम्पर्कमा नआएकाले ती केस कानूनी प्रक्रियामा समेल गराउन सकिएको छैन’ उनले भने ।

उनले यसको अर्थ ती पनि लेनदेनमै मिलेको हुनसक्ने बताए । अस्पताल वा चिकित्सकले गल्ती गरेको छ भने पीडित पक्षले क्षतिपूर्तिभन्दा पहिले दण्ड सजायमा जोड गर्नुपर्ने प्रजिअ अर्चायको भनाइ छ ।

पैसा दिनेमा निजी अस्पताल अगाडि

विरामीको मृत्युलाई लिएर विवाद भएको विभिन्न घटनाको अध्ययन गर्दा सरकारी भन्दा निजी अस्पतालहरु क्षतिपूर्ति दिन छिट्टै तयार हुने गरेको पाइएको छ ।

विराटनगरको नोबेल अस्पताल, विराट हस्पिटल, न्युरो अस्पताल, सुरक्षा अस्पताल, गोल्डेन अस्पताल लगायतका अधिकाश अस्पतालहरु धेरै जस्तो यस्तो विवादमा तानिने गरेका छन् । यी अस्पतालहरुले बिरामीको मृत्युलाई लिएर विवाद भएको खण्डमा तत्काल क्षतिपूर्ति दिन राजी हुने गरेका छन् ।

उनीहरुले विरामीको औषधी उपचारमा लागेको खर्च मिनाहदेखि ५ लाखसम्म्ा क्षतिपुर्ति भरण गरेको पाइन्छ ।

नोवेल मेडिकल कलेजका निर्देशक डा. सुनील शर्माले अस्पतालको अन्य सेवा प्रभावित हुनेे डरले यस्ता मामला छिटै टुंग्याउनु बाध्यता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment